रक्तदान उत्प्रेरक मैनालीलाई न्यूयोर्कमा सम्मान
अमेरिका : रक्तदान उत्प्रेरक अर्जुन मैनालीको सम्मानमा अमेरिकी टाउनले डिसेम्बर २८ तारेखलाई अर्जुन मैनाली दिवस घोषणा गरेको छ। अमेरिकाको न्यूयोर्क टाउनले १ सय ७२ पटक रक्तदान गरेका तथा रक्तदान गर्न प्रेरणा गर्ने मैनालीको सम्मानमा दिवस घोषणा गरेको हो।
ओएस्टर बे न्यूयोर्कको नसाउ काउन्टीको तीनमध्येको एउटा टाउन हो। यो टाउन न्यूयोर्कको महानगरीय क्षेत्रभित्र पर्दछ। न्यूयोर्कको हिक्सभिलमा बस्दै आएका मैनालीले ३२ वर्षको अवधिमा मलावी, युगान्डा, इथियोपिया, रुवान्डा, केन्या, हैटी, एक्वाडोर लगायतका विभिन्न मुलुक पुगेर रक्तदान गरिसकेका छन्। १९ वर्षको उमेर उनले पहिलोपटक रक्तदान गरेका थिए। मैनालीले अहिलेसम्म गरेको १ सय ७२ पटकको रगत दान ८६ हजार मिलिलिटर हुन आउँछ।
रगतको यो परिणामले ५ सय १६ जनासम्मलाई बचाउन सकिन्छ। न्यूयोर्क टाउनबाट सम्मान पाएपछि रक्तदाता मैनालीले भने, ‘यो सम्मान नेपाल र नेपालीका लागि गरिएको सम्मान हो, मैले खेर जाने रगत दान गर्नुस् भन्ने हिसाबले सबैलाई आग्रह गर्दछु।’ सन् १८१८ को डिसेम्बर २२ मा पहिलोपटक मानवमा रक्त प्रत्यारोपण गरिएको इतिहास छ।