पुरातत्वसँग छैन प्राचीन ढुंगेधाराको अभिलेख
काठमाडौं : पुरातत्व विभागसँग प्राचीन ढुंगेधाराको कुनै अभिलेख छैन। प्राचीन ढुंगेधाराको संरक्षण, प्रवद्र्धन र तथ्यगत विवरण राख्ने दायित्व पुरातत्व विभागकै हो। उपत्यकामा सांस्कृतिक तथा धार्मिक सम्पदासँग ढुंगेधाराको इतिहास र संस्कृति जोडिएर आउँछ।
नगर विकास समितिले ०३९ सालमा काठमाडौं नगर क्षेत्रको इन्भेन्ट्री तयार पारेको थियो। जसमा पोखरी १७ छन् भने ढुंगेधारा १ सय १९ थिए। भक्तपुर नगर क्षेत्रको इन्भेन्ट्री ०४८ मा भने पोखरी ३१ र ढुंगेधारा ५७ वटा भएको देखिन्छ। ललितपुर क्षेत्र अझैसम्म अभिलेख बनेकै छैन। यसैको आधारमा पुरातत्वले ढुंगेधाराको विवरण पेस गर्ने गरेको छ। उपत्यकामा पानी आपूर्तिको मुख्य स्रोत रहेको ढुंगेधारा १५ वर्षदेखि पुरातत्वको निगरानीमा छैन।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विभागले ढुंगेधाराको कुनै अभिलेख राख्ने नगरेको बताउँछन्। ‘धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा काम भएको छ,’ कुँवरले भने, ‘तर ढुंगेधारा संरक्षण हाम्रो प्राथमिकतामा पर्दैन।’
पुरातत्वलगायत स्थानीय सरकारले ढुंगेधारालाई नगरको सम्पदाभित्र नअटाउँदा उपत्यकाका अधिकांश धारा मासिएका छन्। भक्तपुर वडा नं. ४ मा नारायण तथा गरुडको मूर्ति स्थापना गरिएको सुन्दर ढुंगेधारा छ। यो धाराको नाम मला हिति हो। हितिमा पानी नआएको वर्षौं भइसक्यो। धाराको पूर्व, पश्चिम र उत्तरतर्फ पक्की सडक बनिसके। पानी रसाउने प्राकृतिक जमिन मासिएको छ। स्थानीय बासिन्दा डिप बोरिङ गरेर दैनिक पानीको आवश्यकता पूर्ति गरिरहेका छन्।
लुगा धुनको साथै पानी पिउनसमेत मिल्ने काठमाडौं वडा नं. १८ को पुलांहिति (पुरानो ढुंगेधारो) संरक्षण अभावमा झारपातले ढाकिएको छ। पानी आउन छाड्दा सरसफाइमा स्थानीयले ध्यान दिएका छैनन्। सडक तहभन्दा करिब १० फिट मुनि रहेको यो धाराको वरिपरि कंक्रिटका घर तथा ठूला भवन निर्माण भएका छन्।
ढुंगेधाराका साथै उपत्यकामा पोखरीको महत्व पनि उत्तिकै छ। पानी अभाव हुन नदिन विभिन्न मुहानबाट उपत्यकामा पानी आपूर्ति गरिन्थ्यो। त्यसका लागि पोखरी, ढुंगेधारा निर्माण गरिन्थे। प्रत्येक नगर प्रवेशद्वारको भित्र वा बाहिर ढुंगेधारा अनिवार्य राखिन्थ्यो। पोखरी नगरभित्र चोकचोकमा हुन्थे। तर, प्रायः पोखरी सुकेर जाँदा डम्पिङ साइड बनेका छन्। धारा जीर्ण बनेका छन्। कतिपय निजी घरमा गाभिसके। कतिपय जमिन मुनि पुरिएका छन्।
केही दिनअगाडि काठमाडौं वडा नं. १ हात्तीसारमा लिच्छविकालीन ढुंगेधारा भएको तथ्य फेला पर्यो। उत्खननमा स्थानीय युवा जुटे। निकै गहिराइसम्म खन्दा ढुंगेधारा भएको अवशेष भेटियो। तर, धारा चोरी भइसकेको थियो। बीस वर्षअगाडि सोही ढुंगेधाराको पानी जम्मा गरेर पौडी खेलेको सम्झन्छन् स्थानीय सचिनकुमार तन्दुकार। ‘सहरी विकाससँगै नजिकको टुकुचा हरायो। आँखैअगाडि नै ढुंगेधारा मासियो,’ तन्दुकारले भने।
स्थानीयको सांस्कृतिक सम्पदा रहेको ढुंगेधारा मासिन थालेपछि केही सम्पदाप्रेमीले ठाउँ-ठाउँमा उत्खनन गरी ढुंगेधारा ब्युँत्याउने प्रयास गरेका छन्। सम्पदा संरक्षक अभियान्ता यादवलाल कायस्थ भन्छन्, ‘यो सहरबाट सम्पदा हरायो भने सहरको आत्मा मर्छ। ढुंगेधारा हाम्रो सम्पदा हो। यसको संरक्षण सबै मिलेर गर्नुपर्छ।’
पछिल्लो समय देखिने गरेर हालको आरसिटी भवन रहेको स्थानबाट झङ्ग थकुंः हिति हराइसक्यो। भोटाहिति, थंः हिति पुरिएको छ। सातौं शताब्दीमा बनेको सोह्रा हिति फोहोरको डुङ्गुरमा परिणत भएको छ। भोटाहिटी सबवेमा रहेको न्हेँरा हिति (सप्तधारा) गायब पारिएको छ।