इरान र अफगानिस्तानको वायु नेपालतर्फ, चिसोसँगै हिमपात
काठमाडौं : चार दिनसम्म चिसो झनै बढ्ने भएको छ। हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली बुधबार नेपाल भित्रिएसँगै शनिबारसम्म चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्ये र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौंको मौसम सामान्य रहेपनि भित्रिदै गरेको वायु प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ।
'उक्त प्रणाली बिहीबारबाट अझैं सक्रिय हुनेछ।यसले देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना छ, उनले भनिन्,' शनिबारसम्म वायुका कारण मुलुकभरको मौसम प्रभावित रहनेछ।'
यो प्रणालीका कारण देशैभरी बदली भइ अधिकतम र न्युनतम तापक्रममा गिरावट आउने र देशैभरी चिसो बढ्ने संभावना छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानमा र मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। बुधबारबाट सुरू हुने यो मौसमी प्रणाली शनिबार अन्त्य हुनेछ।
उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुनसक्ने जनाइएको छ।पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणमा शाखाको अनुरोध छ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ।यस्तै जुम्लाको तापक्रम भने माइनस ३.३ डिग्री सेल्सियस छ।
यस्तो छ तीन दिनको मौसम
मंसिर २४ गते मंगलबार
दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
मंसिर २५ गते बुधबार
दिउँसो देशको पश्चिमि भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने तथा बाँकी भू-भागमा मौसम आंशिक बदलि रहनेछ।
राती देशको पश्चिमि भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानमा हल्कादेखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
मंसीर २६ गते बिहीबार
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थान र मध्य तथा पूर्वका केहि स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भू-भाग हरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।