‘साइकल सिटी’ बन्ने पाटनको आकांक्षा

‘साइकल सिटी’ बन्ने पाटनको आकांक्षा

काठमाडौँ उपत्यकामा साइकल चलाउन सजिलो छैन। एक त व्यस्त भीडभाड सडक, त्यसमाथि ठूला सवारी साधनले साइकललाई गर्ने व्यवहार ! साइकल चलाउनेहरू भन्छन्– ‘ठूला गाडीले साइकललाई देखिसहँदैनन्। पेलुँलाझैँ गर्छन्।’ यी सबै तथ्यलाई ध्यान दिएर ललितपुर महानगरपालिकाले पाटनलाई साइकल सिटी बनाउने भएको छ। त्यसका लागि साइकल स्टयान्ड निर्माण हुँदै छन्। साइकल लेन पनि बन्ने भएको छ। 

साइकल स्ट्यान्डको काम तीव्र

करिब डेढ वर्षअघि साइकलप्रेमीका संस्थाहरूले ललितपुर महानगरपालिकामा गई साइकल लेनको माग गरेपछि महानगरपालिकाका मेयर चिरीबाबु महजर्नले साइकल सिटी बनाउने योजना ल्याएका थिए। ‘विभिन्न संस्थाले साइकल लेनको माग गरेपछि मेयर महर्जनले साइकल सिटीको भिजन अगाडि सार्नुभयो,’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन भन्छन्, ‘त्यसपछि बजेट छुट्याएर सम्भाव्यता अध्ययन गरिएको थियो।’ सम्भाव्यता अध्ययन गरी डीआरपी गर्न समय लाग्यो। तर, नतिजा सकारात्मक आएको महर्जन बताउँछन्। भन्छन्, ‘नतिजा सकारात्मक आयो। र, टेन्डर आह्वान गर्‍यौँ। रमित कन्स्ट्रक्सनले टेन्डर हात पार्‍यो।’ त्यसबाहेक अन्य ठेक्का पनि दिइएको थियो। करिब पाँच महिनाअघि सुरु भएको साइकल स्ट्यान्ड निर्माणको काम आधा सम्पन्न भइसकेको छ। ‘सय वटा साइकल स्ट्यान्ड निर्माणका लागि ठेक्का दिएका थियौँ,’ प्रवक्ता महर्जन भन्छन्, ‘अहिले ५० वटाको हाराहारीमा बनिसकेका छन्। ’ 

साइकल लेन निर्माण हुँदै 

साइकल लेनको काम पनि छिट्टै नै सुरु हुँदै छ। गत शनिबार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा मेयर महर्जनले निर्माण कार्यको शिलान्यास गरे। पहिलो चरणमा कुपन्डोलदेखि पुल्चोकसम्म र पुल्चोकदेखि मंगलबजारसम्म लेन निर्माण गरिने प्रवक्ता महर्जन बताउँछन्। ‘पहिलो चरणमा कुपन्डोलदेखि पुल्चोक हुँदै मंगलबजारसम्म लेन बनेपछि गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेन बनाउने महानगरको भिजन रहेको छ।’ 

लेन बनाउने क्रममा बाटोको दुवैपट्टि डेढ मिटरको बाटो साइकलका लागि छुट्याइने भएको छ। ‘फराकिलो बाटो भएको ठाउँमा साइकल मात्र हिँड्नका लागि बाटोको दुवैपट्टि साढे एक मिटरको लेन रहनेछ,’ महर्जन भन्छन्, ‘साँघुरो बाटो भएको ठाउँमा भने साइकल लेनमा बाइक पनि हिँड्न पाउनेछन् तर पहिलो प्राथमिकता साइकललाई दिइनेछ। लेनमा हिँडेको साइकललाई कसैले दुव्र्यवहार गरेमा वा ठक्कर दिएमा कडा सजाय हुनेछ।’  

साइकल स्ट्यान्ड निर्माण कार्य सम्पन्न नहुँदै साइकल चालकहरूको राम्रो प्रतिक्रिया आएको प्रवक्ता महर्जन बताउँछन्। बनिसकेका स्ट्यान्डमा साइकल भरिनुले साइकल चालकको उत्साह देखिएको महर्जन बताउँछन्। भन्छन्, ‘पूरै साइकल स्ट्यान्ड निर्माण भइसकेका छैनन्। तैपनि, बनिसकेका स्ट्यान्डमा साइकलहरू भरिएका छन्। उनीहरूको उत्साह प्रकट भएको छ।’  

स्वास्थ्यका लागि साइकल 

साइकल चढ्दा स्वास्थ्यलाई फाइदा पुग्ने प्रमाणित भइसकेको छ। त्यसैले अचेल शहरमा थुप्रैले साइकल चढ्न थालेका छन्। स्वास्थ्यका लागि मात्र नभई  वातावरणका लागि पनि साइकलले ठूलो योगदान दिने प्रवक्ता महर्जन बताउँछन्। भन्छन्, ‘साइकल मानव स्वास्थ्यका लागि फाइदाजनक त छँदै छ, वातावरणमा पनि यसले कुनै असर पार्दैन। साइकलले धुवाँ छोड्दैन। त्यसैले यसले वातावरण सफा राख्न योगदान पुर्‍याउँछ।’ महर्जनका अनुसार साइकल चलाउने मान्छे स्वतः वातावरणप्रेमी बन्छ। ‘हरेक मानिसको कर्तव्य वातावरण संरक्षण गर्नु हो,’ उनी भन्छन्, ‘त्यसैले साइकललाई प्रवद्र्धन गर्नुपर्छ।’ 

संरक्षणको आवश्यकता 

साइकल स्ट्यान्ड र लेन बनाएर मात्र हुँदैन, तिनको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ। यो एउटा चुनौती पनि भएको र यसका लागि जनसमुदायदेखि सवारी चालकसम्म लाग्नुपर्ने महर्जन बताउँछन्। भन्छन्, ‘सवारी चालकले नियमको पालना गरी साइकल चालकलाई सम्मान दिने हो भने मात्र यो दिगो बन्न सक्छ। हैन भने यसको संरक्षण गर्न निकै गाह्रो हुन्छ।’ ललितपुर महानगरपालिकाले ५० जना महानगर प्रहरी नियुक्त गर्दै छ। त्यसमध्ये केही प्रहरीलाई ट्राफिक प्रहरीसँग समन्वय गरेर साइकल स्ट्यान्ड र लेनको संरक्षणका लागि खटाइने उनी बताउँछन्। 

सुमित सुवेदी

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.