दसगजामै खेती
टीकापुर : भारतले सीमा मिचेको चर्चा चलिरहेका बेला कैलालीको भारतीय सीमा क्षेत्रमा भने दुवै देशका स्थानीयले दसगजामै खेती गर्ने गरेका छन्। दुई देशको सिमाना छुट्याउन तोकिएका पिलरबाट दस÷दस गज दायाँबायाँको जमिन छाड्नुपर्ने नियम मिचेर उनीहरूले दसगजामै खेती गर्ने गरेका हुन्।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाट, वडा नम्बर ५ कौवाखेडा क्षेत्रका स्थानीयले दुवैतर्फ खेती गर्दै आएका छन्। यसरी खेती गर्नेमा नेपाली र भारतीय दुवै छन्। भारततर्फको दसगजामा लामो समयदेखि भारतीयहरूले र नेपालतर्फ नेपालीहरूले नै खेती गर्ने गरेका छन्। कुसुमघाट र कौवाखेडा क्षेत्रमा नेपाल-भारत सीमा विवाद छ।
भारतले सीमा स्तम्भ सारेकोबारे प्रहरी प्रशासनलाई बारम्बार जानकारी गराउँदासमेत बेवास्ता गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्। कैलालीको भारतीय सीमामा रहेका ५३ जंगे (मुख्य) र २ सय २९ सहायक सीमा स्तम्भमध्ये एक सय ३२ स्तम्भ गायब छन्। २० जंगे (मुख्य) र १ सय ३ सहायक सीमा स्तम्भ मात्र बाँकी रहेको बताइन्छ। कतिपय स्तम्भ सीमा हुँदै बग्ने मोहना नदीले बगाएको छ।
भजनी नगरपालिका-३ कुसुमघाटका स्थानीय मानबहादुर साउदले ०५० सालतिर ११० नम्बरको जंगे पिलर मोहना नदीले बगाएपछि भारतले एकलौटी ढंगले सीमाका पिलर सार्ने गरेको बताए। ०२४ सालदेखि सो क्षेत्रमा बस्दै आएका उनले ०६३ सालपछि १०९ नम्बरको जंगे पिलरसँगै रहेका सहायक पिलर भारतले एकलौटी सार्न थालेपछि सीमा विवाद सुरु भएको बताए।
‘पहिले पनि स-साना सहायक पिलरहरू थिए, मोहना नदीले बगाएको ११० नम्बरको जंगे पिलर भारतले एकलौटी रुपमा सारेर त्यसकै आधारमा नयाँ पिलर राख्न थाल्यो,’ साउदले भने, ‘त्यसपछि हामीले सीमा सच्याउन माग गर्दै विरोधस्वरुप खेती गरिरहेका छौं।’
स्थानीय समाजसेवी हर्क साउदले भारतले बनाएका नयाँ सहायक पिलरले नेपाली भूमि मिचिएको दाबी गर्दै जग्गा नछाडेसम्म आफूले दसगजामा खेती गर्न नछाड्ने बताए। ‘भारतको एकलौटी निर्णयका कारण हाम्रो सयौं बिघा नेपाली भूमिमा भारतीयले खेतीपाती गर्दै आइरहेका छन्,’ उनले भने, ‘हाम्रो जमिन छाडेलगत्तै हामी पनि दसगजामा खेती गर्न छाड्छौं।’ ०४० सालसम्म नेपालीले खेती गर्दै आएको जमिनमा भारतीयले अहिले आफ्नो दाबी गर्दै खेती गरिरहेका छन्। सीमावर्ती क्षेत्रमा नेपाल र भारत दुवैतर्फ ऐलानी जग्गा छ।
गत वर्ष दुई देशका सीमाविद्हरूको टोलीले कुसुमघाटमा सहायक पिलर निर्माण गर्न खोज्दा विवाद भएको थियो। स्थानीयको चर्को विरोधपछि सो क्षेत्रमा सहायक पिलर निर्माण भए पनि दसगजा क्षेत्र खाली भएको छैन। समाजसेवी हर्कका अनुसार पटकपटक भारतीय र नेपाली सुरक्षाकर्मीले दसगजा छाड्न दबाब दिए पनि स्थानीयले आफ्नो जमिन भारतले फिर्ता नगरुन्जेल नछाड्ने अडान लिँदै आएका छन्। ‘हामीले आफ्नो भूमि जोगाउनकै लागि दसगजामा खेती गर्न थालेका हौं,’ हर्कले भने, ‘नत्र भारतले रातारात हाम्रा जग्गा आफ्नो भन्दै कब्जा गर्न बेर लाउँदैन।’
स्थानीयका अनुसार भारततर्फको दसगजामा भारतीय हर्मन्तसिंह सरदारले खेती गर्दै आएका छन्। भारतले दसगजा नजिकैको नेपाली बस्ती हटाउन खोजेपछि स्थानीयले सीमा स्तम्भ सारिएको थाहा पाएका थिए। उनीहरूले भारतीयको प्रतिकार गर्दा झडपसमेत हुने गरेको छ।
स्थानीय दुर्गा माविका शिक्षक रमेश बोहराले मोहना नदीले सीमा स्तम्भ बगाएपछि दुई देशको सीमा छुट्याउने आधार हराएको बताए। उनका अनुसार सोही आधारमा भारतीय पक्षले नेपाली भूमि कब्जा गरेको हो। ‘भारततर्फ गएको सो जमिनसमेत स्थानीयले खनजोत गर्न पाएका छैनन्,’ उनले भने, ‘नदीले सीमा स्तम्भ बगाएपछि हामी पनि चुप लाग्न बाध्य छौं।’ ०२४ सालदेखि सो क्षेत्रमा बस्दै आएका नेपालीको घरसमेत मोहना नदी पारी थियो।
नदीले सीमा स्तम्भ बगाएपछि भारतीयहरूले दुःख दिन थालेकाले नेपालीहरू नदी वारी बसाइ सरेका थिए। ‘झन्डै ५ सय घरपरिवार नदी पारी बस्दै आएका थिए। नदीले सीमा स्तम्भ बगायो, भारतीयले दुःख दिन थाले,’ शिक्षक बोहराले भने, ‘त्यसपछि कुसुमघाट भन्ने स्थानमा बस्न थालेका हौं।’