देउवा भेट्न दाहाल बूढानीलकण्ठमा
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गरे, ‘म तपाईं कहाँ (बूढानीलकण्ठ निवास) भोलि बिहान चिया खान आउन खोजेको छु ।’ देउवाले पनि दाहाललाई निवासमा सहजै स्वागत गर्दै भने, ‘आउनुहोस् ! सँगै बसेर चिया पिउँला। बिहान म अन्य कार्यक्रम नबनाउँला ।’
बुधबार साँझको संवादपछि टेलिफोन राखेका दाहाल बिहीबार बिहान देउवा निवास बूढानीलकण्ठ पुगे। सुदूरपश्चिम प्रदेश सरकारको ‘वित्त सम्मेलन’ का लागि सहभागी हुन धनगढी जान हतारिएका दाहाल एयरपोर्ट पुग्नुअगाडि सीधै पुगेका थिए, देउवा निवास। बिहान सवा नौ बजेतिर बूढानीकलण्ठ पुगेका दाहाल र देउवाबीच झन्डै आधा घण्टा छलफल भयो। छलफलमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए ।
१२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा ‘एक्ला एक्लै’ गोप्य भेटवार्ता भएको थियो। त्यसयता यी दुई नेताबीचमा यसरी छुट्टै भेटघाट भएको थिएन। सार्वजनिक कार्यक्रम र प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाइएको बैठकमा मात्र देउवा र दाहालबीच सामूहिक भेटवार्ता भएका थिए। त्यसबेला दाहाल–देउवाको भेट संक्रमणकालीन न्यायासम्बन्धी मुद्दा निरूपणका सवालमा केन्द्रित थियो। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन कसरी गर्ने, नेतृत्व कसले लिने र कसलाई ल्याउनेसम्मका विषयमा केन्द्रित रहेर दुई नेताबीच समझदारी निर्माणको प्रयासका लागि छलफल भएको थियो ।
तर बिहीबार बिहानको भेट भने सत्ता र प्रतिपक्षका मुख्य नेताबीचको सामान्य शिष्टाचार निर्माण (सम्बन्ध सुदृढीकरण) का लागि मात्र भएको भेटमा सहभागी कांग्रेस नेता लेखकले बताए ।
‘नेकपाले प्रचण्डजीलाई पार्टी हेर्ने गरी कार्यकारी जिम्मा दिएपछि प्रचण्डजीले सत्ता–प्रतिपक्ष बीचको शिष्टाचार निर्माणका लागि भेट गर्न चाहानुभएको देखियो। मुख्यतः यो कर्डसी भेटघाट हो भन्दा हुन्छ’, लेखकले अन्नपूर्णसँग भने ।
‘पार्टीको काम हेर्ने गरी कार्यकारी अधिकार पार्टीले दिएपछि तपाईं (देउवा) सँग भेटघाट गरौं, राष्ट्रिय मुद्दामा सहकार्य ग¥यौं। छलफल÷भेटघाटलाई बाक्लो बनाऊँ भन्ने उद्देश्यले छलफलका लागि म तपाईं कहाँ आएको हुँ’, दाहालले देउवासँगको भेटमा कुराकानी सुरुआत गर्दै भनेका थिए ।
देउवाले पनि दाहाललाई पार्टीको कार्यकारी जिम्मा पाएकोमा बधाई दिएका थिए। लेखकले दुई नेताबीचको छलफलबारे जानकारी दिँदै भने, ‘हाम्रा सभापति देउवाजीले उहाँलाई कार्यकारी अध्यक्ष हुनुभएकोमा बधाई छ भन्नुभयो। दाहालले धनगढी जाँदै छु भन्नुभयो। सभापतिजीले यात्रा सफलताका लागि शुभकामना दिनुभयो ।’
सभापति देउवा सभापति देउवा मंसिर ११ मा प्रधानमन्त्री केपी ओलीलाई भेट्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए। तर देउवाले प्रधानमन्त्रीलाई भेट्न पाएनन्। ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सभापतिले प्रचण्डजीसँग भेटमा सोध्नुभयो। उहाँले स्वास्थ्यमा तीव्रतर सुधार भएको जानकारी गराउनुभयो’, लेखकले भने ।
नेकपा सचिवालयले मंसिर ४ मा पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओलीलाई सरकार र दाहाललाई पार्टी काम हेर्ने गरी कार्यकारी अधिकारको जिम्मा दिने गरी कार्य विभाजन बाँडफाँट गरेको थियो। त्यसपछि दाहालले पार्टी शीर्ष नेतादेखि प्रतिपक्षी दलका नेतासम्मको भेटघाट तीव्र बनाएका हुन्। त्यही क्रममा उनी कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।