अब काठमाडौंमा पनि साइकल लेन
काठमाडौं। काठमाडौं महानगरपालिकाले साइकल ट्र्याक बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले चुनावअगाडि महानगरलाई साइकल सिटी बनाउने प्रतिबद्धता जनाएका थिए। महानगरले छुट्याएको बजेटसमेत बर्सेनि ‘फ्रिज’ भएर जाने गरेको थियो।
महानगरले घोषणा भएको अढाई वर्षमा बल्ल महानगरले साइकल ट्र्याक बनाउने भएको छ। महानगरले पहिलो चरणमा माइतीघरदेखि तीनकुनेसम्म ‘डेडिकेडेट’ साइकल व्यवस्थित बनाउन लागेको हो। ‘डेडिकेडेट लेनमा साइकल मात्र कुदाउन मिल्छ। यस लेनमा अन्य सवारी निषेध गरिनेछ। महानगरले लेनसँगै साइकल पार्क गर्न करिब ३० ठाउँमा पार्किङ स्टेसनसमेत बनाउने भएको छ।
यसपछि थापाथली, कोटेश्वर, टुंडीखेललगायत स्थानमा साइकल लेन बनाउने योजनामा महानगर छ। महानगरले साइकल लेन बनाउन लागेको यस सडकखण्डको लम्बाइ २.५ किमि छ। अहिले व्यवस्थित हुने लेनको चौडाइ २.४ मिटरको हुनेछ। यसमा फुटपाथको चौडाइ पनि छुट्टै २.८ मिटर हुनेछ। सहरी योजना आयोगको अध्ययनअनुसार अहिले करिब महानगरमा १ हजार २ सय ५४ साइकल चालक छन्। भएका चालकमध्ये ७६ प्रतिशतले सडकको मुख्य लेनबाट साइकल चलाउने गरेको तथ्यांक छ।
माइतीघरबाट तीनकुनेसम्म साइकल लेन ५ वर्षअघि नै बनेको थियो। तर, धेरैलाई उक्त लेनबारे जानकारी छैन। अब पार्किङसहितको व्यवस्थित साइकल लेन बनाउन लागेको महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए। ‘पहिलो चरणमा माइतीघरदेखि तीनकुनेसम्मको लेनलाई पुनरुत्थान गर्न लागेका छौं,’ उनले भने, ‘हामीले यसमा विभिन्न अध्ययन गरेर तयारी गरेका छौँ। यसपछि अन्यत्र पनि विस्तार गर्नेछौँ।’
माइतीघरदेखि तीनकुनेसम्मको साइकल लेनको योजना आयोगले डिजाइन तयार गरिसकेको उनले बताए। उनले भने, ‘एक चरण छलफल चलाएर काम सुरु गर्न लागिएको छ।’ साइकल लेनलाई व्यवस्थित बनाएर कार्यान्वयन गर्न महानगरले मंगलबार सरोकारवालसँग छलफलसमेत गरेको थियो। छलफलमा विभिन्न साइकल चालक, पत्रकार, साइकल सोसाइटीका व्यक्ति सहभागी थिए।
छलफलमा साइकल लेन व्यवस्थित गरी सबैलाई साइकल कुदाउन प्रेरित गर्नुपर्नेमा अधिकांशले जोड दिएका थिए। सहभागी वातावरणविद् भूषण तुलाधरले पहिलो प्राथमिकला पैदल यात्रुलाई दिन आग्रह गरे। उनले भने, ‘पहिलो प्राथमिकता पैदलयात्रुमैत्री सहरलाई दिनुपर्छ। त्यसपछि साइकलमैत्री सहरको योजना बनाउनुपर्छ।’ साइकल लेन बनाउँदा गाडीको बाटो कम हुने भनाइ गलत भएको तुलाधरले बताए। कुन सवारीलाई ठाउँ दिने भन्ने प्राथमिकताका आधारमा तय गरिनुपर्ने उनको भनाइ छ।