कवि हुनुमा...
काठमाडौंमा बसेर लेख्नेहरू स्वतः राष्ट्रिय कवि–लेखक ? कहिलेसम्म ?
२०६८ सालमा एसएलसी सकिएपछि प्रवीणता प्रमाणपत्र तहको पढाइका लागि घोराहीको पद्मोदय पब्लिक नमुना माविमा भर्ना भएँ। प्लस टुको पढाइ सकेर इन्जिनियरिङ पढ्ने आकांक्षा मनमा थियो। तर कक्षा १२ को अन्तिम जाँचको बेला शारीरिक अस्वस्थताका कारण इन्जिनियर बन्ने सपनामा पूर्णविराम लाग्यो। केही समयको मानसिक तनाव पनि भोगेँ। तनाव कम गर्न मेडिटेसनका रूपमा कविता लेख्न सुरु गरेँ।
कविता थेरापी बन्यो, जसले अनेक तनावबाट छुटकारा दियो। विविध महत्त्वकांक्षाबाट सिर्जित समस्याहरूबाट छुटकारा पाउने एउटा साध्य बन्यो कविता; जसले अनेक तहबाट कुनै पनि विषयमा निर्णय लिने स्थितिमा परिवर्तन ल्यायो। हरेक विषयवस्तुलाई सकारात्मक पक्षबाट केलाउन सक्ने बनायो। समय र सत्तालाई चुनौती दिनु मात्र होइन, आममानिसको व्यवहार र चेतनाको स्तरमा परिवर्तन ल्याउन सक्ने ताकत पनि कवितामा रहेछ। त्यसैले कविताको उचाइ र शक्ति बुझ्नुले मलाई कहिल्यै पनि अपशोचको स्थिति आएन।
कविता लेख्न थालेपछि समाजले मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो। कस्तो परिवर्तन त भन्दा पढेर केही गर्छ कि भन्ने बेला कविता लेख्न थाल्यो। सन्तानको इज्जत फाल्ने भयो। अब केही समयपछि खुलेआम जाँड धोक्दै हिँड्छ। गाँजा खाला। नानाप्रकारका हाइपोथेसिस।
साथीहरूले भेट हुँदा पनि नपत्याएरै, गिज्याउँदै ‘अहो ! कविज्यू’ भन्न थाले। जहाँनिर भेट भए पनि ‘लौ कविज्यू कविता सुनौं न’ भन्न थाले। तर यस्ता छेडछाडहरूले आफूलाई कहिल्यै पनि अपशोच महसुस भएन। झनै कविताप्रतिको लगाव बढ्दै गयो। चेत खुल्दै गयो। दायरा फराकिलो हुँदै गयो। कविताप्रति विश्वास नगर्नेहरू बिस्तारै बुझ्दै हिँड्न थाले। यद्यपि कविप्रति अरूको दृष्टिकोणमा अझै पनि सकारात्मक परिवर्तन ल्याउन जरुरी छ भन्ने लाग्यो। तथापि अरूलाई बुझाउन स्पष्टीकरण दिँदै हिँड्न सकिने कुरा पनि भएन।
कविता लेखेर नै प्रमाणित गर्नुपर्छ भन्ने लाग्यो। लेखन चलिरह्यो। व्यक्तिगत व्यवहारमा पनि कुनै नकारात्मक परिवर्तन आएन। त्यसको साटो व्यावहारिक पक्षमा परिपक्वता आउन थालेपछि कविता लेखाइप्रति पनि विश्वासको वातावरण बन्दै गयो। आफूलाई कविता लेख्छु, कवि हुँ भन्न पनि धक मान्नुपर्ने अवस्था रहेन।
विभिन्न स्थानमा भइरहने कार्यक्रमबाट पनि थप विश्वास बढ्दै गयो। आफूलाई पनि लेखनप्रति अझै जिम्मेवारीबोध भएजस्तो लाग्यो। विभिन्न व्यक्तित्वबाट पाइरहने सल्लाहले थप ऊर्जा पैदा भयो।
यस्ता कुरा हुँदाहुँदै पनि आफ्नै पुस्ताका समकक्षी लेखकहरू जो राजधानीबाटै आफूलाई स्वघोषित राष्ट्रिय कवि मान्छन्, उनीहरूबाट पनि हेपिनुपर्ने स्थिति आयो। कतिले हामीले कवि बनाएको हो नि तपाईलांई सम्म भन्न भ्याए। यति भनिरहँदा अघिल्लो पुस्ताले पनि माया त गर्यो, सहयोग त गर्यो तर जसले सहयोग गर्यो उसले आफ्नै फ्लेवरबाट गर्यो। आफैंले जन्माउने र आफैंले हत्या गर्ने गर्दो रहेछ केन्द्रले।
सुनेको थिएँ— कविता लेख्नेहरू अलग हुन्छन्, सत्तालाई चुनौती दिन्छन र सत्ता परिवर्तनको हात कवि–लेखकहरूमा हुन्छ। सत्ता परिवर्तनको हात लेखकहरूमा त हुँदो रहेछ तर पार्टीको कार्यकर्ता भएर झन्डामुनिबाट। जनयुद्धसँगै जन्मिएको म जनयुद्धमै होमिएर बुझ्न नसके पनि त्यो समयको वातावरणीय प्रभाव या भनौं संवेदनाले मलाई पनि अछूतो राखेको थिएन।
समयको मुद्दामा कलम उठाउने, आवाजविहीनहरूको आवाज बन्ने कवि लेखकहरू थाहा थिएन अलग साम्प्रदायिक पहिचान, गुटबन्दी र वादले जेलिएका हुँदा रहेछन्। लेखकहरूको पनि ट्रेड युनियन हुँदो रहेछ। कवि बन्नलाई थुप्रै प्रक्रिया हुँदा रहेछन् लेखनबाहेक पनि।
त्यसपछि थाहा भयो, कवि बन्न कविता मात्र लेखेर नहुँदो रहेछ। कवि बन्ने प्रक्रिया आफैंमा झन्झटिलो लाग्यो। दिक्कलाग्दो लाग्यो। त्यसपछि खासमा हामीजस्ता अहिलेको समयमा लेख्नुपर्छ भन्नेहरूलाई जुर्मुराउन खोज्नेको शिर कसरी निमोठिँदो रहेछ भन्ने कुरा पनि बिस्तारै बुझ्दै गइयो।
अझै हामीभन्दा पनि पछि राम्रो लेख्न खोजिरहेको पछिल्लो पुस्ता छ। जुन पुस्ता कवि बन्ने बाटोमा छ। दूरदराजमा अझै पनि कसैको आशीर्वाद र छाया नपुगेका नयाँ कवि, लेखकहरू छन्। जो कवि बन्ने प्रक्रिया नै नबुझेर कविता लेखनबाट रिटायर्ड हुन्छन्। उनीहरू आफूलाई कविताको सत्तामा ल्याउन कुन प्रक्रिया अपनाउनुपर्ने हो। कुन तहबाट आफूलाई कुन तहसम्म लैजान कुन मार्ग अपनाउनुपर्छ भन्ने प्रक्रिया कसले सिकाउने ? होइन भने कविता लेखेरै अघि आउने वातावरण कहिले बन्छ ? यो प्रश्न कविताको सत्तासीन पक्षले बुझ्न जरुरी छ।
आफू शक्तिमा हुनेले कहिल्यै पनि अरूलाई शक्तिमा रहेको स्वीकार गर्नै सक्दैन। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई स्वीकार गर्न नसक्नुको मूल जड नै यही हो।
अग्रजहरूसँग बसेर दुईचार कुरा सिक्न खोज्दा ज्यू, हजुर, पापड बेल्नुपर्ने। आफ्नो फ्लेवरभन्दा अरूलाई कवि नमान्ने। कम्तीमा अरूलाई पनि पढ्ने बानी बसिदिए कति हुने। सुधार गर्नुपर्ने पक्ष केलाइदिए कति हुने। तर अघिल्लो पुस्ता जहिले पनि मुद्दा भएन भन्ने तर हुनुपर्ने र लेख्नुपर्ने के हो कहिल्यै नभन्ने। आफूहरू पनि अपडेट नहुने र पछिल्लो अपडेटेड पुस्तालाई पनि स्वीकार नगर्ने स्थितिले जेनेरेसन ग्याप भएको हो। खासमा कविको कवित्व नाप्ने मानक के हो त ?
के काठमाडौं र मोफसलमा सधैंभरि दूरी रहिरहने हो ? कि काठमाडौंमा बसेर लेख्नेहरू स्वतः राष्ट्रिय कवि–लेखक हुन्छन् ? कि कवि लेखक हुनलाई केन्द्रमै आउनुपर्ने हो ? यस्ता थुप्रै प्रश्न संकलन गरेर बसेको एउटा नयाँ जमात पनि छ। जो यो खालको पर्खाल भत्काउन तम्तयार छ। उदाहरण समूह दाङले असोज १८ गते आयोजना गरी सम्पन्न गरेको दाङ लिटरेचर मिनी फेस्टिवल नाम दिइएको एउटा सेसन भएको थियो, डराइरहने दाङ, कराइरहने काठमाडौं। दाङलाई सम्पूर्ण मोफसलको विम्ब बनाइएको त्यही सेसनको अर्थ हो, राजधानीले कसरी मोफसललाई हेप्छ। कसरी अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई टेर्दैन। केन्द्रसँग सत्ता छ तर मोफसलसँग शक्ति छ। यो बुझ्न जरुरी विषय हो।
अघिल्लो पुस्ताप्रति उच्च सम्मान छ जसले नेपाली कवितालाई यहाँसम्म ल्याए। संरक्षण गरे तर अबको नेपाली कवितालाई कुन दिशामा लैजानुपर्छ भन्ने बाटो खुलस्त पनि परिदिनुपर्छ। होइन भने आफू जीवित हुँदासम्म पछिल्लो पुस्तालाई माया नगर्ने हो भने नयाँ पुस्ताले भोलिको दिनमा कविता लेखनलाई कुन दिशा देला ? होइन भने कविता लेखन पार्टीको प्रशिक्षणजस्तो होला। आफ्ना–आफ्ना गुट, आफ्नो आफ्नो फ्लेवर। यसले नेपाली कविताको भोलिको दिशानिर्देश कसरी गर्ला ? मैले यो लेखिरहँदा कुनै गुटको काखी च्यापिनलाई गरेको बठ्याइँ पनि लाग्ला कतिपयलाई। तर यो खासमा आफ्नो अस्तित्वभन्दा पनि नयाँ पुस्ता जो कविता लेखनमा सक्रिय भइराखेको छ। त्यही पुस्तालाई कसरी कविता लेखनको धावनमार्गमा अवतरण गराउने भन्ने विषय महत्त्वपूर्ण रहन्छ।
यति भनिरहँदा अघिल्लो पुस्ताले भन्ला ‘लेखेर आउनुपर्छ।’ ठीक छ त्यो स्वीकार्य तर्क हो तर ककसले लेखेका कुरामात्र सही मान्ने भन्ने प्रश्न पनि आउला।
अघिल्लो पुस्ता जो आफैंमा तहसनहस छ, खण्डित–विखण्डित छ। कसको हात शिरमा राख्नु। एक थरी छन्— पहिचान लेख भन्ने। अर्को थरी छन्— सामाजिक मुद्दा लेख भन्ने। अझै अर्को थरी छन्— कला, सुन्दरता खोइ भन्ने। आइरहेको नयाँ पुस्तालाई आफ्नो फ्लेवरमा ढाल्न खोजिरहँदा दूरदराजबाट लेखिएका कवि–लेखकहरू के कवि लेखक बन्ने प्रक्रिया नबुझेरै रिटायर्ड हुनुपर्ने हो त ? के उनीहरूले लेखेको कविता कुनै संरचनामा नपर्ने हो त ? कि गुट खोज्दै केन्द्रमा आएर कवि बन्नुपर्ने हो ?