ठेक्का अवधिमा आकाशेपुल नसकिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले बनाउँदै गरेको आकाशेपुल ठेक्का अवधिमा नसकिने भएको छ। महानगरले यस आर्थिक वर्षमा चाबहिल, जयवागेश्वरी र माइतीघरमा तीन वटा आकाशे पुल बनाउने भएको थियो। जसमध्ये गत असारमा महानगरले माइतीघरमा आकाशेपुल बनाउन ठेक्का लगायो। बनाउने ठेक्का कोसी विल्डर्स मोरङले पायो।
सम्झौताअनुसार ६८ लाख ७३ हजार एक सय ५३ रुपैयाँमा काम सक्ने गरी सम्झौता भएको थियो। तर, समयावधि सकिन ४ दिन मात्र बाँकी छ। काम आधा पनि भएको छैन। जमिनमुनिको समेत काम सकिएको छैन। समयमा काम नहुँदा सडकपेटी लामो समयसम्म ओगटिएको छ। पैदल यात्रुलाई हिँड्नसमेत सकस हुने गरेको छ। अहिले काम भएको ठाउँ वरिपरि घेरिएको छ।
आकाशेपुल बन्ने भागको पेटी पूरै घेरिएपछि पैदलयात्रु मुख्य सडकबाटै हिँड्न बाध्य छन्। महानगरपालिकाका भौतिक पूर्वाधार विभागका निर्देशक उत्तरकुमार रेग्मी समयमा काम पूरा नभएको स्विकार्छन्। तर, विशिष्ट पाउना आएकाले सरकारबाटै काम रोक्न अनुरोध भएअनुसार ढिला गरिएको उनले बताए। उनले भने, ‘चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सरकारले नै काम रोक्न अनुरोध गरेकाले केही समय रोकियो। त्यसपछि बंगलादेशका राष्ट्रपति आउँदा पनि काम केही ढिलो हुन गयो।’ सरकारी अवरोधका कारण काममा ढिला भएकाले ठेकेदारलाई समय थप गरिने निर्देशक रेग्मीले जानकारी दिए। ‘
ठेकेदारलाई हामीले एक महिना थप्ने भएका छौँ,’ उनले भने, ‘अबको ४५ दिनमा पुलबाट बाटो पार गर्न पाइन्छ।’ चाबहिल र जयवागेश्वरीमा पनि यही आर्थिक वर्षमा आकाशेपुल निर्माण गर्ने महानगरको योजना थियो। तर, अहिलेसम्म काम सुरुगरिएको छैन। महानगरका भौतिक पूर्वाधार विभागका निर्देशक रेग्मीले चाबहिल र जयवागेश्वरीको आकाशेपुल पनि यही वर्ष सकिने बताए। उनले भने, ‘चाबहिलको आकाशेपुल बनाउन कार्यादेश भइसकेको छ। अर्को टेन्डर प्रक्रियामा छ। अबको तीन÷चार महिनामा सबै काम सकिन्छ।’