कमेडी ट्र्याप

कमेडी ट्र्याप

मनोरञ्जनलाई ‘कमेडी’का रूपमा खुम्च्याइरहँदा फेरि एक पटक दर्शक नेपाली फिल्मबाट टाढिँदै गएका छन्।


तीन बेरोजगार युवा। पैसा कमाउनुपर्ने बाध्यता। सानोतिनो ऋणमा फसेका उनीहरूलाई प्रयोग गर्ने मनशायले उनीहरूको जीवनमा आइपुग्छन्, तेस्रो व्यक्ति। केही फिल्मी सिचुएसनपछि तीनजनाले तेस्रो व्यक्तिको इच्छाअनुसार नै काम गर्छन् तर जब अन्त्यमा पैसा बाँड्ने समय हुन्छ, तेस्रो व्यक्ति फरार। पैसा कमाएर सपना पूरा गर्ने उनीहरूको सपना ज्यूँकात्यूँ रहन्छ।

यो ‘प्रिमाइस’ हो, अघिल्लो हप्ता प्रदर्शनमा आएको ‘माछा माछा’को। दयाहाङ राईले निर्माण गरेको र सौगात मल्लले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मको समस्या के हो भने यसको मूलकथा २०६८ सालमा प्रदर्शनमा आएको ‘लुट’सँग ठ्याक्कै मेल खान्छ। यो यही फिल्म थियो जहाँबाट दयाहाङ राई र सौगात मल्लको फिल्मी यात्राको भव्य सुरुआत भएको थियो।

‘माछा माछा’, ‘लुट’ र ‘छक्का पञ्जा’को ठिमाहा सन्तान थियो। सेटअपमा ‘लुट’को अंश देखिन्थ्यो भने संवादमा ‘छक्का पञ्जा’को। तर, हलमा लाग्दा यो फिल्मले न ‘लुट’को दर्शक पायो न ‘छक्का पञ्जा’को। यो वर्षको आठ महिना सकिनै लाग्दा अपेक्षा गरिएको फिल्ममध्ये बक्स अफिसमा पानी पिउन नपाउने ‘माछा माछा’ कान्छो फिल्म थियो।

वर्षका आठ महिना तुरिनै लाग्दा जम्मा तीन फिल्मले मात्र निर्माताको अपेक्षा पूरा गरे, ‘जात्रै जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’। मुनाफा कमाउने यी तीनै फिल्मको समान विशेषता छ, कमेडी। तर, रोचक तथ्यांक के छ भने यो अवधिमा प्रदर्शन भएका ५०/६० चलचित्रमध्ये एकाधलाई छाडेर बक्स अफिसमा नजम्ने चलचित्र पनि सोही विधाका छन्। पछिल्लो समय ‘कबड्डी’ र ‘छक्का पञ्जा’को सिको गरेर जति पनि कमेडी फिल्म बनेका छन्, सबैको पैसा डुबेको छ। र यसले यो विधा कमाउने हैन गुमाउने विधाका रूपमा रूपान्तरित भएको छ। नेपाली निर्माता झलझली ‘कबड्डी’ र ‘छक्का पञ्जा’ले कमाएको पैसा सम्झेर यो विधामा लगानी गरिरहेका छन् तर तिनको सफलताको राम्ररी विश्लेषण नगर्दा हरेक हप्ता करोडौं रुपैयाँ गुमाइरहेका छन्। अन्ततः कमेडी फर्मुला फिल्म निर्माताका लागि ट्र्याप बन्दै गएको छ।

हरेक रङ व्यापारीलाई अचेल कमेडी मात्र बिक्छ भन्ने भ्रम छ। कुनै समय सामाजिक सिरियलको दबदबा रहेको नेपाल टेलिभिजनमा अचेल कमेडी सिरियलको चकचकी छ भने बाँकी टेलिभिजन च्यानलमा पनि कमेडी सिरियलकै जगजगी छ। युट्युबको उपस्थितिले कनिकुथी स्ट्यान्डअप गर्नेको पनि राम्रै भीड तयार भएको छ। यस्तै कमेडियनको बलमा कसैले रियालिटी सो चलाउन थालेका छन् त कसैले कमेडी क्लब। तर, अपवादलाई छाडेर सबै फिक्का छन्।

निर्देशक मनोज पण्डित भने बजारमा चलिरहेका कमेडीलाई कमेडी मान्न तयार छैनन्। उनको विचारमा फिल्ममा वा टेलिसिरियलमा प्रस्तुत भइरहेको कमेडी कमेडी नभई प्रहसन हो।

‘खासमा नेपालको कमेडी मह जोडीको प्रहसन हो। कमेडीका नाममा बनिरहेका हरेक कन्टेन्ट गाईजात्राको प्रहसनभन्दा माथि उठ्न सकेका छैनन्’, पण्डित भन्छन्, ‘यसमा चलेका फिल्म पनि पर्छन्। प्रहसनलाई सिनेमा भन्नुपर्ने बाध्यता छ। जुन हाम्रो दुर्भाग्य हो। ’

एक समय थियो नेपाली फिल्म राजेश हमालको ‘हे...’मा लट्ठियो। सारा निर्माता राजेश हमालको पछि लागे। व्यापार गर्ने चक्करमा यस्ता चलचित्र बने जसको नाम न आज राजेश हमाललाई सम्झना छ न तिनको निर्मातालाई। पछिल्लो समय निर्माताहरू यसरी नै कमेडीको पछि लागेका छन्। तर, अर्काको देखासिकीमा फिल्म बनाउँदा निर्माताको लगानी हरेक हप्ता डुबिरहेको छ। निर्माताहरू फेरि एक पटक कस्तो फिल्म बनाउने ? भन्ने दुविधामा फसेका छन्।

फिल्म निर्देशक विनोद पौडेल नेपाली सिनेमाको प्याराडाइम सिफ्ट हुने समय आएको बताउँछन्। अझ दर्शकले विश्वास गरेका कलाकार तथा निर्देशकले विश्वास तोड्दै जाँदा बक्स अफिसमा संकट छाएको उनको निचोड छ। पौडेल भन्छन्, ‘दर्शकले नयाँ स्वादका सिनेमा खोजिरहेका छन्। तर, हामी कमेडीका नाममा बेस्वादका फिल्म बनाइरहेका छौंैं। एक त यी सिनेमा सिनेमा जस्ता छैनन्। अझ तिनले मनोरञ्जनको ग्यारेन्टी पनि गरिरहेका छैनन्। दर्शकले पत्याएका कलाकार तथा निर्देशक पनि बजारको पछि लाग्दा यो अवस्था आएको छ।’

मनोवैज्ञानिकका अनुसार मानिस परपीडक हुन्छ। एक हदसम्म अरूले पाएको पीडा देखेर आनन्द मान्छ। संसारका सफल फिल्मले कमेडीमा अपनाएको शैली यही हो। मुख्य पात्रलाई एक हदसम्म दुःख दिने तर नेपालमा कमेडीको नाममा कलाकारको मिमिक्री र इम्प्रोभाइजेसन चलिरहेको छ। निर्देशक पण्डित नेपाली फिल्ममेकरले कमेडीको मुख्य सूत्र नबुझ्दा यो विधा नै कलुषित भएको बताउँछन्।

‘नेपाली फिल्ममेकरले कहिल्यै पनि चार्ली च्याप्लिनलाई अध्ययन गरेन। उनी कसरी महान् कलाकार तथा फिल्ममेकर भए भन्ने अध्ययन गरेको भए आज यो अवस्था आउँदैनथ्यो’, पण्डित थप्छन्, ‘कमेडी भन्ने कुरा पीडाबाट जन्मने चिज हो। मुख्य पात्रले पीडाबाट मुक्त हुन गरेको संघर्षले झन् पीडा थप्दा दर्शकमा हास्य पैदा हुन्छ। हाम्रो चैं पूरा ध्यान संवादमा छ। पात्रले हँसाउने हैन, परिस्थितिले हँसाउनुपर्ने हो। यसका लागि स्क्रिप्टमा मेहनत गर्नुपर्छ, जुन नेपाली फिल्ममा देखिँदैन।’

आफूले बनाएका फिल्म नचल्दा निर्माता/निर्देशकले कहिले हल त कहिले डेटलाई दोष दिने गरेका छन्। कति निर्माता त आफ्नो फिल्म फ्लप हुनुको दोष पत्रकार/समीक्षकको टाउकोमा पनि थोपर्न पछि पर्दैनन्। तर, कुनै पनि निर्माता/ निर्देशक आफ्ना फिल्ममाथि समीक्षा गर्न तयार छैनन्। यसको असर फेरि उनीहरू नयाँ फिल्म बनाउने र त्यसबाट घाटा खाने काम गरिरहेका छन्। अहिले कमेडी बनाउने त बनाउने भइहाले, अरू नै विधामा फिल्म बनाइरहेका निर्माता पनि बीचमा कमेडी राख्न छुटाउँदैनन्। यसले मनोरञ्जनलाई ‘कमेडी’का रूपमा खुम्च्याइरहेको छ। असर, फेरि एकपटक दर्शक नेपाली फिल्मबाट टाढिँदै गएका छन्।

निर्देशक विनोद पौडेल उद्योगलाई जीवनदान दिने हो भने फेरि एउटा विद्रोह गर्नुपर्ने आवश्यकता औंल्याउँछन्। ‘हिजो निश्चल, सौगात र दयाले विद्रोह गरेका थिए। यसले नेपाली फिल्म राजेश हमाल युगबाट मुक्त भयो। तर उनीहरू एक समयपछि स्टेरियोटाइप्ड भए। अब फेरि नयाँ पुस्ताले विद्रोह गर्ने बेला आएको छ’, पौडेलको बुझाइ छ।

घाटाको व्यापारबाट नाफाको व्यापारमा जान पौडेल अहिलेका निर्देशक निर्माता बन्नुपर्ने बताउँछन्। ‘अहिलेका काम गरिरहेका निर्देशकबाट नयाँ काम सम्भव छैन। उनीहरू प्रोड्युसर मात्र बसेर नयाँ पुस्तालाई निर्देशनको अभिभारा सुम्पन पर्छ र यो पुस्ताले पनि जे बनाए पनि त्यसको मर्म बुझेर फिल्म बनाउनुपर्छ।

ेनिर्देशक पण्डित पनि जुन विधामा काम गरे पनि त्यसको मर्म बुझ्न जरुरी रहेको बताउँछन्। ‘कमेडी सिनेमा बनाउनु अपराध होइन। तर, कमेडी भन्ने भाव कसरी उत्पादन हुन्छ त्यो कुरा चैं हामीलाई राम्ररी थाहा हुनुपर्छ’, पण्डित भन्छन्, ‘कलाकारको चर्तिकला र प्याच्चपुच्च गर्ने प्रहसन साइकिक फिल्म, फिल्ममेकर र दर्शक दुवैका लागि हानिकारक छन्।’

यो वर्ष सकिन चार महिना बाँकी छ। यो अवधिमा रिलिज हुने फिल्म पनि लगभग सोही विधाका छन्। अल्पज्ञानका साथ गरिएको यो विधामाथिको लगानीले एक त कमेडीको मर्म मारिरहेको छ, अर्कोतिर दर्शकलाई नेपाली फिल्मबाट टाढा लगिरहेको छ। अझ यही समयमा दर्शक ओटीटी (ओभर दी टप) मिडियममार्फत विश्वका उत्कृष्ट फिल्मको पहुँचमा पुग्न थालेका छन्। फिल्ममेकरले अब पनि आत्मसमीक्षा नगर्ने हो भने नेपाली फिल्म उद्योग एकादेशको कथा बन्न बेर लाग्दैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.