साग समापनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहलाई मंगलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।
स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्न लागेको बताए। समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुँदैछ । खेलअघि दिउँसो १२:०० बजे संसद्-११ र राष्ट्रसेवक -११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३:०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ।
मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ। समापन समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन्।
यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ।