नक्कली राष्ट्रबाद अब टिक्दैन : प्रकाशमान सिंह
कांग्रेसभित्र तपाईंहरू आफूलाई दोस्रो पुस्ताको नेता भन्नुहुन्छ ? प्रस्तुति हेर्दा त्यस्तो देखिन्न नि ?
हामी लोकतान्त्रिक पद्धतिमा चल्ने पार्टीका कार्यकर्ता हौं। समयसँगै जिम्मेवार भूमिकामा काम गरिरहेका छौं। पार्टीको नीति र निर्देशनभन्दा बाहिर जाँदैनौं। पार्टीलाई बलियो बनाउनुपर्ने अहिलेको आवश्यकता छ। तदअनुरूप पार्टी विधिसम्मत ढंगबाट चल्नुपर्छ भन्नेमध्येमा म पनि एक हुँ। पार्टीको केन्द्रीय स्तरको बैठकमा होस् या व्यक्तिगत रूपमा नेताहरूसँग भेटघाटमा म पार्टीको बलियो भूमिकाको पक्षमा वकालत गरिरहेको हुन्छु।
त्यसोभए तपाईंहरूको सुझावले काम नगरेको हो त ? नत्र प्रजातान्त्रिक पार्टीको महाधिवेशन समयमै गर्ने तालिका सार्वजनिक हुन्थ्यो होला नि ?
महाधिवेशनको मिति नजिकिँदै छ भन्नेबारे तपाई पनि जानकार हुनुहुन्छ। त्यसबारे नेतृत्वले चासो नदेखाएको जस्तो देखिन्छ। नेतृत्वले गरेका गल्तीमा पनि म सशक्त ढंगले बोल्ने मान्छे हुँ। यसर्थ अब पार्टीलाई सानातिना कुरामा अल्झाएर होइन, समृद्ध नेपालको नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस नै हो भन्ने सन्देश हामीले दिनुपर्ने छ। हामी त्यसका लागि निरन्तर खबरदारी गर्ने छौं। पार्टीभित्र तदर्थवाद चल्दैन। पार्टीको आगामी महाधिवेशनले दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्वमा ल्याउने छ भन्नेमा म पूर्ण विश्वस्त छु। हिजोका नेताहरू पनि विधिसम्मत तरिकाबाट नेतृत्वमा आउनु भएको हो। अबको पुस्ता पनि सोही प्रकृयाबाट नेतृत्वमा आउँछ।
कांग्रेसले पुराना उपलब्धिमा मात्रै गर्व गर्ने कि वर्तमानमा काम पनि गर्ने ?
जनताकै आदेशअनुरूप हामी अहिले प्रतिपक्षमा छौं। पुराना कुरा त्यसले गर्छ जसले विगतमा केही उपलब्धिमूलक काम गरेको होस्। हाम्रा नेताहरू बीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताहरूले जसरी यो मुलुकलाई नेतृत्व गर्दै यहाँसम्म ल्याउनुभयो त्यो दायित्व हाम्रो काँधमा आएको छ। मुलुकलाई समयसुहाउँदो र विकसित बनाउनुपर्ने छ। कांग्रेसले राणा, पञ्चायत र राजा फालेर मुलुकलाई लोकतान्त्रिक मूल्य र मान्यतासहितको गणतन्त्रमा ल्याउन नेतृत्व लिएको छ। अब पार्टीले समयको मागबमोजिम समृद्ध नेपाल बनाउन नेतृत्व लिनुपर्ने बेला आएको छ। हामीले हिजो धेरै राजनीतिक कोर्षहरू सम्पन्न गरेका छौं, अब मुलुक स्थायी शान्तिको अभियानमा छ। यो सबै कांग्रेसकै कारण सम्भव भएको हो। अब गणतन्त्र र संघीय व्यवस्थाको सदृढीकरण गर्न हामी अघि बढ्नुपर्ने छ। हामीले मुलुकलाई लोकतान्त्रिक व्यवस्थामा चल्ने बनाएका छौं। कांग्रेसको नेतृत्वमा मात्र मुलुक समृद्ध र विकसित हुनेछ। हामीसँग भएको स्रोत र साधनको भरपूर उपयोग गर्दै नेपाललाई विकसित बनाउनुपर्ने छ। हामीले सोहीअनुरूप काम गरिरहेका छौं। सरकारको नेतृत्वमा नरहे पनि समृद्ध नेपाल बनाउने अभियानमा साथ र सहयोग रहनेछ।
पार्टीभित्रको अन्तरिक गुट व्यवस्थापन गर्न नसकेको हो कांग्रेसले ?
अन्नपूर्ण पोस्ट्मा कांग्रेस नेतृ सुजाता कोइरालाले भनेअनुसार कांग्रेस अहिले आन्तरिक सुधारको अभियानमा छ। नेताहरूले आफ्ना गल्ती स्वीकार गर्नु भएको छ। गुट नहुने पार्टी नै हुँदैन। पार्टीभित्रको अन्तर्घात कांग्रेसको सबैभन्दा ठूलो रोग हो। त्यसलाई हामीले स्वीकार पनि गरेका छौं। कांग्रेस अन्य पार्टीका कारणले होइन आफ्नै कारणले यो अवस्थामा आइपुगेको हो। पुरानो पार्टी भएकाले पनि यहाँ हजारौं नेता तथा कार्यकर्ताले पार्टी र देशको नेतृत्व लिनसक्ने क्षमता राख्नु हुन्छ। यसले गर्दा पनि गुटउपगुट देखिएको हो। पार्टीभित्र फलानो समूह भनेर जसरी व्यख्या गरिन्थ्यो त्यो अहिले कम भएको छ। सबैले जिम्मेवारीबोध गर्नु भएको छ। हामीले पनि पार्टीलाई संस्थागत रूपमा बलियो बनाउँदै समयको मागबमोजिम हिँड्नुपर्ने महसुस गरेका छौं।
नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प छैन भन्ने सुनिन्छ नि ?
कांग्रेस लोकतान्त्रिक व्यवस्था मुलुकमा स्थापना गर्न स्थापना भएको पार्टी हो। शेरबहादुरजी पार्टीको महाधिवेशनबाट सभापति चुनिनु भएको हो। विगतका पार्टी सभापतिहरू जसरी चुनावी प्रकृयाबाट चुनिनुभएको छ, त्यसैगरी अबको सभापति पनि त्यही विधि र प्रकृयाबाट चुनिनुहुन्छ। त्यसमा म पनि हुन सक्छु या पार्टी र देशको नेतृत्व लिन सक्ने जुनसुकै व्यक्ति पनि हुन सक्छ। चर्चा र हल्लाभन्दा पनि पार्टीका कार्यकर्ताले कसलाई सभापति चुन्छन् भन्ने हो। कांग्रेस, नेकपाजस्तो दुईचार सदस्यले ल फलानो पार्टी अध्यक्ष भयो भनेर कोठे बैठकबाट अध्यक्ष चुन्ने पार्टी होइन। हामी गाउँ, स्थानीय तहबाट विधि र प्रकृयाबाट छानिएर आएका साथीहरूले पार्टीका नेताहरू चुन्नुहुन्छ। अहिले बजारमा चल्ने हल्ला र चर्चाभन्दा पनि समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ कर्ताकर्ता लाग्नुपर्ने हुन्छ। यो वा त्यो बहानामा महाधिवेशनलाई असर गर्न ढंगबाट जानु हुन्न। अहिलेको कमजोर अवस्थाको मूल्यांकन गर्दै पार्टीलाई बलियो बनाउन समयमै महाधिवेशन र समयानुकुल नेतृत्व छान्नुको विकल्प छैन्। युवाहरू नेतृत्व तहमा आएनन्, युवाहरूको आकर्षण पार्टीमा छैन भन्ने आरोप पनि कांग्रेसले खेपेको छ। यसर्थ समयानुकुल पार्टीलाई ढाल्न हामीले सोहीअनुसारको नीति अवलम्बन गर्नुपर्छ।
तपाईं आफू कसरी प्रस्तुत हुँदै हुनुहुन्छ महाधिवेशनमा ?
म राजनीतिमा कुनै पद या प्रतिष्ठा आर्जनकै लागि भनेर लागेको व्यक्ति होइन, हामी जनताको अधिकारका लागि राजनीतिमा छौं। म जुनसुकै त्याग र तपस्या गर्न तयार छु। पार्टी नेता तथा कार्यकर्ताले मलाई जिम्मेवारी दिनुभयो भने त्यो पनि लिन तयार छु। मैले भन्न खोजेको समयको मागबमोजिम नेतृत्व लिन तयार छु। त्यसको निक्र्यौल महाधिवेशनले गर्नेछ।
कांग्रेस पुरानो भयो, नेताहरू पुरानै संस्कार र पद्धतिभन्दा अघि बढ्न सक्दैनन् भनिन्छ नि ?
अहिले मै हुँ भन्ने पार्टीहरू जन्मेकै थिएनन्, कांग्रेस बुढो पार्टी नभएर तीन वर्ष पनि नपुगेको, चार हातखुट्टाले हिँडिरहेको नेकपा बुढो हुन्छ त ? सिंगो जीवन पार्टीमा समर्पित गरेका नेताहरू हुनुहुन्छ अनि यहाँ उमेर पुगेका नेता नभएर तीनवर्षे पार्टीमा हुन्छन्, त ? हो, केही नेताहरूले अब वि श्राम लिएर पार्टीको अभिभावकिय भूमिकामा रहन जरुरी छ। त्यसको पनि विधि र प्रकृया छ। अनि युवाहरू आएकै छैनन् भन्ने पनि होइन्। म पनि त युवा हुँ, पार्टीको महामन्त्री पद हाँकेको मान्छे। अनि प्रवक्ता विश्वप्रकासजी, गगन थापालगायतका धेरै आशालाग्दा युवा पार्टीभित्र हुनुहुन्छ। हाम्रो पार्टीका विभिन्न भातृसंगठनहरूमा धेरै त्यस्ता उदाहरणीय नेताहरू हुनुहुन्छ जसले पार्टीलाई मात्रै नभई देश नै हाँक्ने हैसियत राख्नुहुन्छ। मान्छे उमेरले मात्रै नभई विचारले युवा हुने हो। अब पार्टीको महाधिवेशन नजिक आउँदैछ। त्यसबाट सबै छिनोफानो हुन्छ। कसले वि श्राम लिने, कसले नेतृत्व लिने भन्ने। कांग्रेस एउटा जिम्मेवार अभिभावक पार्टी भएकाले हामीले धेरै कुरा सोचविचार गरेर मात्रै काम गर्नुपर्ने हुन्छ। हामीलाई राम्रोसँग थाहा छ, नेतृत्व हामीले नै छानेका हौं। यसर्थ अबको महाधिवेशन नै अन्तिम बिन्दु हो, जहाँ नेता र नेतृत्व छानिन्छ।
सीमा समस्या चर्किंदै गएको छ, कांग्रेसको दृष्टिकोण के हो ?
कांग्रेस खोक्रो राष्ट्रवादको कुरै गर्दैन। हामीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वदलीय बैठकमा हामीले भनेका छौं, अगाडि बढ्नुस् हामी तपाईंको साथमा छौं। यति सहज र जिम्मेवार प्रतिपक्ष तपाईंले देख्नुभएको छ। कांग्रेस आवेगमा होइन, विवेक प्रयोग गरेरै निर्णय गर्छ। मुलुक रक्षाका लागि कांग्रेस जुनसुकै मूल्य चुकाउन पनि तयार छ। सबैको साथ र सहयोग हुँदा पनि प्रधानमन्त्री के हेरेर बस्नु भएको हो ? चुनावभन्दा अघि सबैभन्दा चर्को राष्ट्रियताको कुरा गर्ने उहाँ नै होइन ?। मैले भन्ने गरेको छु, नेपालका कम्युनिस्टको राष्ट्रवाद नक्कली हो भनेर। उनीहरूले राष्ट्रवाद चुनाव जित्ने नारा मात्रै बनाउँछन्। अहिले ओलीको राष्ट्रवाद लिम्पियाधुरामा पुगेर लम्पसार परेको छ। उहाँलाई भारतीय समकक्षीसँग कुरा गर्न केले रोक्यो ? कूटनीतिक रूपमा पहल थाल्नु पर्दैन ? खोक्रा राष्ट्रवादको नारा बन्द गरे हुन्छ।
वर्तमान सरकारप्रति कांग्रेसको धारणा ?
सरकारले अवसर पाउँदा पनि काम गर्न सकेन। हिजोसम्म हामीले ९ महिना पनि गतिलो गरी सरकार सञ्चालन गर्न पाएका थिएनौं। माओवादी द्वन्द्वले देश थलापरेको थियो। गाउँगाउँमा स्थानीय सरकार थिएनन्, राजाले मनपरी ढंगले बजेट दिन्थे। यस्ता समस्या हुँदाहुँदै पनि धेरै सोचविचारसहित राजनीतिक कोर्ष पूरा गरेर कांग्रेसले देशलाई यहाँसम्म ल्यायो। अहिलेको सरकारलाई विकास निर्माण भन्दा अर्को के कुरा सोच्नुपर्ने छ ? दुई वर्षमा धेरै कुरा गर्न सकिन्थ्यो। जिम्मेवार प्रतिपक्ष छ, बहुमत आफ्नो हातमा छ, काम गर्न केल्ले रोक्यो ?
-अमेरिका भ्रमणमा रहेका बेला कांग्रेस नेता प्रकाशमान सिंहसँग त्यहाँस्थित अन्नपूर्ण प्रतिनिधि अनिल अधिकारीले गरेको कुराकानीको सम्पादित अंश। सिंह नेपाल फर्किसकेका छन्।