जेएनयूमा ‘पाँच बाइ पाँच’को डेमोक्रेसी !

जेएनयूमा ‘पाँच बाइ पाँच’को डेमोक्रेसी !

जेएनयूको त्यो एउटै रात थियो, जहाँ मैले दर्जनौं जेएनयूको कथा सुन्ने अवसर पाएँ। त्यसपछि केही थकथकी बोकेर कालेबुङ फर्किएँ।


‘हामीले गोर्खाल्यान्डको निम्ति त्यही भित्तामा त पोस्टरिङ गरेका थियौं’, गाडीको अघिल्लो सिटबाट निक्कीले पछिल्तिर चिहाइन्। र निकै उत्साहित बन्दै सुनाइन्।

मैले बाहिर हेरेँ।

उनको चोर औंलाले जहाँ देखाइएको थियो, त्यहाँ अग्लो भवनको भित्तामात्रै उभिएको थियो। जहाँ च्यातिएका कागज टाँसिएका केही अंशहरू थिए। तर, पोस्टरजस्तो केही थिएन।

मैले बिस्तारै टाउको उठाएँ। भवनको पर्खाल हेरेँ। छेउमा उभिरहेको रूखका हाँगाहरू हेरेँ। र, योजकतिर फर्केर सोधेँ, ‘अब जेएनयूमा पनि लगाम लगाउने तयारी गरेकै हो त ? ’

योजक हल्का मुस्कुरायो र भन्यो, ‘लगाम ? ’

त्यसपछि अलि लामो श्वास तान्यो र फेरि थप्यो, ‘यहाँ चार जनाभन्दा धेरै हिँड्दा १४४ धारा मात्रै लगाएको छैन। अरु सरकारले गर्नसक्ने सबै गरिसके।

सरकार विचारसँग यति धेरै किन डराउँछ हँ ? ’


जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् जेएनयू। जहाँ पढ्ने मैले कहिल्यै सपना देखिनँ। मलाई त थाहै थिएन, जेएनयू गरिबहरू पनि पढ्ने विश्वविद्यालय हो। म जहाँ जन्मेँ, त्यो ठाउँको निम्ति त सिलिगुडीकै नर्थ बंगाल युनिभर्सिटी पनि सपनासरह थियो। जेएनयूको के कुरा गर्ने ?

हो। विश्वका सर्व श्रेष्ठ विश्वविद्यालको सूचीमा पर्छ जेएनयू, जहाँ पढ्ने सौभाग्य यो जुनीमा त मैले पाइनँ। तर, ‘फातसुङ’को कारण मैले त्यो विश्वविद्यालयको धरती टेक्ने अवसरचाहिँ पाएँ। जहाँ उभिने सपना भारतका हरेक पहिलो श्रेणीका विद्यार्थीसँग हुन्छ।

जेएनयू विश्वमै प्रसिद्ध छ। हरेक प्रसिद्ध थोकमा अलिकति विवाद त आफंै टाँसिएर आइहाल्छ। त्यसैले त जेएनयू पनि विवादहरूदेखि अलग छैन। आज पनि जेएनयू घरिघरि विवादहरूसँग नै रहन्छ। किनकि, त्यहाँ सरकारको भाषण कम र आममान्छेको कुरा धेर बोलिन्छ। संसारका जुनसुकै कुनामा किन नहोस्, कसैको आवाज दबाइँदै छ भने, त्यो आवाज बोल्ने स्वर जेएनयूकै त हुन्छ।

तपाईंलाई थाहा छ नि होइन ? अहिले पनि जेएनयूका विद्यार्थी सडकमै आएर प्रदर्शन गरिरहेका छन्। फी हाइकको विरुद्ध चलिरहेको नाराबाजी अहिले पनि त्यहाँ जारी छ। भारतमा यो मात्रै एउटा यस्तो विश्वविद्यालय हो, जहाँका विद्यार्थीले एक रुपैयाँ मात्रै फी बढ्दा पनि आन्दोलन गरेको इतिहास छ। एक रुपैयाँ बढ्दा त के आन्दोलन गर्ने हौ ? तपाईंलाई यस्तै लाग्ला। तर, त्यहाँ पढ्नेहरूलाई लाग्दो रहेछ, ‘यो त गरिबहरू पढ्ने विश्वविद्यालय हो। जहाँको फी दुई रुपैयाँदेखि तीन रुपैयाँ बनाउने आँट जुन सरकारले गर्छ, भोलि त्यही सरकारले तीन सय बनाइदिन्छ। अनि ? भोलि हामीजस्ता गरिब विद्यार्थीले कहाँ गएर पढ्ने त ? ’

जेएनयू, जहाँ विचार गर्न सिकाइन्छ। प्रश्न गर्न सिकाइन्छ। हरेक कुरामाथि स्वतन्त्रसँग बोल्न सिकाइन्छ। कश्मीरको कुरा, प्यालेस्टेनको स्वतन्त्रताको कुरा, दार्जिलिङको समस्याको कुरा, महाराष्ट्रका किसानका कुरा, दलितका कुरा, जनजातिका कुरा। हरेक मुद्दामाथि त्यहाँ विमर्श हुन्छ। चर्चा हुन्छ। पोस्टरिङ हुन्छ। विरोध प्रदर्शन हुन्छ। त्यही भएर त सरकारलाई जेएनयूसँग जहिले एलर्जी हुन्छ।

खासमा हाम्रो समाज महाश्वेता देवीले हजार ‘चौरासीकी मा’मा उठान गरेको पात्रहरूको कथाजस्तै छ। माथिबाट हेरे, सबै ठीकै लाग्छ। केहीले नोकरी पनि पाइरहेका छन्। केहीले व्यपार पनि गरिरहेका छन्। केहीले राम्रै खान लाउन पाइरहेका छन्। केहीले मोजमस्ती गरिरहेकै छन्। त्यसैले अलिमाथि हुनेहरूलाई लाग्छ, ‘सबै ठीकै त छ। किन अर्काको निम्ति सोच्ने ? किन पीडाको कथा सुन्ने ? ’

तर, जब जमिनबाट हेरिन्छ। हरथोकमा समस्या देखिन्छ। समाजको समस्या। जातको समस्या। वर्गको समस्या। महँगाइको समस्या। बेरोजगारीको समस्या। प्रणालीको समस्या।

भारत विश्वकै बृहत् गणतान्त्रिक देश हो। तर, गणतन्त्र भनेको संख्याहरूको खेल पनि त हो। जहाँ ठूलो र शक्तिशाली समूहले आफूभन्दा कमजोरलाई जहिल्यै थिचिरहेको हुन्छ। उनीहरूको अधिकार मिचिरहेको हुन्छ।

भारतीय गणतन्त्र भनेको त्यही संख्याहरूको गणतन्त्र त हो, जहाँ ठूलो माछाले जहिले सानो माछालाई खाइरहेको हुन्छ। यो क्रम त तल भुइँसम्म नै जारी छ।

खासमा जेएनयूमा त्यही भुइँका विद्यार्थी पनि पढ्न पुग्छन्। किनकि, जेएनयूको निर्माण वास्तवमा त्यसैको निम्ति गरिएको थियो। भारतका पहिलो प्रधानमन्त्रीको नाममा बनाइएको यो विश्वविद्यालय एक समय उनकै दल कंग्रेसलाई पनि समस्या बनेको थियो। जति बेला भारतमा इमेर्जेन्सी लागू भयो, त्यो बेला इन्दिरा गान्धी जेएनयू पुग्दा कालो झन्डा देखाइएको थियो। अहिलेको सत्तासीन दलको निम्ति त जेएनयू ठूलै चुनौती बनेको छ। त्यही भएर त राष्ट्रवादको नारा अलाप्ने दलहरूले मिडिया लगाएर नै जेएनयूको अलग अनुहार देखाउने कोसिस गरिरहन्छ। त्यहाँका विद्यार्थीको निधारमा देशविरोधीको नेमप्लेट टाँस्ने प्रयास गरिरहन्छ।

जेएनयूमा एक सेमेस्टरको खर्च कति ?

‘बीए लेभलको निम्ति वार्षिक २५० मात्रै।’

त्योभन्दा माथिको निम्ति ?

वार्षिक २८७ रुपियाँ जति होला।

सुनेर म तीनछक्क परेँ। त्यतिमात्रै होइन, त्यहाँ महिलाका निम्ति पनि छुट्टै आरक्षण हुन्छ। कुनै सुदूर गाउँबाट कोही भर्नाको निम्ति पुगोस्, उसको निम्ति छुट्टै अंक दिइन्छ।

बुझेपछि लाग्यो, ‘त्यहाँ त गरिबभन्दा गरिब विद्यार्थीले पनि पढ्न सक्छन्। ऊसँग दक्षताचाहिँ हुनु पर्‍यो। त्यही भएर त, जेएनयू पुग्नसक्ने विद्यार्थीको टाउकोमा दिमागमात्रै हुँदैन। वर्षौंदेखि दबाइँदै आएको आवाज पनि ऊसँगै त्यहाँ पुग्छ।

थिचिएका त्यही विचारहरूले जब मञ्च पाउँछ, तब त जेएनयू विवादमा पर्छ।’


अँ।

त्यो मेरो जीवनकै पहिलो जेएनयू यात्रा थियो।

हामी कम्पाउन्डभित्र छिरिसकेका थियौं। निक्की निकै खुसी थिइन्। उनी मलाई जेएनयूको कथा पालैपालो सुनाउँदै थिइन्।

कथा गर्दै हामी एउटा रातो इँटाले उभिएको भवनअघि पुग्यौं। त्यसैलाई देखाउँदै उनले थपिन्, ‘हामी क्यान्टिन आइपुग्यौं। दा केही खानुस् न। ल !’

खासमा मलाई भोक लागेको थिएन। घाम निकै चर्किएको थियो। दिल्लीको गर्मीले बाहिर उभिनै नसक्ने अवस्था थियो। त्यही भएर चिसोको निम्ति पनि क्यान्टिनभित्र छिर्नैपर्ने भयो।

मैले स्वीकृतिको टाउको हल्लाइदिएँ। हामी भित्र गयौं। सिँडीबाट ओर्लेर ग्राउन्ड फ्लोरमा पुग्यौं।

टेबलमा बसेर लस्सी अर्डर गरेका मात्रै थियो। एकजना अग्ला मानिस म भए ठाउँमा आइपुगे।

उनी पीएचडी गर्दै गरेका छात्र रहेछन्। हाफ पाइन्टमा नै आइपुगेका उनको अनुहारमा हल्का दाह्री थियो। आउनासाथ उनले चिम्सो आँखा ठूलो पार्दै सोध्यो, ‘निक्की ! हामीले पोस्टर टाँस्ने भित्ताहरू देखाइदियौं त ? ’

निक्कीले कञ्जुस हाँसो अलिकति हाँसिन्। र भनिन्, ‘पल्लो भित्तामा एउटा पोस्टर बँचेको छ। त्यो भरै देखाइदिन्छु। अहिलेलाई त पोस्टर टाँस्ने भित्तामात्रै हेर्नु भो।’

त्यसपछि अग्लो मानिसले मेरो अनुहारमै हेरे। र भने, ‘अहिले त पोस्टरधरि टाँस्न दिँदैन नि ? हाम्रो जेएनयूको कथा त मायालाग्दो पो छ त ? ’

मायालाग्दो कथा ? लस्सी पिउँदै म मुस्कुराएँ, ‘किन नि ? ’

उनी दिल खोलेरै हाँसे। र भने, ‘सरकारलाई पीडति र शोषितहरूको आवाजसँग इरिटेटिङ हुने रहेछ। हामी त्यही आवाज घरिघरि बोलिरहन्छांै। त्यै भएर, उनीहरू हाम्रो ढाड फुस्काउन लागिपरेका छन्।’

मैले उनको अनुहारमा एकटकले हेरेँ। उनले आफ्नो कथा सुरु गरे,

‘यहाँ हरेक मुद्दामाथि बोल्न सकिन्छ। रातभरि स्वतन्त्रतासँगले कम्पाउन्डभित्र हिँड्न सकिन्छ। यहाँ न कुनै विभेद छ। न महिलालाई कुनै डर छ। दिल्लीमा हरसमय बलात्कारको घटना भइरहन्छ। तर, जेएनयूभित्र राति जतिसुकै बेला एउटी केटी खुल्लासँग हिँड्न सक्छिन्। एउटालाई अर्कोसँग कुनै सरोकार हुँदैन। यो स्वतन्त्रता त देशको अर्को ठाउँमा सायदै छ।

एउटा समय त यस्तो नि थियो। यहाँ रातभर पोस्टर टाँसिन्थ्यो।

सिरियाको मुद्दा। कश्मीरको मुद्दा। गोर्खाल्यान्डको मुद्दा। प्यालेस्टाइनको मुद्दा। मजदुर आन्दोलन। महिला आन्दोलन। जनजातिको आन्दोलन। दलितहरूको आन्दोलन। किसानहरूको आन्दोलन। हरेक मुद्दामाथि यहाँ चर्चा हुन्थ्यो। पोस्टरिङ गरिन्थ्यो। त्यो बेला आफ्नो वालमा अरूले पोस्टरिङ नगरून् भनेर हामी रातभरि स्पेस जोगाउन रुँगेर बस्थ्यौं। अब त्यो पूरै बन्द गरिसकेको छ। पोस्टर टाँस्नलाई निषेध गरिएको छ। लगाइएका वालका पोस्टरहरू उप्काइएको छ। कसैले नयाँ पोस्टरिङ गरेको भेटे कारबाही गरिन्छ। किनकि उनीहरू चाहन्छन्, ‘सरकारलाई इरेटेटिङ नगरून्।’

केही सालअघिको कुरा हो।

युनिभर्सिटी ग्रान्ट्स कमिसन (यूजीसी)को एउटा नियम देशमा लागू हुँदै थियो, जो विद्यार्थीको हितविरुद्ध थियो। त्यो बेला कन्हैया कुमारहरू हामीसँगै थिए। सँगै क्यारेमबोर्ड खेल्थ्यौं। त्यो नियमबारे अरू विश्वविद्यालयसम्म कुरा पुगेकै थिएन। तर, हामीलाई लाग्यो— जेएनयूले त यसको विरोध गर्नैपर्छ। अनि हामीले विरोध प्रदर्शन सुरु गर्‍यौं।

त्यो हाम्रो ठूलै संघर्ष थियो, जसलाई विश्वविद्यालको प्रशासनले बिस्तारै दबाउन लाग्यो। हामीलाई फ्रिडम स्क्वाइरमा प्रदर्शन गर्न वञ्चित गराइयो। नारा लगाउने ठाउँसम्म उनीहरूले तय गरिदिन थाले। बिस्तारै प्रशासनमा धरि फेरबदल गर्दै उनीहरूको मान्छे राखिन थाल्यो।

चर्को विरोधपछि नियममा केही त फेरबदल गरियो तर हामीलाई भिक्टिमाइज गर्न सुरु गरियो। मलाई होस्टेल ट्रान्सफर गरेर पल्लो छेउ पुर्‍याइदियो। कारण बताऊ नोटिसहरू दिइन सुरु गरियो। होस्टेलहरूतिर सीसी क्यामेरा लगाउने कार्य सुरुभयो।

हाम्रा केही साथीले सीसी क्यामेरा उखालेर फ्याँकिदिएछन्। अहिले त्यो सबै ठाउँमा छैन। तर, पनि सरकारको नजर हामीप्रति राम्रो छैन। यो सबैभन्दा सस्तो र सबै भन्दा राम्रो विश्वविद्यालय हो। यहाँ देशका कुनाकुनाबाट पनि गरिब विद्यार्थी पढ्न आउँछन्। तर, यसलाई निजीकरण गर्ने कोसिस सुरु हुन थालेको छ।

यसो भइदिए, पछाडि परेका गरिब विद्यार्थीले भोलि कहाँ पढ्ने त ?

हाम्रो संघर्ष यसको निम्ति पनि हो। र, त्यो स्वतन्त्र स्पेसको निम्ति पनि हो, जो सरकारले जेएनयूलाई दिएको होइन। तर, जेएनयूका विद्यार्थीले आफंै बनाएको हो, जसलाई हामी बचाइराख्न चाहन्छौं। तर, यो निकै गाह्रो कुरा हो। जो बिस्तारै हाम्रो हातबाट फुत्किँदै गइरहेको छ। अचेल सानो कार्यक्रम गर्न परे पनि अनुमतिका निम्ति घण्टौं पर्खिनुपर्ने अवस्था छ। राति खुला बहस र बैठकहरू गरे, लाइट काटिदिने चलन सुरु हुन थालेको छ।

सबभन्दा दुःखद कुरा त मिडियाको चलखेलसँग लाग्छ। खास कुरा भारतीय मिडियाहरूले देखाउन छाडिसकेको छ। कन्हैयालाई राष्ट्रविरोधी बनाएकै घटना हेर्नुस्। अहिले काश्मीरकै एजेन्डालाई हेर्नुस्। कसरी मिडियाले मुद्दालाई डाइभर्ट गरिदिएको छ !

केही वर्षअघि जेएनयूभित्रबाटै नाजिब अहमद फरार भए। जो भर्खर गाउँबाट पढ्नलाई दिल्ली आएका थिए। उनलाई एउटा दलको घोषणापत्र लिन अस्वीकार गरेकै कारण हत्या गरिएको आशंका गरिन्छ। तर, आजसम्म उनी निखोज छन्। उनको परिवारले आजसम्म न्याय पाउन सकेको छैन। दिल्ली पुलिसदेखि सीबीआईसम्मले जाँच गर्‍यो। तैपनि दोषी पक्राउ परेको छैन।

यस्तो मुद्दा उठाइए, लगेर आईएसआईएससँग जोडिदिन्छ। नत्र, राष्ट्रविरोधीको संज्ञा दिइन्छ।

हामी त सबैभन्दा पहिले मानवताको पक्षधर हौं। यसैको निम्ति बोल्ने मञ्च ती भित्ताहरू बनेका थिए, जहाँ हामी रातदिन पोस्टरिङ गथ्र्याैं। तर, आज त्यो पूरै बन्द गरिदिएको छ।

केही ठाउँमा पाँच बाइ पाँचको बोर्ड राखिदिएको छ। अब हामीले पोस्टर पनि उनीहरूको साइजमा त्यहाँ टाँस्नुपर्ने अवस्था छ।

सोच्नुस्,

उनीहरूको साइजभित्र अटाउनुपर्ने आवाज कति बलियो होला त ?

खासमा, अहिले त जेएनयूमै पाँच बाई पाँचको मात्रै डेमोक्रेसी बाँचेको छ। त्यही साइनबोर्डभित्रको डेमोक्रेसी क्या !

उनले कथाको बिट मारे। मैले गिलासको अन्तिम घुट्की लस्सी पिएँ।


ए हो त !

मैले तपाईंहरूलाई भन्नै भुलेछु। म जेएनयू पुगेको खासमा नेपाली भाषा मान्यता दिवसको कार्यक्रमका निम्ति हो। जहाँ मैले आफ्नै उपन्यास फातसुङबारे बोल्नु थियो। अनि, यहाँको पठन संस्कृतिमाथि केही कुरा गर्नु थियो, जुन कार्यक्रम बेलुकी अलि अबेर गरेर सुरु भयो।

जे होस्, गोर्खा स्टुडेन्ट्सको त्यो कार्यक्रममा भाषाको कुरा गरियो। किताबको कुरा गरियो। असममा लागू भएको एनआरसीमाथि चर्चा गरियो। त्यसपछि आलुदम र सेलरोटी खाएर कार्यक्रम सिध्याइयो।

रातको ११ बजेको हुनुपर्छ, हामी फेरि एकजुट भयौं र जेएनयूको कथा गर्न थाल्यौं। तर, कथा सुरु हुन पाएकै थिएन। हामीले त्यो भवन छोड्नुपर्ने निर्देश आयो।

१२ बज्न लागेको थियो। हामी दोस्रोचोटि बाहिर निस्कियौं। मध्य रात भए नि त्यहाँ विद्यार्थीको चहलपहल घटेको थिएन। हामी एउटा बन्द ढाबाको अघिल्तिर पुग्यौं।

मैले चिया पिउन मात्रै सुरु गरेको थिएँ। अघिकी कार्यक्रम सञ्चालिकाले आफ्नै कथा सुरु गरिन्,

‘२०१६ तिरको कुरा हो। जति बेला जेएनयू मेरोनिम्ति ड्रिम युनिभर्सिटी थियो। जेएनयू पढ्ने सपनाले नै मलाई सिक्किमदेखि दिल्ली ल्याइपुर्‍याएको हो।

जब मेरो भर्ना भयो , त्यो बेला मसँग पैसा थिएन। मेरी साथी विनीता थिइन्। उनले जेएनयूको जम्पर किनिदिइन्। त्यो जम्पर लगाउँदा म कति धेरै खुसी भएकी थिएँ, त्यो यहाँ बताउन सक्दिनँ। म बाहिर कहीँ जाँदा नि त्यही जम्पर लगाउँथेँ। त्यो लाएपछि आफैंलाई गर्व अनुभव गर्थे।

तर, महिना दिनपछि नै नयाँ समस्या सुरु भयो।

म पुगेको पछिल्लो महिनाको कुरा हो। कश्मीरी विद्यार्थीले त्यहाँ एउटा कार्यक्रम आयोजना गरेका थिए, जो अफजल गुरुसँग सम्बन्धित थियो।

अफजल गुरुलाई भारतको संसद्माथि आक्रमण गरेको अभियोगमा फाँसी चढाइयो। तर, उनको मुद्दासँग जोडिएका केही विवाद पनि छन्, जो जहिले जेएनयूमा उठिरहन्छ।

त्यो दिन एक सयजति कश्मीरी विद्यार्थीले त्यही सम्बन्धित कार्यक्रम गरिरहेका थिए। केहीले कविता सुनाइरहेका थिए। केहीले कथा सुनाइरहेका थिए। त्यो साबारमति ढाबा नजिकको घटना हो।

त्यसको ठीक विपरीततिर अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का एक दर्जन विद्यार्थी भेला भएका थिए। उनीहरू कश्मीरी विद्यार्थीविरुद्ध काउन्टर प्रदर्शन गरिरहेका थिए। बारम्बार नारा लगाइरहेका थिए, ‘भारत माताकी जय !’

यस्तो प्रदर्शन त जेएनयूमा हुन्छ। त्यसैले मैले खासै ध्यान दिइनँ। तर, केही साँझ परेपछि नै त्यहाँ झडपको माहोल बन्यो। सायद त्यो बेला बाहिरका मानिसहरू पनि काउन्टर प्रदर्शनमा सामेल भइसकेका थिए।

ठीक त्यही बेला हो, जेएनयू स्टुडेन्ट युनियनका अध्यक्षलाई बोलाइयो।

मैले पहिलोचोटि चिनेँ— उनी कन्हैया कुमार हुन्।

त्यसपछि कन्हैयालाई पक्राउ गरियो। म त छक्क परेँ, घटनासँग उनको कुनै सम्बन्ध थिएन। तैपनि किन पक्राउ गरिएको ?

साथीहरूले सुनाए, विद्यार्थीको जुनसुकै कार्यक्रम हुँदा नि अध्यक्षको हस्ताक्षर चाहिन्छ। सायद उनकै अनुमतिपछि नै काश्मीरी विद्यार्थीको कार्यक्रम भएको थियो। र, त्यही कार्यक्रमका कारण झडप भएकाले उनलाई पक्राउ गरिएको हो।’

अहँ तर होइन रहेछ। पछि पो हामीले बुझ्यौं, कन्हैयालाई त देशविरोधीको आरोप लगाइएको रहेछ। राष्ट्रिय मिडियाले आरोप लगाएको रहेछ, ‘जेएनयूमा पाकिस्तान जिन्दावादको नारा लगाइयो।’

त्यही दिन मैले पहिलोचोटि बुझेँ, ‘मिडियाले कसरी आममान्छेको भावनासँग खेल्छ।’

त्यो बेला त म नयाँ थिएँ तर आजसम्मको अनुभवले भन्छ— जेएनयूको कुनै सामान्य विद्यार्थीले त्यस्तो नारा लगाउँदैनन्। अझ त्यो झडपमा त कन्हैया थिएनन् पनि। भए नि, उनले कसरी त्यस्तो नारा लगाउन सक्छन् र ?

तर, यो कुरा मैले कसकसलाई बताउँदै हिँड्नु ?

त्यो घटना खासमा जेएनयूलाई बदनाम गराउने खेला रहेछ। यसका निम्ति लामो समयदेखि षड्यन्त्र बुनिएको रहेछ, जो हामीले पत्तै पाएनौं।

जब विनीताले किनिदिएको जेएनयूको जम्पर लगाएर क्याम्पसबाहिर हिँड्नै नसक्ने स्थिति बन्यो, तब पो मैले बुझँे, सरकारले जेएनयूको स्वतन्त्रता खोस्ने खेला सुरु गरिसकेको रहेछ।

त्यो बेला त अवस्था कति भयानक थियो भने हामी सबै राष्ट्रविरोधी बनिसकेका थियौं। जेएनयूभित्र सधैंको जस्तो पढाइ हुन्थ्यो। सधैंको जस्तो प्रदर्शन भइरहन्थ्यो। तर, टीभीले बाहिर अर्कै कुरा देखाइरहन्थ्यो। र मानिसहरू हामीलाई सोध्थे, ‘पाकिस्तान जिन्दावादको नारा चैं किन लगाउनु ? ’

हामीले बाहिरबाट जेएनयू फर्किने रिक्साधरि पाउन छाडिसकेका थियौं। जेएनयू भन्नासाथ उनीहरू टाउको अर्कोतिर फर्काउँथे। यहाँसम्म कि गुगलमा राष्ट्रविरोधीहरूको गड कहाँ हो ? सर्च गरे जेएनयूलाई देखाइन्थ्यो।

अनि त सरकारले जेएनयूको प्रशासनमा अझ धेर उनीहरूको मान्छे राख्न थाले। हाम्रो स्वतन्त्रताको हरेक कुरामा हमला गर्न सुरु गरे, जुन ठाउँमा चौबीस घण्टा ढाबा खुला रहन्थ्यो। ती ढाबालाई रातको ११ बजे बन्द गरिन थालियो।

ढाबा बन्द गरेर के भो त ? हामीले बाहिर निस्कन छाडेनौं। हामी केही साथीसँग एकजुट बन्यौं र आफ्नै नयाँ ढाबा खोल्यौं। जसको नाम राख्यौं, ‘गोरिल्ला ढाबा’।

त्यहाँ हामी पैसा संग्रह गरेर चिया बनाउँथ्यौं। त्यही चिया पिउँदै राति हामी स्वतन्त्रताको गफ गथ्र्यौं। एकेडेमिक कुरा गथ्र्याैं। हरेक समस्यामाथि चर्चा गथ्र्यौं।

तर, त्यो पनि प्रशासनलाई सहन भएन। उनीहरूले नयाँ निर्देश जारी गरे, ‘रातको ११ बजेपछि केटीहरू होस्टेलबाट बाहिर निस्कन पाउने छैनन्।’

जेएनयूमा जुन सम्मान र स्वतन्त्रता महिलाले देख्छन्, त्यो मलाई लाग्दैन कि देशको कुनै अर्को ठाउँमा छ। हामीले त्यहाँ हरेक कुरा संकोचबिना गर्न सक्थ्यौं। प्रशासनले अब त्यही स्वतन्त्रतामाथि आँखा गाडेको थियो। उनीहरू भन्थे, ‘अब केटीहरूले रातको ११ बजेपछि होस्टेल छाड्न पाउने छैनन्।’

हामी त्यति मायालाग्दा केटीहरू पनि त थिएनौं। त्यसपछि हामीले ठीक उल्टो घोषणा गरिदियौं। हामी ११ बजेसम्म बरु आफ्नै रुमभित्र बस्छौं तर त्यसपछि जम्मै केटीहरू बाहिर निस्किन्छौं। हामीले त्यो लडाइँलाई ‘पिँजडा तोडौं’को संज्ञा दिएका थियौं।

ठीक रातको ११ बजे हामी होस्टेलबाट बाहिर निस्किन थाल्यौं।

प्रशासनलाई धेरै समस्या भइरहेको थियो। उनीहरू हामीलाई दबाउन नसकेकोमा मुर्मुरिइरहेका थिए। तर, एडमिनको अघि हामीले जुन प्रदर्शन गथ्र्यौं, त्यसमा रोक लगाइसकेको थियो। हामीलाई प्रशासनिक कार्यालयदेखि कोसौं टाढामात्र प्रदर्शन गर्ने अनुमति दिइएको थियो। त्यसपछि उनीहरूले पर्चा र पोस्टरतिर पनि रोक लगाउन थाल्यो।

एउटा समय यस्तो थियो। जेएनयूको पर्चामात्रै पढे पनि सामान्य सिभिल परीक्षा उत्तीर्ण गर्न सकिन्थ्यो। कसैले एउटा मुद्दाको पक्षमा पर्चा बाँडे, विरोधमा अर्कोले बाँडरिहेका हुन्थे। अनि, त्यो दुवैको अडान गलत रहेको भन्दै अर्को समूहले नयाँ पर्चा बाँडिरहेको हुन्थ्यो।

थेसिस, एन्टिथेसिस र सिन्थेसिस के हुन्छ ? त्यो पर्चा पढेर बुझ्न सकिन्थ्यो।

मलाई मार्कसिज्मसँग कुनै सरोकार छैन। मैले न माक्र्सको थ्योरी गहिरोसँग पढेकी छु। न त लेनिनको सिद्धान्त घोकेकी छु। त्यसैले कसैले मलाई लेफ्टिस मान्छ भने त्यो उसको भ्रममात्रै हुनेछ।

तैपनि यहाँ आएर मैले दलितको समस्यालाई देख्दा दुख्न सिकेकी छु। जनजातिको अधिकार खोस्दा बोल्न सिकेको छु। देशको कुनै पनि कुनाको किन नहोस्, पीडित मान्छेको आवाजलाई दबाइँदै छ भने ऊसँगै उभिन सिकेकी छु।

खासमा सरकारलाई समस्या त्यहीँ त हुँदो रहेछ नि। उनीहरूलाई लाग्दो रहेछ, ‘विद्यार्थीहरू जेएनयू आऊन्। पढाई गरून् र आफ्नै लागि मात्रै सोचून्। फर्केर नोकरी गरून्। तर, देशको दुर्दशाबारे केही नसोचून्। समाजको विसंगतिमाथि प्रश्न नगरून्। खासमा सरकार सोंचहरूदेखि डराउने रहेछ। प्रश्नहरूदेखि तर्सिने रहेछ।’

म त सिक्किमको अति सामान्य परिवारमा हुर्किएकी केटी हुँ, जहाँबाट एउटा सपनासँग जेएनयूमा आइपुगेकी हुँ। यहाँ आउनेहरू अधिकांश मेरोजस्तै परिवारकाहरू त छन्। त्यसैले त हामीलाई लाग्छ— गरिब पीडित र शोषितहरू भनेका सबै हामीजस्तै हुन्छन्। हामी सबै उनीहरूका साथीहरू त हौं। उनीहरूको आवाजलाई कुनै पनि किसिमले दबाइँदै छ भने हामी कसरी चुप लाग्न सक्छौं र ? जेएनयूमा सिक्ने सबैभन्दा ठूलो कुरा त्यही त हो।

त्यही भएर त हामी हरेक मुद्दामाथि आवाज उठाउने कोसिस गर्छौं। यसो गर्दा कसैले हामीलाई राष्ट्रविरोधीको संज्ञा दिन्छ भने पनि दिइयोस्। हाम्रो भन्नु केही छैन। किनकि, बाटोमा भुक्ने हरेक कुकुरलाई ढुंगा हिर्काई बस्यौं भने त कहिले टुंगोमा पुगिने ? होइन र ? ?

उनले लामो सुस्केरा तानिन् र मेरो अनुहारमै हेरिन्। मैले नाडीको घडी हेरेँ। त्यो बेला बिहानको ३ बजिसकेको थियो।


जेएनयूको त्यो एउटै रात थियो, जहाँ मैले दर्जनौं जेएनयूको कथा सुन्ने अवसर पाएँ। त्यसपछि केही थकथकी बोकेर कालेबुङ फर्किएँ। किनकि, पहिल्यै फर्किनलाई हतार गरेकोमा अहिले मलाई पछुतो लागिरहेको थियो। यतिबेला पनि मलाई लागिरहेछ— मैले किन त्यहाँबाट भोलिपल्ट नै फर्किनलाई टिकट गर्न अह्राए ?

खासमा मलाई पनि जेएनयू जानुअघि लागेको थियो— जेएनयूको स्तर अर्कै हुन्छ। त्यहाँ हुनेखाने परिवारमा हुर्केकाहरू मात्रै हुन्छन्। हामीजस्ता हुँदा खाने परिवारमा हुर्केकाहरूलाई एडजस्ट हुन गाह्रो हुन्छ। तर, पुगेपछि मेरो त्यो भ्रम टुट्यो।

त्यो दिन कथा सुनाउने पात्रहरूलाई यति बेला खुब सम्झिरहेको छु। उनीहरूसँग भेला भएका अरू एक दर्जन साथीहरू पनि थिए, जसको अनुहार मेरो दिमागमा अहिले पनि घुमिरहेकै छ। ती हरेक अनुहारसँग आफ्नै आवाज थियो र त्यो आवाज जहिले सिस्टमको विरुद्ध बोलिरहेकै हुन्थ्यो।

अहिले म सोचिरहेको छु, ‘जेएनयू त धरतीको त्यो टुक्रा हो, जहाँ उम्रिएका विचारका रूख पीपलका बीजझैं हुन्छन्। जसलाई हावाले उडाएर जहाँसुकै किन नपुर्‍याऊन् ? ढुंगाकै चेपबाट पनि अलिकति टाउको त उठाउने कोसिस गरेकै हुन्छ।’

त्यही भएर त हो, जेएनयूका कोही विद्यार्थी राष्ट्रको मिडिया लाइनमा आऊन्, उनको आवाज थोरै अलग सुनिन्छ। कोही अर्थविद् बनून्, उनको विचार थोरै अलग देखिन्छ। कोही लेक्चरर बनून्, उनको सोच थोरै अलग बुझिन्छ। अर्थात्, जेएनयूका विद्यार्थी समाजको जुनसुकै तप्कामा किन नपुगून् ? थोरै अलग नै देखिन्छन्। सरकार डराउने भनेको आखिर त्यही अलगहरूसँग त रहेछ नि। जसले उसको हैकमको विरोध गर्नसक्छ। सिस्टमको सेतो र कालो रङ छुट्याइदिन सक्छ। यही एउटा कारण त हो, जसको निम्ति सरकार जेएनयूको ढाड भाँच्न चाहन्छ। उसलाई सधैं लागिरहन्छ— जेएनयू विचारहरू जन्माउने संस्थान होइन, डिग्री लिएर फर्किने विद्यार्थीहरूको फ्याक्ट्री बनोस्।

आजको जेएनयूको संघर्ष खासमा यतिकै निम्ति हो, जेएनयूलाई फ्याक्ट्री बन्न दिने हो वा त्यो संस्थान नै यथावत् राख्ने हो ? जसका निम्ति जेएनयूको निर्माण गरिएको थियो। जसको निम्ति जेएनयूलाई आज दुनियाँले चिनेको छ। र, जुन जेएनयूको जरुरत भोलिको समाजलाई अझ धेरै पर्नेछ।

यो संघर्षको कथा सुनाउने ती पात्रहरूलाई सम्झिँदा मात्रै पनि म रोमाञ्चित भइदिन्छु।

तर के गर्ने, मसँग स्वतन्त्रताको त्यति ठूलो स्पेस छैन, जहाँ उनीहरूको नाम कसैलाई सुनाउँदै हिँड्न सकूँ ! त्यही भएर त मैले यहाँ पात्रहरूको कथा लेखेँ, तर नाम लेखिनँ। केवल निक्की र योजकको नाम मात्रै उल्लेख गर्न मैले यसकारण उचित सम्झिएँ। किनकि उनीहरू जेएनयूका विद्यार्थी होइनन्, तर दिल्ली विश्वविद्यालय र प्रेसिडेन्सी कलेजकाहरू हुन्।

जेएनयूका विद्यार्थीको अनुहार मैले यहाँ यसकारण स्पष्ट देखाउन चाहिनँ, किनकि मलाई थाहा छैन, त्यो पाँच बाई पाँचको डेमोक्रेसीमा उनीहरूको यो आवाज अट्न सक्छ वा सक्दैन ?

कुनै कारणले त्यहाँ उनीहरूको यो आवाज अटाइएन भने नि ?

मेरो कारणले गर्दा कसैले शोकजको जवाफ दिन परोस्। होस्टेल सरुवा हुन परोस्। अथवा जरिवाना तिर्न परोस्। अथवा मुद्दा नै धाउन परोस्।

त्यो त म कहिल्यै चाहँदिनँ। अहँ कदापि चाहँदिनँ।

- कालेबुङमा बस्ने राजनीतिशास्त्री छुदेनको ‘फातसुङ’ उपन्यास छापिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.