मापसे गरी कार चलाउनेलाई भगाएको भन्दै प्रहरी चौकी घेराउ
काठमाडौं : ठक्कर दिँदै हिंड्ने कार चालकलाई पक्राउ नगरेको भन्दै थलीका स्थानीयले प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिका सिंखडा गाउँका कार चालक रत्नबहादुर श्रेष्ठ (खुडे माइलो) लाई पक्राउको माग गर्दै स्थानीयले आइतबार बिहान थली प्रहरी चौकी घेर्न आएका उनीहरुले प्रदर्शन गर्दै नारा जुलुस गरे।
स्थानीयले प्रहरी चौकी अगाडी टायर र मुढा बालेर श्रेष्ठ पक्राउको माग गरेका थिए।
शनिबार साँझतिर मातेर कार चलाउँदै आएका श्रेष्ठले पार्किङमा राखेका सवारीलाई ठक्कर दिँदै हिंडेका थिए।मानवीय क्षति नभएपनि मातेर कार चलाउने श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई खबर गर्दा पनि पक्राउ नगरेको स्थानीयको आरोप छ।
स्थानीय निरजन काफ्लेले पक्राउ गर्नुको सट्टा प्रहरीले पैसा खाएर श्रेष्ठलाई भगाएको आरोप लगाए। उनले भने, ' प्रहरीले पक्राउ गर्नुको सट्टा अस्पताल पठाएर भगाउन सहयोग गरेको छ। श्रेष्ठ पक्षबाट १०/१२ जना गुण्डा पठाएर छिमेकीलाई कुटपिट समेत गराएको छ। यो कहाँसम्मको रैती हो।'
तीव्र गतिमा कार आएको देखेपछि पैदल यात्रुको भागभाग भएको सीता शेर्पाले बताइन्।शनिबार बेलुका छोराको कपाल काट्न थली चोक जाँदा झन्डै आफू दुर्घटनाबाट बचेको उनले बताइन्।
स्थानीयका अनुसार शनिबार राती करिब १० बजेतिर श्रेष्ठ पक्षका १० /१२ जनाको समूहमा आएका युवाहरुले घरभित्र पसेर राजु सिम्खडा र उनकी श्रीमतीलाई कुटपिट गरेका थिए। घाइते राजुको आँखामा चोट लागेको छ भने उनकी श्रीमती पनि घाइते छिन्।उपचारपछि उनीहरु घर फर्केका छन्।
श्रेष्ठले चलाएको कारले सडक छेउमा पार्किङ गरिराखेका मोटरसाइकल, स्कुटर र माइक्रो बसलाई ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन्। कारले थली चोकमा बिजुलीको पोलमा समेत ठक्कर दिँदै गएको थियो।
माइक्रोमा क्षति पुगेपछि माइक्रोचालक र केही स्थानीय श्रेष्ठको घर पुगेपछि विवाद भएको थियो। विवादले चर्को रुप लिएपछि
महानगरीय प्रहरी प्रभाग थलीबाट गएको प्रहरी टोलीले विवाद साम्मे पारेको थियो।
शनिबार राती करिब ९ बजेतिर घटनाबारे बुझ्न श्रेष्ठको खोजी गर्दा उनी घरनजिकैको भीरबाट लडेको अवस्थामा करिब २० फुट तल झाडीमा भेटिएको
महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज सइ प्रेमकुमार लिम्बूले जानकारी दिए। श्रेष्ठ पक्षले भने स्थानीयहरु मिलेर भीरबाट खसालेको आरोप लगाएका छन्।
घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी राती अस्पताल पठाइएको थियो।राती करिब १ बजेतिर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठ भने फरार छन्।उनको मोबाइल स्वीच अफ छ। अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएको छ।
सइ लिम्बूले कार प्रहरी नियन्त्रणमा रहेको र श्रेष्ठको खोजि भइरहेको जानकारी दिए। थली चोकमै स्थानीयले टायर बालेर प्रदर्शन गरेपछि करिब २ घन्टा सवारी आवगमन प्रभावित भएको थियो।