पशु मृत्यु सिफारिस दस्तुर १२ सय
नवलपुर : पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत १ हजार दुई सय रुपैयाँ दस्तुर लिएको छ । पशु बिमा रकम दाबीका लागि सिफारिस लिन पुग्ने किसानसँग नगरपालिकाले सो दस्तुर लिएको हो। किसानहरुलाई प्रोत्साहन गर्नुको सट्टा सिफारिसका नाउँमा चर्को रकम लिएको भन्दै नगरपालिकाको आलोचना हुन थालेको छ ।
कावासोती नगरपालिका–१४ की किसान संगिता तिमिल्सिनाले वडा कार्यालयमा गोठमा मरेको भैंसीको सिफारिस लिन पुग्दा दस्तुरबापत उक्त रकम दिएको बताइक्न् । तिमिल्सिनाले बुटवलस्थित एक इन्स्योरेन्स कम्पनीमा ९० हजार मूल्य राखेर भैंसीको बीमा गरेकी थिइन्। ‘घरमा पालेको भैंसी अकस्मात मर्यो । त्यसबापतको बिमा रकम लिन सिफारिस आवश्यक परेर नगरपालिका जाँदा १ हजार दुई सय तिर्नु पर्यो', तिमिल्सिनाले भनिन् ।
किसानहरुलाई प्रोत्साहन गर्नुको सट्टा सिफारिसका नाउँमा मार पर्ने गरी रकम लिन नहुने उनले बताइन् ।
वडाअध्यक्ष जीतबहादुर महतोले नगरपालिकाको निर्णयअनुसार उक्त रकम लिइएको बताए । 'मुचुल्काबापत १ हजार र सिफारिसबापत २ सय गरी १ हजार दुई सय लिइएको हो', उनले भने ।
नगरपालिकाको सभाले पास गरी निकालेको निलो किताबमा मुचुल्काबापत १ हजार र सिफारिसबापत २ सय तोकिएको छ । प्रकृति भने उल्लेख छैन ।'प्रकृति उल्लेख गर्नुपर्ने हो । त्यसो नहुँदा किसानहरु मर्कामा परेको गुनासो आएको छ । किसानहरुका बारेमा छलफल गर्छौ', उपप्रमुख प्रेमशंकर मर्दनीयाले भने ।