मनाङमा खोइ त जहाज ?
बेंसीसहर : पक्की धावनमार्ग बनेको ६ वर्षपछि गत भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज पुग्यो। परीक्षण उडानका लागि गएको समिट एयरबाट हुम्डे विमानस्थल ओर्लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने पनि भाषण गरे।
‘असोज १० गते दिनभर जहाज आउँछ कि भनेर आकाश हेर्दैमा बित्यो, तर जहाज आएन’, ङिस्याङ गाउँपालिका ४, हुम्डे मनाङकी छ्युङदा गुरुङले भनिन्, ‘जहाज आउँछ भनेर भाषण गरेको तीन महिना बित्यो जहाज देख्न पाइएन।’ हुम्डेमा जहाज चलाउने नेताको प्रतिवद्धता भाषणमै सीमित भएको उनले बताइन्। मुख्यमन्त्री, मन्त्री, सांसदले भनेपछि धेरैले असोज १० गतेदेखि नियमित जहाज आउँछ भन्ने ठानेका थिए। तर, मन्त्रीले आश्वासन दिएको ३ महिनामा बित्दा पनि जहाज नआएपछि स्थानीय निराश बनेका छन्।
मनाङवासीलाई झुक्काइएको यो पहिलोपटक भने होइन। यसअघि पनि पटकपटक जहाज आउँछ भनेर झुक्काउने गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। ‘मन्त्रीले भनेपछि पत्याउनै पर्र्यो’, घलेले भने, ‘तर हामीलाई पटकपटक धोका दिइयो।’ मन्त्री लम्सालले नियमित उडानसँगै मनाङमा ४ दिने प्याकेज बनाउने घोषणा गरेका थिए। आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गरिने उनको भनाइ थियो। तर मन्त्रीको कुरा भाषणमै सीमित भयो।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जहाज उडान नहुँदा मनाङवासी समस्यामा परेको बताए। उनले सरकारी उदासीनताका कारण मनाङवासीले मात्रै नभएर पर्यटकले जहाज चढ्न नपाएको बताए। ‘हामीलाई पटकपटक झुक्काइयो,’ उनले भने, ‘बरु नसक्ने भए सकिँदैन भन्दा राम्रो हुन्छ।’ अहिले मनाङमा दैनिक २ सय ५० बढी पर्यटक आउने गरेका छन्। अधिकांश पर्यटक पोखराबाट आउने गरेका छन्। जहाज उडान हुन सके कम समय भएका उडानबाटै मनाङ आउन सक्ने उनले बताए।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मनाङमा जहाज लाने पहल भइरहेको बताएका छन्। ‘यसअघि विविध कारणले भएन। हामी छलफलमै छौं,’ उनले भने। उडानका लागि समिट एयर र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजसँग छलफल चलाएको उनले बताए। नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९÷७० मा ९ करोड रुपैयाँ खर्च गरेर धुले धावनमार्गलाई बिस्तार गरी कालोपत्रे गरेको थियो। ६ सय मिटरको धावन मार्ग ९ सय मिटर बनाइएको छ। धावनमार्ग कालोपत्रे भएपछि तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गमा जहाज परीक्षण गरिएको थियो। २०७० देखि हुम्डे विमानस्थल बन्द थियो।
कालोपत्रे भएको २ वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन। गतवर्ष एउटा ट्वीनेटर जहाजले चार्टर उडान भरेको थियो। पछिल्लो समय गएको पुस २४ र असार २० मा जहाज उडाउने तयारी गरिए पनि सफल भएको थिएन। धावनमार्ग बिस्तार र कालोपत्रे हुनुअघि साताको दुुईपटक उडान हुन्थ्यो। मनाङसम्म सडकको ट्रयाक खुलेपछि जहाजले उडान नगरेको स्थानीयको भनाइ छ। मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनेटर जहाजले मात्रै उडान भर्दै आएको थियो।
पोखरा–मनाङ उडानमा करिब २५ मिनेट लाग्छ। हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो। त्यतिबेला साताको दुई दिन उडान गरिन्थ्यो। प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर सूर्यबहादुर खत्रीले हिमपात र पानी परेको समय मनाङको आकासमा उडान भर्न नसकिने बताए।