पतिपत्नी झगडाका गुनासा बढी

पतिपत्नी झगडाका गुनासा बढी

काठमाडौं : प्रहरी कन्ट्रोल १०० मा एक महिलाले फोन गरिन्। उनले प्रहरीसँग ‘यो मेरो अन्तिम कल हो, अब सुसाइड गर्दै छु’ भनेर फोन राखिदिइन्। प्रहरीले फर्काउन खोज्दा फोन स्विच अफ भइसकेको थियो।

कन्ट्रोल रुममा बसेका प्रहरीले घटनाबारे महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई सुनाए। कल लोकेसन हेर्दा फोन गर्ने व्यक्ति सातदोबाटो आसपास देखियो। प्रहरी यस क्षेत्रमा परिचालन भएर सोधखोज गर्‍यो। एक युवाले नम्बर आफ्नी पत्नीको हो भनेर जबाफ दिए। प्रहरीलाई ती युवकले पत्नी डिप्रेसनमा रहेको जानकारी पनि दिए। ढोका खोलेर हेर्दा ती महिला निद्रा लाग्ने क्याप्सुल लिएर बसेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले किन फोन गरेको भनेर सोध्दा उनले भनिन्, ‘मलाई अब धेरै बाँच्नु छैन।’ पत्नीले प्रहरीलाई फोन गरेको ती युवालाई थाहा थिएन। उनी भक्कानिए। पत्नीलाई अंगालो हाले। प्रहरी टोली दुवैलाई सम्झाएर फर्कियो।

महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार १०० नम्बरमा दैनिक तीनवटासम्म पतिपत्नीको झगडाको फोन आउँछ। पतिले मदिरा पिएर पत्नी कुटेको जानकारी क्षेत्रीले दिए। उनले भने, ‘एक दिन एउटी महिलाले बालाजुबाट फोन गर्नुभो, मलाई लोग्नेले पिटेर मार्न लाग्यो भनेर। प्रहरी पुग्दा पतिले मदिराको नसामा पत्नीलाई पिट्दै थिए। हामीले भोलिपल्ट दुवैलाई प्रहरी कार्यालयमा ल्याएर सम्झायौं।’

मंसिर १ देखि १८ गतेसम्म १०० नम्बरमा पतिपत्नीको झगडालाई लिएर ७५ वटा फोन आएका छन्। पतिले मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गरेको, बच्चालाई कुटपिट गरेको, घरमा झगडा भएपछि पतिले पत्नीलाई निकालिदिएको जस्ता समस्यालाई लिएर फोन आउने गरेको जानकारी डीआईजी क्षेत्रीले दिए। उनका अनुसार केहीले फोन गर्छन् तर बोल्दैनन्।

१८ दिन अवधिमा यस्तै कल दुई हजार ६ सय ३८ वटा आएका छन्। केहीले एक घण्टी (मिसकल) मात्रै दिन्छन्। यस अवधिमा एक हजार एक सय ८७ वटा मिसकल आएका थिए।

१०० मा धेरैजसो झैझगडाकै विषयलाई लिएर फोन आउने गरेको देखिन्छ। मंसिर १ देखि १८ गतेसम्म एक हजार चार सय ९९ वटा कल झैझगडालाई लिएर आएको देखिन्छ। प्रहरीको क्षेत्राधिकारभित्रै नपरेको विषयलाई लिएर पनि १०० नम्बरमा फोन आउँछ। १८ दिनमा बिजुलीको तार चुँडिएको विषयलाई लिएर तीनवटा कल आएको छ। प्रहरीकै विभिन्न एकाइको नाम माग्नेको ताँती उत्तिकै छ। यस अवधिमा एक हजार आठ सय २० जनाले फोन नम्बर माग्न फोन गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। बन्द सोधपुछ, जुवातास, विवाद, आगलागी, ध्वनि प्रदूषण, सवारी दुर्घटना, चोरी, प्रहरी माग, लागूऔषध सेवन, सामान हराएको र फेलापरेको, मानिस हराएको लगायतका विषयलाई लिएर फोन आउने गरेको डीआईजी क्षेत्रीले बताए।

क्षेत्रीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएपछि १०० नम्बरमा सर्वसाधारणले सूचना दिने क्रम बढेको देखिन्छ। गत वर्ष कात्तिकमा कार्यक्रम सुरु हुनुअघि १०० मासिक २२ हजार कल आउँथे। अहिले मासिक ३३ हजार कल आउने गरेको तथ्यांक छ। कन्ट्रोल रुममा एक पटकमा १७ वटा कल रिसिभ गर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.