प्रधानमन्‍त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

प्रधानमन्‍त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं : एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गर्नेबारे मेडिकल टिमले तयारी थालेको छ।

उपचार टिमका संयोजक प्रा.डा. अरुण सायमीले  प्रधानमन्‍त्री ओलीलाई बिहीबार बेलुका वा शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको अन्‍नपूर्ण पोस्टसँग बताए। उनले भने, डिस्चार्ज गर्नेबारे छलफल भइरहेको छ। उहाँको अवस्था हेरेर बेलुका वा भोलि बिहानसम्म डिस्चार्ज गर्न सकिन्छ।'

बालुवाटार गएपछि प्रधानमन्‍त्री तत्काल नियमित काममा फर्किन अवस्था छैन। बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने भएको छ। त्यसका लागि मेडिकल टिमले आवश्यक तयारी थालेको छ। त्यसका लागि बालुवाटारभित्रै 'आइसियू' स्तरको मेडिकल सेटिङ बनाउनेबारेमा पनि छलफल चलेको छ। 

मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको सायमी बताउँछन्। उनका अनुसार संक्रमणको खतरा हटाउनका लागि प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल भइरहेको छ। खासगरी  शल्यक्रियाको घाउ निको नभएको र पेटको संक्रमणको खतरा कायमै रहेकोले उनलाई सघनकक्षमा राखिएको हो। 

मंसिर १६ गते ओलीले अस्पतालबाटै भिडियो सन्देश दिदै आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका थिए। मेजर अप्रेशन गर्नुपरेकोले केही समय लागेको उनले बताएका थिए। पेट दु:खेपछि मंसिर १० गते बिहान अस्पताल भर्ना भएको ओलीको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि त्यही दिन त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रिया भएको थियो। एपेन्डिसाइटिस फुटेर संक्रमण भएपछि उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो। 

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि  मंसिर ११ गते पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

चिकित्सकअनुसार प्रधानमन्‍त्री सामान्य उठबस तथा लेखपढ गर्न थालेका छन्। परिवार र आफन्तको सहयोगमा झोलिलो खानेकुरा खाइरहेका छन्। बालुवाटार फर्किँदा धपेडी हुने र बाहिरी बातावरणले संक्रमणको खतरा हुने भएकोले पनि अस्पतालमै राख्‍नुपरेको चिकित्सक बताउँछन्। संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा  बाहिरी भेटघाट तत्कालका लागि रोकिएको छ।
 
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्। 

अचानक असहज महसुस गरेपछि ग्रान्डीमा भर्ना गरिएका ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो ।चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुन: मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिदै आएका छन्। 

१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ। 

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली  थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा  नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.