ठूले लामा, जंग–जनगणना अनि १२२ वर्षअघिको पाइखाना अड्डा
पेन्सन त पाइनँ नै, पाएको–बुझिसकेको ६ महिनाको तलब पनि फिर्ता गरेँ।
हाम्रो समाज निक्कै नै चिसो समाज हो।
०००
किताब लेखेको मानिस प्रशासक पो भइयो।
०००
मेरो गुरु र म एउटै रिक्सामा चढेर नरहरि योगीको ठाउँमा गयौं। म आफ्नो गुरुसँगै एउटै रिक्सामा चढ्नु भनेको ठूलो कुरा थियो त्यस बखत। म थेसिस बुझाउँदाभन्दा बेसी खुसी एउटै रिक्सामा चढ्दा भएको थिएँ।
०००
अहिलेका पत्रकार असाध्यै नचाहिने कुरामा बाठा छन्। बुद्धिको प्रयोग कम गर्छन्। अध्ययन सतही छ। समाजप्रतिको बुझाइ गहिरो छैन। पत्रपत्रिकामा ऊर्जाविहीन शिथिल लेख छापिइरहेका छन्।
०००
हामी निर्धारित समयमै पुग्दा उनी मूल ढोकामा उभिइरहेका देखिए। भुइँ तलाको चिसो (मंसिर भएकाले मात्र) सानो कोठामा हामीलाई लिएर गए। भने, ‘यही हो, मेरो लेखपढ कक्ष।’ दुवैतिर खाट, तिनै खाटमाथि केही पोका–पुन्तुरा। पहेँलो कपडाले बेरिएको एउटा पोको देखाएर भने, ‘यही हो, जंगबहादुरको पालाको गणना, अहिलेसम्म छाप्न सक्या छैन।’
पोकापुन्तुरा खोतल्दै जाँदा उनको जीवनकहानीका प्राज्ञिक पुन्तुराहरू पनि क्रमशः खुल्दै गए। वनारस हिन्दू विश्वविद्यालयबाट २०२७ मा पीएचडी सक्नुअघि नै उनको ‘लिच्छवि संस्कृति’ (२०२६) नामक ग्रन्थ निस्किहाल्यो। यसले २६ वर्षे केटोलाई प्राज्ञिक वृत्तमा चिनायो। उनका ‘लिच्छवि इतिहास’, ‘प्राचीन नेपाली संस्कृति’, ‘नेपालको वैधानिक परम्परा’, ‘नेपालको ऐतिहासिक भूगोल’, ‘प्राचीन नेपालको राजनीतिक इतिहास’, ‘काठमाडौं शहर’, ‘शाहकालीन कला र वास्तुकला’, ‘नेपाली अध्ययन’ (भाग १ र २), ‘काठमाडौं सहरको सांस्कृतिक अध्ययन’, ‘सात साहित्यिक र ऐतिहासिक अभिलेख’, ‘नेपाल–इन्डिया कल्चरल रिलेसन्स्’, ‘नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास’लगायत दुई दर्जन अनुसन्धानात्मक पुस्तक प्रकाशित छन्। नेपालको इतिहास–संस्कृति अध्ययनमा उल्लेख्य तर मिडियामा गुमनामझैं उनै प्रा.डा. जगदीशचन्द्र रेग्मीसितको लामो कुराकानीको छोटो अंश ः
अक्सर अलि फरक तरिकाले वार्ता गर्न मन पर्छ। तर, तपाईंलाई बनिबनाउ प्रश्न नै सोधेँ है— आफूबारे अलिकति बताइदिनुस् न।
आफूबारे आफैं बताउनु ? यही भयो नि फरक वार्ता त। (हाँसो)
म २००१ सालमा नक्सालको रेग्मी परिवारमा जन्मिएको हुँ। नेपालमा अनेक जाति र संस्कृति छन्। तीमध्येको म बाहुनमा जन्मेँ। अनि काठमाडौंमा जन्मेँ। तत्कालीन समयमा हामी अलि फरक थियौं।
फरक, कस्तो फरक ?
त्यस बखतको पृष्ठभूमिमा...। तपाईंहरू कहाँका रे ?
हामी सल्यान अनि दोलखा।
त्यस बखतको पृष्ठभूमिमा सल्यान र दोलखाका अर्थात् ग्रामीण भेगका मानिसहरूले राम्ररी पढ्न पाएका थिएनन्। तर, हाम्रो परिवारले पढ्न पायो भन्न खोजेको मैले। मेरा बुवा कृष्णचन्द्र रेग्मी विद्वान्, माइला बुवा शेषराज रेग्मी पनि संस्कृतका विद्वान्। त्यसमाथि कला–संगीतमा पनि झुकाव भएको परिवार। त्यस बेलाका मानिसमा कलाको चेत कमै हुन्थ्यो। अझ मेरो बुवा त फेमस सितारवादक हुनुहुन्थ्यो।
बाहुन, अनि बजानातिरको खलक, अलिकति फरक लाग्यो नि ?
मेरो हजुरबुवा पण्डित देवचन्द्र रेग्मी। उहाँ त्यो जमानाको नामी सितारवादक हुनुहुन्थ्यो। सितारसँगै सामवेद, ज्योतिष विद्या पनि जानेको। मेरो बुवा र कान्छाबुवामा सितार बजाउने कला उनैबाट आइपुग्यो। बनारसमा हजुबुवाले पढ्नुभयो र सितार सिक्नुभयो। बुवाहरूलाई पनि पढाउनुभयो। मेरो पुस्तामा जेठा दाजु सतीषचन्द्र रेग्मीले सितार बजाउनुभयो। संस्कृतका ठूला विद्वान् पनि हुनुहुन्थ्यो उहाँ।
हामीले भन्न खोजेको, बजाउने कामलाई हेयका दृष्टिले हेरिन्थ्यो हैन र ?
हो, मेरो हजुबुवाको समाजमा बाहुनले व्यावसायिक रूपमा बाजा बजाउने कामलाई राम्रो ठानिँदैनथ्यो। शास्त्रले निषेध गरेको थियो। अझै पनि शास्त्रले त्यसै भन्छ होला। संगीत त दलितको व्यवसाय भनेर छुट्याइएको थियो। अझ हामी त उपाध्याय बाहुन।
त्यही त नाति पुस्ता ध्रुवेशचन्द्र रेग्मीसम्म सितार आयो...
श्री ३ महाराज जुद्धशमशेरले बुवा कृष्णचन्द्र, माइलो बुवा शेषराज र कान्छाबुवा पूर्णचन्द्रलाई बोलाएर सितार बजाउन लगाउनु भएछ। सितारको धुनले लट्ठ परेछन् महाराज शमशेर। अनि भनेछन्, ‘आजदेखि म तपाईंहरूको फिस तोक्दिन्छु।’ यो कुरा सुन्ने बित्तिकै मेरो बुवाले ‘हामी फिस लिएर काम गर्दैनौँ’ भनेर जवाफ फर्काउनुभएको थियो रे। सितार बजाउने तर पैसा नलिएपछि त शास्त्रले भनेको कुरा बिग्रिएन नि ! यसरी उहाँहरू सितारमा लाग्नुभएछ।
संयोग मान्नुपर्छ, यो कुरा पुस्तान्तरण भयो। हजुरबुवा देवचन्द्र सितारको आचार्य हुनुहुन्थ्यो। अहिले सिनेमाको हिरोको जति डिमान्ड हुन्छ, त्यति नै डिमान्ड थियो त्यस बेला। दरबारहरूबाट तबला लिएर यति बेला आउनुस् भन्ने व्यहोराको चिठी आउँथ्यो घरमा। मेरो हजुरबुवालाई वीरशमशेरले बनारसबाट काठमाडौं बोलाएका थिए। उहाँ आउनु पनि अनि वीरशमशेर खतम हुनु एकै समयमा पर्यो। सायद दरबारमा सितार बजाउन झिकाएका थिए होलान्। हजुरबुवाको सितार संगतको प्रभाव बुवाहरूमा सर्यो। बुवाहरूले सिक्नुभयो। मेरो दाजु सतीषचन्द्र रेग्मीमा पनि सितार आइपुग्यो। उनका छोरा धु्रवेशचन्द्रले त यसैमा पीएचडी गरे। अहिले संसारभरि सितार बोकेर घुम्छन्। धु्रवेशचन्द्रको छोराले पनि सितार सिके। यसरी हाम्रो परिवारको सांगीतिक परम्परा टुटेको छैन भनौं।
माइला दाजु महेशचन्द्र रेग्मी फेरि भिन्नै रूपमा प्रख्यात हुनुभयो नि ?
हो, मेरा माइला दाजु महेशचन्द्र रेग्मी त फेमस नै हुनुभयो। तपाईंको फुर्सदको गैरसाहित्यिक पुस्तक सर्वेक्षणमा उहाँका आठवटा पुस्तक छानिएको देखेँ। फुर्सदका यति विज्ञ पाठकलाई अब मैले उहाँबारे बयान गर्नै परेन।
दाजु महेशचन्द्रझैँ तपाईं सांगीतिक हुनुभएन। साहित्यिक पनि हुनुभएन। सेलिब्रिटी हुने क्षेत्र नरोजेर (गुमनाम हुनुपर्ने) समाजविज्ञानको लेखपढतिर कसरी ढल्किनुभयो ?
मैले सितार, गाना, तबला र बाँसुरी सबै सिकेँ। तर संगीतमा रस पसेन। हजुरबुवाले बुवालाई आफ्ना छोराहरूलाई कल्चर नपढाउनू भन्नुहुन्थ्यो रे त्यो जमानामा। बुवाको पनि सकेसम्म साइन्सतिर लागोस् वा प्राविधिक होस् भन्ने चाहना थियो। अहिलेजस्तै पहिले पनि जागिर पाइने पढाइमा नै परिवारले जोड लगाउँथे। तर सबै आफ्नो वशमा हुँदो रहेनछ। परिवार शिक्षित थियो तर आर्थिक रूपले हामी मध्यमवर्गीय थियौं। घरमा भात खानेको संख्या नै ५० पुग्थ्यो।
पारिवारिक वातावरण पूरै बौद्धिक–सांगीतिक रहेछ है ?
कान्छा बुवाका छोरा दाइ अमरेशचन्द्र कीर्तिपुरमा लाइब्रेरियन। पुस्तककै नजिक रहेर जीवन बिताए। दिनेशचन्द्र रेग्मी दाइ मजस्तै बनारसबाट संस्कृतिमा स्नातकोत्तर र पीएचडी। आर्थिक इतिहासकार दाजु महेशचन्द्र रेग्मी। अब यतिका विद्वान्को संगतमा बसेर म विद्वान् भएँ भनेर आश्चर्य मान्नु परेन। आठवटा कोठा भएका घरमा जहाँ गए पनि विद्वान् अड्डा जमाएर बसेका हुन्थे। मलाई अझै सम्झना छ, मेरा तीन बुवा बेलुकाको खान खाएपछि एउटा कोठामा जम्मा हुनुहुन्थ्यो। मेरा दाजुहरू पनि त्यहीँ हुन्थे। दाजु महेशचन्द्र त्यस बखत उद्योग विभागको उपनिर्देशक हुनुभयो। अर्का दाजु सतीषचन्द्र पनि सेक्सन अफिसर हुनुहुन्थ्यो। दिनभर अफिसमा के के काम भए भनेर दाजुहरू बुवाहरूलाई रिपोर्टिङ गर्थे। मैले सानैदेखि त्यस कोठामा भएका रिपोर्टिङ, बहस र कुराकानी सुन्न पाएँ। बालककालको फुर्सदको समय पढाइ र लेखाइका गफमै बिते। यसरी मैले कानले सुनेरै धेरै कुरा जान्न पाएँ।
सानैमा धेरै कुरा सुन्न पाउनुभएछ, ती केही हामी पनि सुनौं न।
कति स्मृतिबाट हराइसके। तर, कुनामा लुकेर घरका विद्वान्हरूको सबै कुरा नछुटाई सुन्थेँ। त्यस बेला सुनेका धेरै कुरा याद नभए पनि मेरो दिमागमा भित्ताको आडमा टाँसिएर एउटा बालकले ध्यानपूर्वक सुनिरहेको चित्र सधैं छ। यस्तो हुर्काइले नै मेरो बैद्धिक कर्मको जग हालिदियो।
अघि घरमा भात खाने ५० जना भन्नुभयो, खानेजस्तै पढ्ने पनि त धेरै रहेछन् नि !
थिए नि। त्यस बेला घरमै पढाउने चलन थियो। बुवा, काका र दाजु सबैले पढाउँथे। ठूलोबुवाले अंग्रेजी पढाउनुहुन्थ्यो। प्रत्येक बिहान अंग्रेजी स्पेलिङ घोकेको आवाजले घर नै घन्कन्थ्यो। दिउँसो अंग्रेजीका कथा अनुवाद गरेर सुनाउनुहुन्थ्यो। माइला बुवाले संस्कृति र कान्छा बुवाले गणित पढाउनुहुन्थ्यो। अंग्रेजीको पढाइ मेरो त्यही बेलादेखिकै हो।
घर नै स्कुल रहिरह्यो कि ?
म एकैचोटि आठ कक्षामा भर्ना भएँ, पद्मोदयमा। त्यहाँ पढ्दापढ्दै मेरा माइला बुवा वनारसमा नेपाली पढाउन नियुक्त हुनुभयो। उहाँसँगै मेरो पनि वनारस जाने बाटो खुल्यो। दिनेशचन्द्र रेग्मी र म उहाँको साथै लागेर वनारस गयौं। कक्षा ९ बाट खुरुखुरु वनारसमा पढाइ अगाडि बढ्यो। करिबकरिब नौ वर्ष वनारसमा पढेपछि पीएचडी सकाइयो। पीएचडी सकाउँदा म २७ वर्षको थिएँ।
त्यहाँ कुन कुन विषय पढ्नुभयो ?
मैले आईएमा समाजशास्त्र, अर्थशास्त्र, हिन्दी, संस्कृतलगायतका विषय पढेँ। बीएमा गएर इन्डियन कल्चर र अंग्रेजी पढियो। बीएमा इन्डियन कल्चर पढेको हुनाले काशी हिन्दू विश्वविद्यालयमा एमएमा पनि सोही विषयमा भर्ना हुन गइयो। एमए पहिलो श्रेणीमा पास भएँ। पास भइसकेपछि म काठमाडौं आएँ। केही समय काठमाडौं बसेपछि पीएचडीका लागि वनारस हिन्दू विश्वविद्यालयमा आवेदन खुलेको खबर आइपुग्यो। र मैले पीएचडीको फेलोसिप पाएँ।
पीएचडीको विषय कसरी छान्नुभयो ?
एमए प्रथम वर्षको जाँच दिएपछि गुरुहरूले छुट्टीमा नेपालका शैव अभिलेखको अध्ययन गर्न लगाए। त्यस बेलासम्म नेपालको इतिहासबारे केही पनि थाहा थिएन। उता गएर भारतीय इतिहासमात्र पढेको थिएँ। भारतको वास्तुकला, कला, लिपि, वैदिक साहित्य, मूर्तिकला, चित्रकला सारा पढेको थिएँ। भारतीय उपद्वीपको फ्रेम त बुझियो तर त्यो फ्रेमलाई नेपालसँग कसरी मिलाउने होला भन्ने चिन्ता भइरहेको थियो।
नेपालको इतिहासबारे पूरै बेखबर मान्छे शैव अभिलेखसँग कसरी भिड्नुभयो त ?
आर नोलीको रोमन भाषामा ‘नेप्लिज् इन्सक्रिप्सन्स् इन गुप्त क्यारेक्टर्स’ भन्ने किताब छापिएको थियो। उनले फिल्ड सर्भे गरेर लिच्छविहरूको अभिलेख बटुलेका थिए। पहिले त यो किताबको नाम पत्ता लगाउन नै महाभारत भयो। त्यसमाथि रोमन लिपिमा लेखिएको। देवनागरीमा बदलेर बुझ्न झन् गाह्रो। मेरा दाजुभाइ, काकाहरू सारा मिलेर यस किताबको अभिलेखलाई नेपालीमा ल्याइयो। यसबाहेक अभिलेखालय, बुद्धिसागर पराजुली, लोकनाथ रेग्मीसँग तन्त्रका किताब थिए। यी सबै पढेर धुनधान मेहनत गरेर थेसिस लेखँे। ७३ नम्बर पनि पाएँ। यतिको नम्बर ल्याउनु ठूलो कुरा थियो त्यो बेला। यसमा धुनधान मेहनत गरेको हुनाले मेरो पीएचडीको विषय पनि यही भयो।
त्यहाँ योगी नरहरिनाथलाई पनि भेट्नुभयो हैन र ?
मलाई शैव धर्मको विषय दिने मेरा गुरु भीएस पाठक दक्षिण भारतमा शैव धर्मका कहलिएका विद्वान् थिए। त्यस बेला नरहरिनाथ योगी पनि वनारसमा हुनुहुन्थ्यो। उहाँले पनि सहयोग गर्नुभयो। भीएस पाठकले पनि नरहरिनाथलाई भेट्न खोज्नुभएको थियो। यी दुईको भेट गराउने जिम्मा मैले पाएँ। मेरो गुरु र म एउटै रिक्सामा चढेर नरहरि योगीको ठाउँमा गयौं। म आफ्नो गुरुसँगै एउटै रिक्सामा चढ्नु भनेको ठूलो कुरा थियो त्यस बखत। म थेसिस बुझाउँदाभन्दा बेसी खुसी एउटै रिक्सामा चढ्दा भएको थिएँ।
पीएचडी सकेर नेपाल आएपछि काम के गर्नुभयो ?
एमए पास हुनेबित्तिकै नोकरी खोजेको हो। दुईतीन ठाउँमा त इन्टरभ्यु दिएको हुँ। निकै धाएँ तर नोकरी पाइएन। त्यसरी खोजेको बेला सेक्सन अफिसरको नोकरी पाएको भए लेखपढ तथा अनुसन्धानको काममा म कहिल्यै आउने थिइनँ होला। अहिले आएर सोच्दा नोकरी नपाउनु नै मेरा लागि वरदान भयो। नोकरी नपाएकाले चार वर्ष लगाएर पीएचडी गर्दिएँ।
पीएचडी नसक्दै त्यही विषयमै किताब निकाल्ने आँट–अनुमति नि ?
२०२६ सालको कुरा हो। पीएचडी थेसिस बुझाउनुभन्दा पहिले लिच्छवि संस्कृतिबारे ५०० पानाको किताब छापेँ। पुस्तकको भूमिका मेरा गुरुहरूले लेखिदिए। रत्न पुस्तक भण्डारले पुस्तक छाप्दियो। यो किताबले मलाई पैसाभन्दा पनि नाम दियो। यो त्यस बेलाको समय थियो, जुन बेला नेपाली भाषामै किताब कम छापिन्थ्यो। संस्कृतिमा त झन् कम। यस्तोमा मेरो किताब छापिँदा हल्लाखल्ला खुब मच्चियो।
हल्लाखल्लाको परिणाम जागिर के पाउनुभयो त ?
कामका लागि भनेर मेरो माइलो बुवाले मलाई त्रिविका तत्कालीन भीसी त्रैलोक्यनाथ उप्रेतीकहाँ भेट्न लानुभयो। उहाँ शिक्षाको पृष्ठभूमिको हुनुहुन्थ्यो। उहाँले मलाई नेपाल अध्ययन संस्थानमा प्रशासन अधिकृतका रूपमा नियुक्ति दिनुभयो। किताब लेखेको मानिस प्रशासक पो भइयो।
अनि के भयो ?
मेरो पुस्तक लिच्छवि संस्कृतिले यति नाम कमाएको थियो कि दिनमा एक–दुईजना मानिस मेरो तारिफ गर्न अफिसमै आइपुग्थे। त्यस कार्यालयमा मैले १८ महिना काम गरेँ। २०२९ सालतिर नयाँ शिक्षा लागू भयो। म काम गरेको अफिस इन्स्टिच्युसनमा परिवर्तन भयो। त्यसको डाइरेक्टर प्रयागराज शर्मा भए। मेरो त कुरा मिल्थ्यो नै। तर उनले मसँग भने कुरा मिलाएनन्। सैद्धान्तिक रूपमा मेरो कुनै विमति थिएन, उनीसँग। व्यक्तित्वको टकराव भयो कि जस्तो लाग्छ मलाई। बल्ल बल्ल पाएको नोकरीमा गडबडी भयो। धैरै नै झन्झट भएपछि मैले अफिस जान छोडँे।
प्रयागराज सरसित कुरा नमिलेरै जागिर छोड्नुभयो ?
यसलाई धेरै नतन्काऊँ।
जागिर छोडेर राजा नजिकको विषयमा अनुसन्धान गर्न थाल्नुभएछ त ? चाकडी गर्नलाई ?
मैले शाहकालीन कला र वास्तुकला लेखेँ। यस पुस्तकले २०३४ सालमा साझा पुरस्कार पायो। साझा पुरस्कारबापतको तीन हजार रकमले घरबारमा मद्दत गर्यो। म फेरि लाटो मानिस, त्यो पुस्तक बोकेर दरबार गएको भए केही न केहीमा ठेगान लाग्थ्यो होला। तर म दरबार गइनँ। पछि राजाले पनि ५०० प्रति पुस्तक किनेको भन्ने सुन्नमा आयो। किताब त्यस बेलाको बेस्ट सेलर भयो। २०४९ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार पाएँ। मैले राजाको चाकडी गरको हैन, इतिहास लेखेको हुँ।
त्यसपछि...
किताब चल्यो, नाम कमाएँ। तर म हल्लिएरै बसेको थिएँ। मेलै अलिअलि पैसा जम्मा गरेर ‘नेपाल एन्टिक्वेरी’ भन्ने लिथो पत्रिका निकालेँ। नेपाल एन्टिक्वेरी भन्ने संस्था नै खोलेँ। सन् १९७४ मा यसको पहिलो प्रति निस्कियो। यसलाई अकेजनल तरिकाले निकालिन्थ्यो। लिथो गर्यो, निकाल्यो। र, इष्टमित्र साथीभाइ सबै मिलेर बेच्थ्यौं। लेख भने मेरो मात्र छापिन्थ्यो। यो काम नौ वर्ष टिक्यो। ४० अंक निस्किए। २०४२ सालमा बाटोले हाम्रो घर र जग्गा खाइदिएपछि मात्र यो काम पनि बन्द भएको हो।
एन्टिक्वेरी बन्द भएपछि के गर्नुभयो ?
०४२ सालको सुरुतिर नै पीएचडीका विद्यार्थी मकहाँ आउन थालेका थिए। त्रिविको कल्चर विभागका प्रमुख रामनिवास पाण्डेले मलाई पढाउन प्रस्ताव गरे। घर, जग्गा र काम सबै गुमाएको कठिन परिस्थितिमा मलाई यो प्रस्तावले धेरै राहत दियो। अनि २०४३ सालदेखि करारमा काम थालेँ। जीवन चलिरहेकै थियो। तर अचानक २०५२ सालमा मेरी श्रीमतीलाई पक्षाघात भयो। उनको हेरचाहमा मेरो दिन जान थाल्यो। म विश्वविद्यालय जानै सकिनँ।
विश्वविद्यालयक्रम दुई चोटि टुट्यो है...
फेरि मेरो यात्रा किताब लेखनमै फर्कियो। २०५३ सालमा सिनासबाट ‘लिच्छवि इतिहास’ छापियो। किताब छापिएपछि साथीभाइले बोलाएर कल्चर विभागमै लगे। रिडरको जाँच दिएँ। यसको तीन वर्षपछि प्रोफेसरको इन्टरभ्यु पास गरिवरि प्रोफेसर भइयो। २०६३ सम्म त्रिविमा कल्चरका विविध पत्र पढाएँ।
अनि पेन्सन पाउनुभएन रे त...
म लाटै मान्छे हुँ। मैले अनिवार्य अवकाश पाउनुपर्ने मितिभन्दा छ महिना बढी भइसकेको रहेछ। पेन्सन त पाइनँ नै; पाएको–बुझिसकेको ६ महिनाको तलब पनि फिर्ता गरेँ।
हामीले ६ साताअघि गरेको पुस्तक सर्वेक्षणमा तपाईंका पुस्तक पर्न सकेनन्। तर पनि तपाईंका तीनवटा पुस्तकका नाम हामीलाई प्राप्त भएका थिए। त्यसमध्ये ‘नेपालको वैधानिक परम्परा’ले सम्मानजनक मत पाएको थियो। नेपालको वैधानिक परम्पराको लेखनगर्भ सुनाइदिनुस् न।
सर्वेक्षण मैले पनि हेरेँ, पढेँ। त्यसमा धेरै राम्रा किताब परेका छन्। तर, मेरो किताब त्यसपछिको साता फुर्सदमा छापिएको पुस्तक सर्वेक्षणबारेको आलोचनात्मक लेखमा परेको रहेछ। धन्यवाद। अँ, के सोध्नुभएको थियो रे ?
नेपालको वैधानिक परम्परा...
ए हो हो, म भन्छु। २०३३ सालतिर एकजना आमाले मलाई छालाले मोरेको किताब ल्याएर दिनुभयो। त्यो किताब थियो, जुद्धशमशेरको पालाको मुलुकी ऐन। त्यो पढेपछि मेरो दिमागमा नेपालको लिगल इतिहासबारे काम गर्नुपर्छ भन्ने कुरा छिर्यो।
को हुनुहुन्थ्यो उहाँ आमा ?
विष्णुप्रसाद प्याकुरेल, जो लौनचैरको कुनै स्कुलमा पढाउँथे। उनकै आमा थिइन् ती महिला। हामीचाहिँ घुमाउने बज्यै भन्थ्यांै उनलाई।
पुस्तकको भूमिकामा यो छैन नि ?
हो, आमाबारे मैले यस पुस्तकको भूमिकामा वा अन्त कतै लेखेको छैन। यसको कारण थियो। कारण यहाँहरूले बुझ्नुपर्ने हो। अहिले म यसबारे थप भन्दिनँ।
‘नेपाली अध्ययन’ १ र २ आयो। अरू आएन नि ?
२०५२ सालमा नेपाली अध्ययन भाग १ र २ साझा प्रकाशनबाट छापियो। यो पुस्तक त एटम बम नै हो। यसमा ‘खण्डखाद्य’को एक पाना फोटो हालेको छु। खण्डखाद्यलाई पहिलो चोटि बाहिर ल्याएको मैले नै हो। यो १२औं शताब्दीतिरको हो। यस पुस्तकमा १८१६ सालतिरको नेपाली भाषाको कथा पनि हालेको छु। रामभद्र कविको १८५१ सालतिरको नयाँ कविता नै भेट्टाएँ। त्यसलाई पनि मैले यसमा हालेँ। नेपाली अध्ययन भनेर नै मलाई त १०० भागसम्म लेख्न मन थियो।
केले रोक्यो त ?
छाप्न बाँकी सामग्री जति पनि छन्, मकहाँ। मकहाँ छैन भने अभिलेखालयमा छन्। तर यहाँ पाठकको प्रतिक्रिया केही थाहा पाइँदैन। प्रकाशकले पनि यसको अरू भाग पनि लेख्देऊ भनेनन्, भन्दैनन्।
पठन संस्कृति कमजोर छ भन्न खोज्नुभएको हो ?
हामी कति प्रतिक्रियाविहीन समाज हौं भन्ने कुराको छनक मैले २०४९ सालमा पहिलो चोटि राम्ररी पाएँ। वास्तवमा हाम्रो समाज निक्कै चिसो समाज हो। त्यस बेला मैले नेपाल एन्टिक्वेरीको पहिलो प्रिन्टेड इस्यु निकालेँ। त्यसमा नेपालको पहिलो जनगणनाबारे सारांश छापेँ। जंगबहादुरको पालामा १९१० सालमा पहिलो जनगणना भएको नयाँ तथ्य मैले त्यसमा दिएको थिएँ। तर, त्यसको प्रतिक्रिया केही आएन। मैले तथ्यांक विभागका हाकिमहरूलाई सम्पर्क गरेँ। उनीहरूले एउटा बैठक पनि राखे, भोज पनि खुवाए। ती जनसंख्याविद्हरूले ‘हामी छक्क पर्यांै’ भने।
हाम्रो जनगणनाको इतिहासमा पचास वर्षभन्दा पुरानो तथ्यको सारांश बाहिर ल्याउनुभयो। सरोकारवाला सबैकहाँ पुग्नुभयो, पूरै छापौं भनेर। तर, उनीहरू सबै छक्क परे, अझै छापिएन। उनीहरू २५ वर्षदेखि छक्क परेको पर्यै देखेर तपाईं छक्क पर्नुभएको छैन ?
हाम्रो देशको चिसोपना यो कोठाको चिसोपनाभन्दा कम छैन।
कसरी पाउनुभयो यो गणना ?
एकजना ठूले लामा भन्ने मानिस आउँथे मकहाँ। लेखोट, कागजपत्र दिन बारम्बार आउँथे। उनी कागज ल्याउँथे। म त्यसबापत पैसा दिन्थँे। कहाँका हुन्, के हुन् मैले त्यति खोजमेल गरिनँ। एकपल्ट तिनले २०३२ सालतिर एउटा पोको बोकेर ल्याए। त्यो बेला राजा वीरेन्द्रको राज्याभिषेकको तयारी हुँदै थियो। अड्डाखानाहरू सफा गरिँदै थिए। सफा गर्ने क्रममा कागजपत्रहरू बाटोमा फालिएका रहेछन्। उनले मलाई त्यो पोको दिए। मैले उनलाई पैसा दिएर पोको राखेँ। पोको खोलेर हेर्दा त म आश्चर्यचकित भएको थिएँ।
के कुराले आश्चर्यचकित बनायो ?
जंगबहादुरको पालामा उपत्यकाका तीनैवटा सहरको जनगणना गरिएको हस्तलिखित दस्तावेज थियो त्यो।
चन्द्रशमशेरको जनगणनाभन्दा पहिलेको हुनाले यसको निक्कै नै भ्यालु छ भन्ने लाग्यो। तर, यसलाई बाहिर कसरी ल्याउने भन्ने चिन्ताले सताउन थाल्यो। अब हाँस्ने कि रुने ? भन्ने भयो।
आफैँ किन नछाप्नुभएको ?
मेरो भानिजको परिचय जितेन्द्रबहादुर मानन्धरसँग रहेछ। उनी सरकारको उच्च ओहदामा काम गर्थे। उनी यस दस्तावेजमा आफ्ना पुर्खाको नाम हेर्न आउँथे। यसरी आफ्नो पुस्ताको नाम हेर्न धेरै मानिस आउँथे। समाजमा यसको चर्चा भयो। इतिहासका विद्यार्थी पनि आउँथे। तर चासो कसैको भएन। यो पुस्तक छाप्न बढीमा पाँच लाख लाग्ला। म आपैmंसँग एकमुष्ठ यति रकम कहिल्यै भएन। तर सरकारसँग त छ नि ? गंगाप्रसाद उप्रेतीको एकेडेमीसँग यति पैसा नि नहुने हुन्छ ?
त्यो जनगणनाबारे अझ बताउनुस् न...
यो सबै छाप्न सकियो भने, एक त जनगणना सुरु भएको नयाँ समयको नयाँ तथ्य हाम्रोअगाडि आउँछ। थाहा नहुँदा त केही भएन तर थाहा भएपछि त मैले समाजलाई यो कुरा मसँग छ त भन्नुपर्यो ? भनेँ पनि। भक्तपुर, कान्तिपुर र ललितपुरका हरेक टोलको हरेक घरका घरमूलीको नामथर छ। टोलमा कति मन्दिर छन्, त्यसको नाम छ। तीनै सहरका पुराना घरमूलीको नामथरको सूची पाउनु भनेको निकै दुर्लभ कुरा हो। यसबारे कान्तिपुर दैनिकमा पनि जनकराज सापकोटाले विस्तृत लेख लेखिसक्नुभएको छ।
(नेपालको पहिलो जनगणना १९६८ भनेर अझै पढाइरहेका ‘सरकारी भलादमी’हरूका लागि केही सामान्यज्ञान फुटनोट नै सही, यहाँ राखौं— विसं १९१०, १९११ र १९१३ मा जंगबहादुर राणाले गराएको जनगणनाको हस्तलिखित मूल प्रति रेग्मीसँग छ। नेपाली कागजमा लेखिएको यो गणना ६ सय पृष्ठको छ। गणनामा घरको प्रकार, लोग्ने–स्वास्नीको विवरण, परिवार संख्या, घरमूलीको नाम, बजार, इनार, पाटी, सत्तल आदिको विवरण पनि समेटिएको छ । यो छापिदिन भनेर रेग्मी धेरै ठाउँ धाइसकेका छन्। यति महत्त्वपूर्ण प्राप्तिलाई पनि छाप्न नसक्ने सरकारले के यी पानामा चटपटे बेचिरहेको दृश्य कुरिरहेको छ ? )
ठूले लामाजस्ता धेरैले तपाईंलाई केही न केही दिए है ?
अर्काे घटना सुनाउँछु। मेरो घरमा धादिङका नीलकण्ठ अधिकारी पढ्न बसेका थिए। तिनी छुट्टीमा घर फर्कन लागेका थिए। उनी जहिले पनि घर जाँदा म उनलाई गाउँतिर पाएका लेखोट–किताब ल्याइदेऊ है भन्थेँ। उनी सधैंजसो कागजपत्रको पोको बोकेर आउँथे। ‘खण्डखाद्य’ किताब पनि मैले यसरी नै फेला पारेको हुँ। तर यसको एक पाना मात्र ‘नेपाली अध्ययन’मा राख्न पाएँ। यसले नेपालको वाङ्मयमा नयाँ कुरा थपियो। मैले त्यस किताबको हरेक पानाको महत्त्व बुझेर पूरै छाप्नुपर्छ भनी कमलमणिजीकहाँ भेट्न पनि गएँ। त्यसअघि साझा प्रकाशनले वास्ता गरेको थिएन। अब कमलमणिबाट वास्ता गराउन पाए यसलाई किताबको रूपमा ल्याउन सकिन्छ कि भन्ने विश्वास थियो मलाई। तर, उहाँले आफ्नो ‘नेपाली’ पत्रिकामा ‘एउटा लेख छाप्नुस् न’ भन्ने जवाफ फर्काउनुभयो।
‘नेपाली’मा लेख लेख्नुभएन त ?
पूरा ६० पानाको किताबलाई लेखमा दिएर साध्य हुने कुरो हो र ? पछि त्यो पुस्तक घर सर्दा कता हरायो कता ? कमलमणिले त्यस बेला काम गरौं भन्या भए त्यो किताब जोगिन्थ्यो। त्यसको नमुना एक पाना मात्र मेरो ‘नेपाली अध्ययन’मा छापियो। पूरै किताब छापिएको भए नेपाली वाङ्मयको इतिहास कति टाढा पुग्थ्यो ?
तपाईंले भर्खरै ‘नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास’ पुस्तक निकाल्नुभएको छ। किन ?
मेरो रिसर्च २०२१ सालदेखि सुरु हुन्छ। मैले जब एमएको थेसिस लेख्न थालँे, त्यस बेलादेखि सामग्रीहरू संग्रह गर्र्दै आएको छु। यो रिसर्च भन्ने कुरामा एउटा काम गरेपछि अर्को काम जोडिएर आउने रहेछ। यसले गर्दा २०२१ सालमा जुन काम सुरु गरेको थिएँ, त्यसैको निरन्तरता हो यो किताब। कुनै किताब लेख्दा जति कुरा टिपेको हुन्छ, ती सबै कुरा त्यसमा लेखेको हुन्न। एकपल्ट २०३२ सालमा राष्ट्रिय पुस्तकालयमा ‘आचार्य वंशावली’ भेटेँ र पढेँ। यो पुस्तक पढिसकेपछि मलाई ब्राह्मणको अध्ययनमा रुचि लाग्यो। त्यही रुचिलाई बल्ल यतिका वर्षपछि मैले मूर्त रूप दिएँ।
अबको योजना के छ यहाँको ?
म भन्ठान्छु, म अझै अध्ययन–अनुसन्धान गर्न सक्छु। तर, मेरो कोठा यही हो, एउटा। मेरो सामान भद्रगोल छ। जब कि रिसर्चका लागि कविलाई जस्तो बस्ने ठाउँ, कापी र कलमले मात्र पुग्दैन। इतिहासकारलाई प्रशस्त ठाउँ चहिन्छ। सामग्री चाहिन्छ। स्रोत चाहिन्छ। सहयोगी पनि चाहिन्छ। बल्ल गतिलो रिसर्च हुन्छ।
गाह्रो छ है सर...
मसँग महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज छन्। तपाईं कल्पना गर्न सक्नुहुन्छ ? विसं १९५४ मा काठमाडौंमा पाइखाना अड्डा थियो। यो हाम्रा लागि नौलो लाग्ने कुराको दस्तावेज अझै मसँग सुरक्षित छ। पाइखानाको अवधारणा पहिलेदेखि नै रहेछ। नगरको पहिलो काम त पाइखाना बनाउने पो रहेछ नि ! मैले यसबारे ‘मधुपर्क’मा ३० वर्षपहिले नै लेख छापिसकेको हँु। तर त्यसको कुनै प्रतिक्रिया आएन।
अब मेरो बुद्धि अलिअलि परिवर्तन हुँदैछ। मधुपर्कको त्यो लेख लिएर नगरपालिका जानुपर्ने रहेछ। यहाँका ‘उच्च’ मान्छेले त पढ्दैनन् नि किताब–पत्रिका। यसपालि भने मैले ब्राह्मणको इतिहास पुस्तक प्रधानमन्त्री, शिक्षामन्त्री, सूचना विभागहरूतिर उपहारस्वरूप पठाइदिएको छु। अब पढ्छन् कि ?
नेताहरूले पढ्नैपर्ने हो र ? उहाँका सल्लाहकारहरूले पढ्ने, बुझाउने हो कि ?
अहिलेका नेताले खासै किताब पढ्छन् जस्तो मलाई लाग्दैन। उनीहरूको अभिव्यक्तिमा म कतै पनि पढेको जस्तो देख्दिनँ। उनीहरूले नपढे पनि यस्तो पुस्तक आएको रहेछ भन्ने जानकारी त पाउलान् कि ? नपढ्ने नेताले पढेको, बुझेको, विवेकशील, निडर सल्लाहकार त राख्तैन, यो पनि थाहा छ। तर पनि...
अनुसन्धानात्मक गम्भीर पुस्तक पढ्ने बानी बढाउन हामी जस्ता पत्रपत्रिकाले के गर्न सक्छन् होला त ?
तपाईंको ‘फुर्सद’ले हामीजस्ता छायामा परेका, वास्ता नगरिएका लेखक–पुस्तकलाई प्रकाशमा ल्याउन मेहनत गरेको पढेको छु। तर, तपाईंहरू सोझो मानिस अर्थात् विवेकको भाषा लेख्ने–बोल्नेलाई छोडेर बांगो मानिसकहाँ जानुहुन्छ, अनि सोझो कुरा कहाँबाट पाइन्छ त ?
सोझो मानिस कसरी खोज्ने त ?
तपाईं पत्रकारहरू नयाँ मानिसलाई मौका दिन चाहनुहुन्न। हामी पत्रकार÷लेखक बनाउन सहयोग गर्न खोज्दैनौं। उनीहरूलाई तालिम दिने, अध्ययन गराउने, धैर्यसहित मेहनत गराउने गर्दैनौं। अहिलेका पत्रकार असाध्यै नचाहिने कुरामा बाठा छन्। बुद्धिको प्रयोग कम गर्छन्। अध्ययन सतही छ। समाजप्रतिको बुझाइ गहिरो छैन। पत्रपत्रिकामा ऊर्जाविहीन शिथिल लेख छापिइरहेका छन्। पत्रिका त विज्ञापनमुखी मात्र नभएर विचार र तथ्यमुखी पो हुनुपर्ने हो।
कुराकानी : विमल आचार्य, रवीन्द्र ढकाल