म किन यस्तो भएँ हुँला !

म किन यस्तो भएँ हुँला !

म सानो छँदा आमाले पकेट खर्च दिँदै भन्नुहुन्थ्यो, ‘बाबु यसको खानेकुरा किनेर खाऊ है। किताबसिताब किनेर खेर नफाल।’ तर म कहाँ मान्थेँ र ? पेट दाप्सिन्थ्यो। गाला ख्याप्प भएर भित्र पस्थ्यो। आँखा गाडिन्थ्यो। तर पनि म भोक सहन्थेँ। खुरुरु पुग्थेँ सरोज सरको पसल। डोरीमा लुगा सुकाएजसरी तुर्लुंग झुन्डिएका हुन्थे पत्रिकाहरू। मुना, सुनकेस्रा, गरिमा, युवामञ्च, नवयुवा जेजे भेटिन्छ त्यही किन्थेँ।

साथीहरू बरफ खान्थे। चटपटे खान्थे। चाउचाउ खान्थे। तर म खान्थेँ अक्षरहरू। शब्दहरू। कथाहरू। सम्झनाका ऐनाका तस्बिरहरू लिएर हरेक पन्ध्र दिनमा ‘नवयुवा’मा झुल्किन्थे खगेन्द्र संग्रौला। मलाई उनैको भोक लाग्थ्यो। लिखे लिएर आउँथे, शरद पौडेल। मलाई त्यसैको प्यास लाग्थ्यो। मंगल ग्रहमा विज्ञानको शृंखला लिएर आउँथे, कार्तिकेय घिमिरे। मलाई त्यसैको पर्खाइ रहन्थ्यो।

मधुपर्कमा पढ्थेँ म धरावासीका कथाहरू। राजवका कथाहरू। गरिमामा पढ्थेँ म भाउपन्थी भन्ने अचम्मको नाम। धीरेन्द्र प्रेमर्षि, लक्ष्मण गाम्नागे अनि चट्याङ मास्टरका नामहरू पढेर म सिस्नुपानीको गाईजात्रे विशेषांक कुरेरै बसिरहन्थेँ। मलाई मासिक र पाक्षिक पत्रिकाहरूको लत बस्यो। कहिलेकाहीँ सबै किनिसकेका पत्रिकाहरू झुन्डिरहेका देखिन्थे सरोज सरको पसलमा।

 त्यति बेला मेरो खल्तीभित्रको नोट मसँग छोडपत्र गर्न कर गरिरहन्थ्यो। अनि यसो टाउको निहुर्‍याएर लजाउँदै माग्थेँ म ‘रसरंग’। साहुजीको हातमा नोट थमाएर म च्याप्प रसरंग समाउँथेँ। ढाडपछाडि कम्मरमा पाइन्टले रसरंग च्याप्थेँ। त्यसलाई टिसर्टको फेरले छोपेर म शंकास्पद अपराधीझैं बाटोभरिका परिचितहरूका आँखामा हेरेर हाँस्दै घरभित्र गुटुटु पस्थेँ। कोठाको चुकुल थुन्थेँ। अनि नियाल्थेँ अर्धनग्न युवतीहरू। म रसरंगको एक शब्द पढ्दिनथेँ तर म त्यसैका पानाहरूमा घण्टौं डुब्थेँ कहिलेकाहीँ।

यसरी म पढन्ते भएको थिएँ सानामा !

खाजा खाने पैसा बचाएर मैले पत्रिका पढ्दा आमालाई लाग्थ्यो, छोराले पैसा खेर फ्याँक्यो। बाका लागि त कहिलेकाहीँ मुना, सुनकेस्रा अनि बालकजस्ता बालपत्रिका मात्र पढ्नु ठीकै थियो। तर जति बेलै कोर्सबाहिरको किताब पढ्नु भनेको छोरो बिग्रनु थियो। म ‘आउट किताब’ पढेर बिग्रिन लागेको थिएँ !

‘किताब किनेर पैसा खेर नफाल है’ भनेर भन्ने आमाले ‘बाबु, किताब लेखेर समय खेर नफाल है’ भन्नुहोला भन्ने डर लाग्छ।

अंग्रेजी माध्यमको बोर्डिङ स्कुल पढेको थिएँ। मलाई कोर्सका किताबहरू देख्दैमा दुश्मन देखेजस्तो हुन्थ्यो। अनुहार नै हेर्न मन लाग्दैनथ्यो। तर मलाई तिनै किताबहरूको पल्टनमा एउटा किताब भने आफ्नी मायालुजस्तै प्यारो लाग्ने गथ्र्याे। किताब थियो, ‘हाम्रो नेपाली’ किताब। यो किताब मन पर्नाको कारण एउटै थियो— यसमा कथाहरू पढ्न पाइन्थे, कविताहरू पढ्न पाइन्थे।

नयाँ सेसन लागेपछि नयाँ कक्षाहरू सुरु हुनासाथ एक सेट नयाँ किताबहरू घर भित्रिन्थे। तीमध्ये सबभन्दा पहिलो नजर नेपाली किताबमा पर्थ्यो। किताबमा गाता हाल्नुभन्दा अगाडि नै मैले लगभग सबैजसो कथा, कविता पढ्न भ्याइसकेको हुन्थेँ। आफ्नो मात्र हो र, म त आफूभन्दा दुई कक्षा माथिकी दिदीको किताबका कविता पनि कण्ठस्थ सुनाउन सक्थेँ।

किताब पढ्ने लतले मलाई किताब किन्ने बनायो। किन्न नसकेका किताब अरूसँग माग्ने बनायो। माग्न पनि नसकेका किताब चोर्ने बनायो। जसरी मागी विवाह र भागी विवाहमा फरक छ, उस्तै फरक छ किताब माग्नु र किताब चोर्नुमा। जे जसरी विवाह गरे पनि आखिरमा सबै विवाहको हैसियत गृहस्थीमै पुग्ने हो। उसैगरी मागेर होस्, किनेर होस् वा चोरेर होस् जम्मा गरेको किताबको उद्देश्य ज्ञान अनि साहित्यिक रसको प्राप्ति नै हो। कुनै प्रसिद्ध मान्छेको भनाइ छ, पसलबाट बाहेक अन्तबाट किताब चोर्नु भनेको असलमा चोर्नु हैन। यसो भन्ने प्रसिद्ध मान्छे म आफैं हो भन्न मलाई कुनै संकोच छैन !

मासिक, पाक्षिक पत्रिकाका अलावा म बिस्तारै उपन्यास अनि कथाका किताबको पारखी हुन थालेँ। यो त्यस्तै ६ कक्षा पढ्दाको बखत हुनुपर्छ। त्यति बेलैदेखि हो मैले विभिन्न माध्यमबाट किताब जम्मा गर्न थालेको। विद्यालयमा भर्खर कुनै एउटा डोनरको प्रायोजनमा लाइब्रेरी खुलेको थियो। त्यहाँ धेरैजसो मोटो गाताका रंगीचंगी अंग्रेजी बालसाहित्यका किताब थिए। केही किशोर साहित्यका उपन्यास पनि थिए। तर मेरो ध्यान ती किताबले कहिल्यै तानेनन्। मलाई अंग्रेजी आउँदै नआउने त हैन तर मलाई कतै पनि नअड्कीकन कथाहरू पढ्न मन पार्थ्यो। कतै नबुझेजस्तो गरेर कपाल कन्याउँदै उही वाक्यमा रुमल्लिनु थिएन। यो शब्दको अर्थ के होला भनेर यताउति खोजी ढिला गरी पढ्नु थिएन मलाई। त्यसैले पढ्दाखेरिको ‘फ्लो’ बिग्रिने पीरले अंग्रेजी किताब मेरा छनोटमा परेनन्।

लाइब्रेरीमा थोरै मात्रामा नेपाली किताब पनि थिए। गुरुप्रसाद मैनालीको नासो, बीपी कोइरालाको दोषी चश्माजस्ता कथासंग्रह, विजय मल्लको अनुराधा नामक उपन्यास र कोही किन बर्बाद होस् नामक नाटक मैले विद्यालयकै पुस्तकालयबाट पढेका सुरुआती किताब हुन्।

आजकाल पुस्तकालयहरूमा कार्ड हुन्छन्। डिजिटल प्रविधिबाट किताब आएको र गएको दर्ता गरिन्छ। मलाई सम्झँदा अचम्म लाग्थ्यो, हाम्रो स्कुलको लाइब्रेरीमा किताब लगेको भनेर एउटा रजिस्टरमा नाम लेखे पुग्थ्यो। त्यही तरिकाको गलत फाइदा उठाउँदै लाइब्रेरीका सरको आँखा छलेर एउटा साथीले सबै साथीको सहमतिमा अघिल्लो हप्ता किताब लगेकाहरूको सूची भएको रजिस्टरको पाना सुटुक्क च्यातिदियो। त्यही पानामा मैले पारिजातको उपन्यास शिरीषको फूल घर लगेको प्रमाण मेरो हस्ताक्षरसहित मुसुक्क हाँसिरहेको थियो।

किताब ‘पच’ पारेको सुखद उपलक्ष्यमा त्यस दिन मेरो हस्ताक्षर हैन, खुद म हाँसेको थिएँ !

एसएलसी पास गरेर साइन्स पढ्न काठमाडौं आएँ। घरबाट टाढा बस्ने छोरो। बाटाघाटातिर अनेक खानेकुरा देख्दा खाऊँखाऊँ लाग्ला। साथमा पैसा भएन भने घुटुक्क थुक निल्ला। आत्मा रोला। यस्तै सम्झेर आमाले बेलाबेलामा घर जाँदा एउटा दुइटा हजारका कच्याक कुचुक पारेर बटारेका नोटहरू ट्यांकाभित्र पट्याएर राखेको लुगाको पत्रबाट निकाल्दै दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘यत्ति हो मसँग भाको। यही नि अस्ति औंसीमा मुख हेर्न जाँदा बा’ले दिनुभा’को। बाबु भोकै नबस। मःमबाहेक अर्थोक केही खाऊ है।’

मैले पैसा समाइसकेपछि झल्याँस्स सम्झेर आमा थप्नुहुन्थ्यो, ‘अनि किताबसिताब किनेर पैसा खेर नफाल्नु नि।’

म ‘हस्’ भनेर खुसीले मुन्टो हल्लाउँथेँ।

सहर बसेर पढ्ने छोरोलाई पैसा त बाले पनि यसै दिनुहुन्थ्यो। मसँग टन्न पैसा हुन्थे तर खर्च गर्ने पसलहरू सीमित थिए। काठमाडौंमा मैले पैसा खर्च गर्ने पसलहरू थिए रत्नपार्कको सब वेभित्रको किताब पसल, न्युरोड भूगोल पार्कको सडकपेटीको किताब पसल, अनि अरू पनि धेरै किताब पसल। मलाई बाटाघाटाका किताब पसलहरू बढी मन पर्थे किनकि त्यहाँ किताब किन्दा नाफा हुन्थ्यो। छुट धेरै पाइन्थे। आजकाल पनि पाइन्छन्।

हामी सहर बसेर पढ्ने दिदीभाइलाई बाले तल्तिर लुगा राख्ने ढोका भएको तसला र मास्तिर किताब राख्ने र्‍याक भएको एउटा दराज बनाइदिनु भएको थियो। बाँड्न त दिदी र मैले लुगा राख्ने र किताब राख्ने भाग आधा आधा गरेर बराबर बाँडेका थियौं। तर कालान्तरमा लुगा राख्ने भाग दिदीका लुगाहरूले भरिएका थिए। किताब राख्ने भाग मेरा किताबहरूले भरिएका थिए।

कलेज लाइफमा साथीहरू फुटबलका कुरा गर्थे। उनीहरू बार्सिलोना र रियल म्याड्रिडका जर्सी लगाएर रोनाल्डो र मेस्सीका कुरा गर्थे। तर मलाई मुराकामीको आउने किताब कस्तो होला भन्ने कौतूहलले व्यग्र बनाउँथ्यो। साथीहरू पाँचवटा बाइकमा दसजना भएर सुरियाचौर जानुपर्छ। फर्कंदा दारु लडाएर फर्कनुपर्छ भन्थे। मलाई भने अमर न्यौपानेको किताब विमोचनमा सँगै गइदिने साथी नभेटेर छटपटी हुन्थ्यो।

साथीहरू सोध्थे, ‘आखिर किताब पढेर के पाइन्छ ? ’

मसँग गतिलो उत्तर हुँदैनथ्यो। आखिर के चीज छ किताबमा जसका कारण म फुटबलको क्रेजभन्दा ज्यादा पागलपन भेट्टाउँथेँ। के नशा छ किताबमा जसका कारण मलाई रक्सीभन्दा बढी ‘ट्रिप’ किताबले हान्थ्यो।

बिस्तारै किताबका पात्रहरूको सामीप्यले म साथीहरूसँग दूर हुँदै गएछु। भन्न त साथीहरूसँग रुचि मिलेन, विचार मिलेन, दृष्टिकोण मिलेन भनियो। यथार्थमा त म किताब पढ्ने र अलिअलि लेख्ने पनि लत लागेपछि असामाजिक बन्दै पो गएको रहेछु। यसरी किताबी लतका कारण छुटेका साथीहरूको अन्तिम नाम उनको आउँछ जसलाई साथी मात्र हैन, जीवनसाथी बनाउने सोचेको थिएँ।

‘के छ जिन्दगीको लक्ष्य ? के गर्ने सोचेका छौ ? ’ कुनै दिन उसले सोधेकी थिई।

‘असल किताबहरू लेख्नेछु। राम्रो लेखक बन्नेछु।’

‘लेखेर जिन्दगी चल्छ ? बाँचिन्छ ? ’ उसले खिन्न अनुहार लगाएर सोधेकी थिई।

‘नलेखे बरु बाँच्न सक्दिनँ होला।’ यस्तै ‘क्लिसे’ लाइन बोलेको थिएँ।

‘मबिना नि ? ’ उसका एकएक जोर नझिम्किएका आँखा र टाठा कानहरूले जवाफ कुरेका थिए।

तर म नाजवाफ भएको थिएँ।

साइन्स पढेर एमएस्सी सकेको छोरो लेखक बन्छु भनेर कस्सिएको थियो। बाआमालाई चिन्ता थियो। टोफेल, जीआरई गर्ला र आफू पीएचडी गर्न जाँदा सँगै अमेरिका उडाऊँला भनेर प्रेमको बन्धनमा बाँधिएकी प्रेमिका मेरो पागलपनबाट आजित भएकी थिई। तर मलाई भने हरेक दिन आफूले लेख्ने नयाँनयाँ कथाका घटनाले रोमाञ्चित बनाउँथ्यो। मेरो दशा देखेर कोही निराशाको मझेरीमा प्यात्त बसेर खुइड्ढय गर्दै सुस्केरा हालिरहेको मलाई पर्वाह नै कहाँ र !

पढेका किताबका थाकछेउमा बसेर लेख्ने किताबको कथानक सोच्दै बसिरहँदा त्यस दिन मेरो कोठाको ढोका कसैले ढकढक्याएको थियो। बेवास्तापूर्वक मैले ढोका खोलेको थिएँ। उनी हातमा सानो झोला च्यापेर मेरो कोठामा खिन्न अनुहार लगाएर पसेकी थिइन्।

दुई दुई वर्षसम्म हरेक पटक भेट्दा उनको अनुहारमा उत्साह देख्थेँ। तर त्यस दिन लाग्थ्यो, उनले कुनै दुःखी बिरामीको अनुहार सापटी लिएर आएकी छन्।

‘के छ त्यो झोलामा ? ’ सन्चो, बिसन्चो, कसरी एक्कासि आको केही नसोधी, मैले उनको झोलामा आँखा गाडेको थिएँ।

उनले मेरो सामुन्ने फ्यात्त झोला फ्याँक्दै भनेकी थिइन्, ‘म घर जाँदै छु। यो सहर सधैंलाई छोड्दै छु। यी तिम्रा केही सामान मेरो कोठामा थिए।’

उनी बोलीरहेकी थिइन्। म भने झोलाभित्र रहेको मेरो पेनड्राइभ देखेर रमाएको थिएँ। उनको कोठामा छोडेको एउटा टिसर्ट त्यही झोलामा थियो। सँगै थियो एउटा इएरफोन। अनि थिए तीनवटा किताब— घामका पाइलाहरू, अलिखित र समर लभ। आफ्नो दराजबाट निस्किएका किताबहरू धेरैपछि फर्किएकामा खुसीले गद्गद् भएको थिएँ। मैले किताबहरू चुमेँ। मुसारेँ। दराजमा जतनसाथ राखेँ।

त्यति बेला ख्याल गरिनछु। तर आजकाल धमिलो झझल्को आउँछ। मैले पागलजसरी किताब मुसारिरहँदा उनका रसाएका आँखाहरूले एकटकले मलाई हेरिरहेका थिए। ती आँखाहरू त्यसपछि मैले कहिल्यै देख्न पाइनँ।

धेरै भयो म आफ्नो गाउँ गएको छैन। ‘किताब किनेर पैसा खेर नफाल है’ भनेर भन्ने आमाले ‘बाबु, किताब लेखेर समय खेर नफाल है’ भन्नुहोला भन्ने डर लाग्छ।

यस्तो किताब लेखेर घर जान मन छ। त्यति बेला आमा बा दुवैले भनून्, ‘छोरा, गजब काम गरिछस्। जे होस्, किताब लेखेर आफ्नो प्रतिभा खेर जान दिइनस्।’

@badal_suresh


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.