जंगली बँदेल कोकिनले लट्ठ

जंगली बँदेल कोकिनले लट्ठ

इटालीको टस्कानी क्षेत्रमा रहेको जंगलमा बँदेलहरू कोकिन सुँघेर लट्ठ पर्न थालेका छन्। लागुऔषधको कारोबार गर्ने गिरोहहरूले जंगलमा कोकिन लुकाएका थिए। बँदेलले खाना खोज्ने क्रममा खन्दै जाँदा थुप्रै घैँटामा राखेर गाडिएको कोकिन फेला पारे। यी जंगली जनावरले २५ लाख रुपैयाँभन्दा बढी मूल्यका कोकिन नष्ट गरिदिएका छन्। लागुऔषध कारोबारीहरूको मोटो रकम बँदेलले स्वाहा बनाइदिएका छन्। 

कोकिन सुँघेर थुप्रै बँदेल लट्ठ भएको पनि बताइएको छ। भाल्दिसियाना नामक उपत्यकामा बँदेलले कोकिन पत्ता लगाएपछि प्रहरीले लागुऔषध गिरोहका सदस्यलाई समात्न सफल भएको छ। प्रहरीले उनीहरूको फोन ट्र्याक गरिरहेको थियो। गिरोहका सदस्य बँदेलले कोकिन बर्बाद गरिदिएको कुरा आफ्ना साथीहरूलाई बताइरहेका थिए। 

जंगलमा कोकिन लुकाउने गिरोहका चार सदस्य थिए। उनीहरूले घैँटोमा कोकिन भरेर लुकाएका थिए। उनीहरूले हरेक महिना अरेजो र सिएना शहरमा जंगलमा लुकाइएको कोकिन बेच्ने गरेका थिए। प्रत्येक महिना दुई किलोभन्दा बढी कोकिन बेच्ने गर्थे। तर, बँदेलको थुतुनोका कारण उनीहरूको कारोबार चौपट भएको गिरोहका सदस्यले एकापसमा गुनासो गरेका थिए। 

प्रहरीले फोन ट्याप गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ भने दुई जनालाई घरमै नजरबन्द गरिएको छ।

खराब काम गर्ने यो गिरोहलाई बँदेलले ठेगान लगाएकोमा इटालीका केही नागरिकले खुशी व्यक्त गरेका छन्। तर, केहीले भने यो घटनापछि बँदेलको अतिक्रमणले किसानलाई हानि पुर्‍याएको तथ्य बिर्सन नमिल्नेमा जोड दिएका छन्। 

जंगली बँदेलका कारण किसानहरू मारमा परेका छन्। अन्नबाली नष्ट गरिदिने मात्र होइन, बँदेलले सडक दुर्घटना पनि बढाएका छन्। किसान संगठनका अध्यक्ष कोल्दिरेती इतोर प्रान्दिनीका अनुसार इटालीमा २० लाखभन्दा बढी जंगली बँदेल छन्। उनले सरकारले सामान्य क्षतिपूर्ति दिएर बँदेलको समस्या पन्छाउन खोजेको बताएका छन्। ‘यो क्षतिपूर्तिको मात्रै कुरा होइन,’ उनले स्थानीय मिडियासँग भने, ‘जंगली बँदेलका कारण हाम्रो व्यक्तिगत सुरक्षा पनि जोखिममा परेको छ।’ उनले बँदेलको समस्या चाँडै हल नगरे किसानहरूले झन् भयावह परिणाम भोग्नुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.