रोकिराखेको बस खोलामा खस्दा एकको मृत्यु
बेसीसहर : लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा आइतबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा अन्दाजी ३० वर्षकी एक महिलाको मृत्यु भएको छ।
डीएसपी रबिन्द्रमान गुरुङका अनुसार मृतकको सनाखत हुन सकेको छैन। शव सुन्दरबजारको कर्मदा सामुदायिक अस्पतालमा राखिएको छ। दुर्घटनास्थल लमजुङ र तनहुँ सीमाक्षेत्रमा पर्छ। घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए।
४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ। १ जनाको अवस्था सामान्य छ। बसमा १२ जना यात्रु रहेको हुनसक्ने प्रहरीले बताएको छ। चालक तनहुँ भन्सारका कृष्णबहादुर आले सम्पर्कमा आएका छन्। बसमा सवार अन्यको अवस्था सामान्य रहेको छ।
घटना बिहान करीब ७ बजेतिर भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सवारी ओभरटेक गरी यात्रु बटुल्ने क्रममा पाउँदी पुगेको बस ओरालोमा रोकेर चालक र सहयोगी यात्रु खोज्न हिँडेका र त्यही बेला बस गुडेर दुर्घटनामा परेको हो। बस सडकबाट करीब डेढसय सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ। बस पाउँदीमा आधा डुबेको अवस्थामा छ। केही हराइरहेको हुनसक्ने भन्दै खोजी भइरहेको छ।