गृह जिल्ला आएर मन्त्री यादवले भने- अब बेरोजगार परिवारका एक सदस्यलाई रोजगारी
मलंगवा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेपछि पहिलो पटक गृहगाउँ चक्रघट्टा आएका रामेश्वर राय यादवले गाउँपालिकाको बेरोजगार परिवारको एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्। चक्रघट्टा गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले आफुले देशमा रोजगारीको क्षेत्र र सामाजिक सुरक्षाको क्षेत्रमा कुनै कमी नराख्ने बताए।
‘तपाईहरु सीप सिकेर आउनुस्’, मन्त्री रायले भने, ‘रोजगारी दिने काम नेकपाको सरकारले गर्नेछ।’ समृद्ध नेपाल सुखी नेपालीको नारासहित अहिले सरकार देश र जनताको विकासका लागि काम गरिरहेको बताए। बालबालिका, जेष्ठ नागरिक, एकल महिला प्रति उच्च सम्मान रहेको बताउँदै मन्त्री यादवले यस्ता वर्गको कष्ट निवारणका लागि सरकार सदैब तत्पर रहेको बताए।
मन्त्री यादवले सीप सिकेर दक्ष बनेपछि मात्रै वैदेशिक रोजगारीमा जानसमेत सुझाव दिए। श्रम तथा रोजगार क्षेत्रको समस्या र विकृति विसंगति अन्त्य गर्न आफु लागि परेको मन्त्री यादवले बताए। मन्त्री यादवले रोजगारीको सिलसिलामा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए।