सीमापारि दु:ख भोग्दै महिला

सीमापारि दु:ख भोग्दै महिला

काठमाडौं : विवाहपछि लगातार दुई छोरी जन्मिए।श्रीमान् र परिवारले छोरा खोजेका थिए। छोरी जन्माएको भन्दै ३० वर्ष पनि नकटेकी युवती घरबाटै बहिष्कृत भइन्। माइती पक्ष गरिब थिए। धन कमाउनकै लागि जुनुमाया कलिला छोरी माइतीमा छाडेर बिदेसिइन्। कुबेतमा गएर केही पैसा पनि कमाइन्। तर, पछि श्रीमान्ले उनलाई विदेशमा पीडित बनाए। उनी यौन दुव्र्यवहारको सिकार बनिन्।

रोजगारीका नाममा कुबेत जाने अर्की महिलाको कथा पनि कारुणिक छ। उनी त्यहाँ ८ वर्षसम्म काम गर्दा पनि उनले पैसा बुझ्न पाइनन्। काम लगाउने तर खान नदिने भएपछि उनी बिरामी परेर अचेत अवस्थामा पुगेकी थिइन्। ह्विल चियरमा नेपाल फर्किएकी उनी १० दिनपछि मात्र बोल्न सकिन्। पछि उनको अवस्था बुझ्दा खानाको कमीले गर्दा उनले बोल्न सक्ने अवस्था गुमाएको देखियो।

बिदेसिने ५० प्रतिशत महिला पूर्ण अशिक्षित भएको एक अध्ययनले देखाउँछ भने ३० प्रतिशत अक्षर चिन्नेसम्मका छन्। हाल रोजगारीको नाममा दुबई जाने महिला १२ कक्षासम्म पढेका बढी भेटिन्छन्। अधिकांश खाडी मुलुक जाने महिला शारीरिक र मानसिक पीडामा छन्।

रोजगारको नाममा नेपाली महिला सीमापारि बेचिन बाध्य हुनुपरेको छ। महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले गरेको अध्ययनले गरिबीका कारण महिला बेचिन बाध्य भएको देखाएको छ।

०७२ सालमा प्रकाशित समाचारका आधारमा नेपालभित्र र बाहिर मानव बेचविखन तथा ओसारपसारमा महिला बेचिएका छन्। पछिल्ला वर्ष मानव बेचविखनमा वैदेशिक रोजगारीको हिस्सा पनि बढ्दै गएको छ। ०७२ मा प्रकाशित २ सय ८४ समाचारको विश्लेषणमा सीमापारि बेचविखन तथा ओसारपसारका घटना १ सय ६८ छन्। नेपालभित्रै बेचविखनका घटना ३८ वटा थिए भने वैदेशिक रोजगारीका नाममा ७८ वटा समाचार प्रकाशन भएका थिए।

तथ्यांकअनुसार वर्षभरि १ सय १ घटना एजेन्ट, म्यानपावर कन्सल्टेन्सीबाट भएका छन्। मानव बेचविखनमा पर्नुको मुख्य कारण गरिबी, बेरोजगारी र प्राकृतिक विपद रहेका छन्। यौन शोषण, श्रम शोषण र मानव अंग बेचविखनका लागि मानव तस्करी भएको तथ्यांकले देखाउँछ। ०७३ को अर्को तथ्यांकअनुसार सबैभन्दा बढी पीडित सिन्धुपाल्चोक जिल्लाका भेटिन्छन्। त्यसपछि बर्दिया, गोरखा र नवलपरासी पर्छन्।

एटविनले ०६९ देखि ०७३ सम्म प्रकाशित समाचारलाई आधार मानेर विश्लेषण गरेको आधारमा ०७२ मा सबैभन्दा बढी मानव बेचविखन तथा ओसारपसारका विषय समेटिएको छ। प्रकाशित समाचारमा जनजाति तथा दलित समुदायका व्यक्ति पीडित छन्। पीडित हुनेमा दलित पछि ब्राह्मण क्षेत्रीको संख्यासमेत उल्लेख्य बढेको तथ्यांकले देखाउँछ।

मानव अंग बेचविखन बढेकाले महिला मात्र नभएर पुरुषको ओसारपसार तथा बेचविखन पनि बढेको छ। २३ देखि २९ वर्ष उमेर समूहका पीडित बढी रहेको पनि तथ्यांकले देखाउँछ।

पीडित महिलालाई उद्धार गर्दा अधिकांशको मानसिक अवस्था ठीक नहुने गरेको आप्रवासी महिला कामदार समूह (आम्कस) नेपालकी कार्यकारी अध्यक्ष विजया श्रेष्ठ बताउँछिन्। ‘कतिपयले पीडाका कारण मानसिक सन्तुलन गुमाइसकेका हुन्छन्। कतिपय गर्भवती हुन्छन्,’ श्रेष्ठले भनिन्। उद्धार गरिएका महिला आफू बेचिएको घटना सुनाउन असमर्थ हुने, घर फर्कन नसक्ने अवस्थामा हुने गरेको श्रेष्ठ बताउँछिन्। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा यौन शोषणदेखि श्रम प्रवासन, कृत्रिम शरणार्थी, भीख मगाउन, अंग झिक्न, अस्वाभाविक विवाहका नाममा समेत मानव बेचविखन तथा ओसारपसार र तस्करी हुने गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.