काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुँदै
काठमाडौं : उपत्यका नगरपालिका फोरमले अन्तर्राष्ट्रिय मेयर सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा फोरमले अक्टोबर २१ देखि सम्मेलन आयोजना गर्न लागेको हो। फोरमको सोमबार भक्तपुरमा बसेको बैठकले अन्तर्राष्ट्रिय सम्मेलनको निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख तथा फोरमका संयोजक विद्यासुन्दर शाक्यले सम्मेलनका लागि आवश्यक तयारी थाल्ने बताए।
सम्मेलनमा सार्क मुलुकका शहरका नगरप्रमुख, भगिनी सम्बन्ध स्थापना भएका सहरका प्रमुख, युनेस्को, युएन ह्याबिटसलगायतका संघ संस्थालाई उक्त सम्मेलनमा आमन्त्रित गरिने फोरमका संयोजक शाक्यले बताए। उनले भने, ‘यो सम्मेलनले अनुभव आदान प्रदान गर्न सहयोग गर्नेछ।’
शाक्यका अनुसार विदेशी मेयरलाई लुम्बिनी, पोखरा, चितवन घुमाउन लैजाने योजना छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस्तो सम्मेलनले अनुभव आदानप्रदान गर्न सहयोगी हुने बताए। ललितपुर महानगरले भर्खरै सम्पन्न गरेको सिटीनेटको बैठक त्यसको एक महत्त्वपूर्ण उदाहरण भएको उनले स्पष्ट पारे। उक्त बैठकबाट आपसी सहयोग आदानप्रदान गर्न सहगोग प्राप्त हुने महर्जनको साधारण छ।
फोरमका संयोजक शाक्यले विदेशी पाहुनालाई नेपालमा निम्त्याउँदा सम्पदा र संस्कृतिको बारेमा मात्रै जानकार दिने गरेको बताउँदै अब व्यापारिक सम्बन्धलाई समेत विस्तार गर्नुपर्न बताए।
मध्यपुर थिमीनगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनबाट उपत्यका भित्रका समस्या समाधान गर्न अनुभव प्राप्त हुने बताए।
फोरममा उपत्यका भित्रका १८ वटा नगरपालिका संलग्न छन्। बैठकमा फोहोर मैला व्यवस्थापन, उपत्यकाका विषयगत निकायसँग समन्वय गर्ने, उपत्यका विकास प्राधिकरण खारेज गर्ने निर्णय कार्यान्वयनका लागि निरन्तर दबाब दिने निर्णय गरिएको छ।
त्यसैगरी नगरपालिका भित्रका समस्या समाधान गर्नका संयुक्त रूपमा अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।