रोकिएको तीन वर्षपछि प्रशारण लाइन निर्माण सुरु
बेनी : तीन वर्षदेखि स्थानीयले अवरोध गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर क्षेत्रमा रोकिएको विद्युत प्रशारण लाइन निर्माण सुरु भएको छ। कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई केन्द्रीय ग्रीडमा जोड्न नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको प्रशारण लाइन निर्माणका क्रममा पोखरेबगर र घिरच्याङका बासिन्दाले अवरोध गरेका थिए।
स्थानीयको अवरोध र बिरोधका कारण २०७४ देखि प्रशारण लाइनको छ वटा टावर निर्माण रोकीएको थियो। जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा आयोजना, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय र प्रभावित क्षेत्रका बासिन्दाहरुको छलफलपछि गत हप्ता प्रशारण लाइन निर्माण अघि बढाउने निर्णय भएको थियो।
‘घिरच्याङमा एक वटा टावरको जग खनेर टावर ठडाउन सुरु भएको छ,’ आयोजनाका लक्ष्मण फुयालले भने ‘अन्य ठाउँका टावर पनि निर्माण गर्न ठेकेदारले तयारी गरेको छ।’ टावर निर्माण स्थलमा प्रहरी समेत परिचालन गरिएको छ।
गाउँपालिकाको केन्द्रसमेत रहेको पोखरेबगर र आसपासका बस्ती विस्थापित हुने जोखिम भएकाले प्रशारण लाइन अन्य ठाउँबाट लैजानुपर्ने अडान राख्दै मुआब्जासमेत बुझेका थिएनन्। विभिन्न विकल्पको खोजी गरिएपनि प्राबिधिक हिसाबले उपयुक्त नभएपछि पुरानै डिजाइन र नक्सा अनुसार प्रशारण लाइन निर्माण अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।
पुरानै डिजाइन अनुसार प्रशारण लाइन निर्माण गर्दा स्थानीय धनबहादुर बरुवालले घर छाड्नुपर्ने भएको छ। मानवअधिकार सम्बन्धी कानुन विपरित सुरक्षा जोखिम हुने गरि जवरजस्ति प्रशारण लाइन बनाउन लागिएको बरुवालले गुनासो गरे।
आयोजना मुआब्जाको दररेट, सामाजिक र वातावरणीय क्षेत्रबाट गरिने कार्यमा लचिलो हुने र स्थानीयले अवरोध नगर्ने निर्णय भएको छ । गाउँपालिकाको केन्द्रमा सरकारी संरचना र बस्ति विस्तारमा पनि प्रशारण लाइनले असर पुग्ने स्थानीयको चिन्ता छ।
११४ वटा टावर मध्य पोखरेबगर क्षेत्रमा ६ वटा र जलजला गाउँपालिकाको मल्लाजमा १ वटा टावर निर्माण रोकिएको थियो । एशियाली विकास बैङ्कको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने ३८ किलोमिटर प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो।
२०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य थियो। आयोजना एक वर्ष ढिलाई भइसकेको छ। आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खेर गएको छ।
थापाखोला जलविद्युत आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन्। ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य होल्ड गरिएको छ। करिब ८० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।