‘डबल मिनिङवाला गीत मरिगए गाउँदिनँ’

‘डबल मिनिङवाला गीत मरिगए गाउँदिनँ’

नेपाली युवामाझ पप गायिकाका रूपमा परिचित र लोकप्रिय नाम हो, आस्था राउत। ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’, ‘झुम्के बुलाकी’उनका चर्चित गीत हुन्। ‘द भ्वाइस अफ नेपाल सिजन–२’ की कोचसमेत रहेकी उनले हालै दोस्रो एल्बम ‘आधार– भाग २’ बजारमा ल्याएकी छिन्। उनीसँग सामीप्यराज तिमल्सेना र सृजना खड्काले खुलस्त संवाद गरेका छन्।


एल्बम लोप हुँदै गएको बेला एल्बम निकाल्नुभयो, त्यसमाथि सिक्वेल। यस्तो मन्दीमा एल्बम निकाल्ने जोश कहाँबाट आयो ? 

पहिलो एल्बम निकालेको पाँच–छ वर्षपछि दोस्रो एल्बम लिएर आएँ। दोस्रो एल्बम ल्याउने तरखर गरेको चार वर्ष भइसक्यो। म संख्यात्मकताभन्दा पनि गुणात्मकतामा विश्वास गर्छु। पहिलो एल्बमको अर्को भाग निकालेर जीवनमा सांगीतिक घरको तला थप्ने काम गरेको हुँ। बजारमा हिट हुन होइन, संगीतमा आफ्ना तर्फबाट योगदान पुर्‍याउन प्रयत्न गरेकी हुँ। दुवै एल्बममा मैले नारीको सोच, भूमिका र उनीहरूलाई प्रतिनिधित्व गरेकी छु। 

‘आधार भाग–२’ नभनेर अर्को कुनै नाम, जस्तोः ‘ नाकैमा फुली’  भनेर निकालेको भए हुँदैनथ्यो र ?

पहिलो एल्बम मेरो संगीतको आधार थियो। त्यसैले कुनै गीतको बोलबाट राख्नुभन्दा पहिलाको एल्बमबाटै राखाँै भन्ने लाग्यो। ‘आधार’ ले आगामी दिनमा अरू तला पनि थप्दै जानेछ। आधार ९–१० सम्म त पुर्‍याउनुपर्‍यो नि ! कम्तीमा धरहरा जत्रो त बनाउनैपर्‍यो ! 

तपाईंका गीतमा प्रायः देशभक्ति,  एकताजस्ता विषय समेटिएका हुन्छन्। खास कारण ? 

मेरो गीतमा मायाप्रेम हाबी हुँदैन। मायाप्रेम पनि हुन्छ, तर एउटा सीमासम्म। म समसामयिक विषयका र समाजलाई सकारात्मक परिवर्तनतिर डोर्‍याउने,  समाजलाई झकझकाउने खालको गीत गाउँछु। 

तपाईंको गीतले समाजलाई कत्तिको झकझकाइरहेको छ त ?

शब्दमा ध्यान दिने, डुबेर सुन्ने र सिर्जनात्मकताको हेक्का राख्नेलाई झकझकाउँछ। सतही रूपमा तीनपाने खाऔँ, नाचाँै, वावा, ह्वाँह्वाँ गीत सुन्नेहरूलाई त के झकझकाउनु ?

प्रेम सम्बन्धका कुरालाई लिएर मेरो जेन्डरमै प्रश्न गर्नेहरू पनि छन्। आस्था लेज्बियन हो कि भनेर शंका गर्ने पनि छन्। तर, कोही केटासँग सम्बन्धमा नबस्दैमा मलाई लेज्बियन भन्न कहाँ पाइन्छ ? ‘जून देखे जूनै राम्रो, घाम देखे घामै राम्रो’ गर्ने बानी हाम्रो छैन।  

पहिले ‘खै त मलाई झुम्के बुलाकी’ अहिले ‘ नाकैमा फुली’। करिब–करिब उस्तै भएन र ?

त्यो बेलामा मैले नाकमा झुण्ड्याउने झुम्के बुलाकी मागेको होइन। ‘छोरीलाई पनि छोरासरह पढ्न, लेख्न र उसले चाहेको अधिकार देऊ, बिहे गराइदिन हतार नगर’ भनेको हो। त्यो विद्रोही छोरीको आवाज हो। त्यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो। अहिलेको ‘नाकैमा फुली’ चाहिँ मायाप्रेमको गीत हो। ‘नाकैमा फुली कानैमा ढुंग्री भो मलाई चाहिन्न, नेपाली मनको यो चोखो माया भुल्न चाहिँ कान्छा पाइन्न’ भन्नुको अर्थ पैसा, धन, सम्पत्ति, गरगहनाले होइन, मलाई नेपाली मायाले सजाऊ भनेको हो। पहिला आमाबुबासँग हक–अधिकार मागेको, अहिले चोखो माया मागेको ! 

भनेपछि अब चोखो माया माग्ने बेला भयो ?

भर्खर त सुरु गर्दै छु। बिस्तारै पाइएला नि। तर, गीतको अडियो तयार भएको डेढ–दुई वर्ष भइसक्यो। स्टेज प्रोग्राम र ‘द भ्वाइस’को कामले गर्दा जुरेको थिएन। भिडियो तयार भएकै सात–आठ महिना भइसकेको थियो।

तस्बिर : आर्यन विमली

प्रतिक्रिया कस्तो आइरहेको छ ?

एक हप्तामा मिलियन अग्र्यानिक भ्युज क्रस भइसक्यो। गीत भाइरल हुनु, हिट हुनु, मानिसको जनजिब्रोमा ठ्याक्क बसिहाल्नुपर्छ भन्ने होइन। गीतले बरु बिस्तारै पिकअप लेओस्, तर एक महिना वाक्क हुने गरी सुनेर अर्को महिनादेखि दिक्क भएर कान थुन्ने खालको नहोस्। गीत र सिर्जना भनेको जहिल्यै सुन्दा पनि आनन्दको आभास दिने खालको हुनुपर्छ। टुक्का मात्र जोडेर, राइमिङ मिलाएर बनेका भाइरले गीत त कति छन् कति ! मेरा गीतहरू वर्षाैंसम्म सुन्न सकिने र नेपालीपन बोक्ने खालको होस् भन्ने मेरो आकांक्षा छ। 

फेसबुकमा  केही समयअघि विवाहबारे लामो लामो स्ट्याटस लेख्नुभएको थियो। रहर लागेको हो र ? 

बेलाबेला हाम्रो मनमा पनि भुइँचालो आउँछ नि। जवान छु, कसैले प्रस्ताव राख्छन्। आफूले सोचेजस्तो केटा नभेटेपछि मान्छे कस्ता हुँदा रहेछन् भनेर ज्वरो नाप्नुपर्‍यो नि। 

फेसबुकमा स्ट्याटस लेखेर नापिन्छ त ?

आफ्नो मनमा लागेको भडास पोख्ने ठाउँ त्यही फेसबुक त छ। फेसबुकमा स्ट्याटस लेख्दा सिरियसभन्दा पनि रमाइलो खालका स्ट्याटस लेख्छु। ताकि त्यो पढेर मानिसहरू हाँसून्। 

तर, बजारमा त ‘आस्था डेन्जर छिन्’ भन्ने हल्ला छ। केटाहरू कसरी छेउ आउलान् त ? 

है ! तर, मसँग संगत गरिरहेकाले आस्था कुल र बिन्दास छ भन्छन्। कसैसँग तीतो परेको हुन सक्छ। म चिप्लो घसेर बोल्न जान्दिनँ। चित्त नबुझेको कुरा फ्याट्ट बोलिहाल्ने बानी छ। हक्की स्वभावकी छु। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ! त्यही काँडाहरूले आस्था यस्ती छे, त्यस्ती छे भन्ने हुन्। किनभने, मानिसहरू सत्यभन्दा पनि सुगरकोटेड, चिप्लो घस्ने, बोक्राहरूसँग मख्ख छन्। 

चिप्लो घस्नुपर्ने इन्डस्ट्रीमा स्टे«ट फरवार्ड भएर अगाडि बढ्न कत्तिको गाह्रो हुँदो रहेछ ?

गाह्रै छ। बोक्रे र चिप्लेहरू भएको ठाउँमा खस्रेहरूलाई राम्रो मानिँदैन। मैदा जति नै मसिनो किन नहोस्, त्यो खायो भने कब्जियत हुन्छ।  मकै, भटमास र चना मिसाएर बनाएको सातु खस्रो हुन्छ, तर त्यसले पाचनप्रक्रियालाई र पेटलाई राम्रो गर्छ। त्यसैले म त भन्छु– कब्जियत भएर बिरामी हुनुभन्दा सातु खानुस्, स्वस्थ रहनुस् ! 

मेला–महोत्सवमा आयोजकले पैसा नदिएको स्ट्याटस पनि तपाईंको फेसबुकमा आइरहन्छ। कति पैसा उठाउन बाँकी छ ?
राष्ट्रिय मेला र महोत्सवमा धोका दिने वा पैसा नदिने हुँदेन। विदेशमा गरेको कार्यक्रमबाट चाहिँ नपाएको हो। जति चोटिभन्दा पनि नटेरेपछि झकझकाउनका लागि स्ट्याटस लेख्नैपर्‍यो। मैले स्ट्याटस लेखेपछि धेरै अग्रज कलाकारले यो मान्छे कस्तो ? त्यो मान्छे कस्तो ? भनेर मसँग आइडिया लिनुभएको छ। यस्ता कुरामा चुप लाग्नुभन्दा पनि बोल्नुपर्छ। यसले अरूलाई पनि सजग गराउँछ। 

आयोजकले घाटा लागेर कलाकारलाई पैसा दिँदैनन् कि उनीहरूको नियत नै खराब हुन्छ ?

कोही त फटाहा नै हुन्छन्। नियतै खराब हुन्छ। सुरुमा रोइकराइ खुट्टै ढोगौँलाजस्तो गर्छन्। काम सकिएपछि असली अनुहार देखाउँछन्। अस्टे«लिया लैजाने एक जना फटाहाले त धेरैलाई डुबाएको रहेछ। हरेक कलाकारको सहायक बनाएर अस्टे«लिया पठाउँछु भन्दै मान्छेहरूसँग पैसा ठग्दो रहेछ। 

महोत्सवमा गीत सुन्न धेरै मानिस आउँछन् कि आस्थालाई हेर्न ?

हाम्रोमा आफूलाई हेराउनकै लागि स्टेज चढ्ने टाइपका छोरीचेली पनि छन्। तर, मेरा दर्शक मलाई हेर्न होइन, मेरो गीत सुन्न आउँछन्। ‘द भ्वाइस’पछि त झन् धेरैले मलाई चिनेका छन्। बाटोमा मास्क लगाएर हिँड्दा पनि चिन्छन्। खुशी पनि लाग्छ, दुःख पनि लाग्छ। 

दुःख चाहिँ किन ?

पर्सनल लाइफमा स्पेस नपाइएला भनेर।

खोइ त ‘पर्सनल लाइफ’ सुरु भएको ? न ‘रिलेसन’मा हुनुहुन्छ...  

पर्सनल लाइफ भनेको हिँड्दा, डुल्दा साथीहरूसँग भेट्दा पनि त हुन्छ नि। त्यो बेला पनि स्पेस त चाहियो। 

केटाहरू आस्था भनेपछि छेउमै आउन डराउँछन्। अनि कसरी सुरु हुन्छ ‘पर्सनल लाइफ’ ?

पर्सनल लाइफ सुरु हुन धेरै केटा झुम्मिनैपर्दैन। मलाई एउटा आँटिलो सोच र ठूलो मन भएको जुझारु र विद्वान् केटा चहिएको हो। जो नेपालीपन, नेपाली माटो र छोरीचेलीलाई सम्मान गर्ने खालको होस्। ‘टु मेनी कुक्स स्प्वाइल द ब्र्रोथ’ भनेजस्तो चाहिएको होइन। एउटा सेफ चाहिएको हो। जसलाई के चिज हाल्दा जीवन स्वादिलो हुन्छ भन्ने कुरा थाहा होस्। 

त्यस्तो मानिस भेट्दै नभेटेको कि भेटेर पनि छुटिसकेको ? 

मैले कतिलाई मन पराएँ होला। कतिले मलाई मन पराए होलान्। तर, मलाई अहिलेसम्म यो मानिस मेरो जीवनमा आइदिए हुन्थ्यो भन्ने लागेन। यस्तो राम्रो केटालाई गुमाएँ भनेर पछुतो पनि कहिल्यै लागेन।

तस्बिर: कुबेर डंगोल

अहिलेसम्म कोही मन परेन त ?

यो विषयमा बाहिरतिर मेरो कुरा काट्नेहरू पनि छन्। सम्बन्धका कुरालाई लिएर मेरो जेन्डरमै प्रश्न गर्नेहरू पनि छन्। आस्था लेज्बियन हो कि भनेर शंका गर्नेहरू पनि छन्। तर, कोही केटासँग सम्बन्धमा नबस्दैमा मलाई त्यसो भन्न कहाँ पाइन्छ र ? ‘जून देखे जूनै राम्रो, घाम देखे घामै राम्रो’ गर्ने बानी हाम्रो छैन। अहिले दायाँबायाँ नसोचौँ, विचार गरेर मात्रै यस्तो कुरामा हात हालौँ भन्दा हल्लीखल्ली हुन्छ। दर्शकले मलाई यत्रो माया र सम्मान दिनुभएको छ। त्यसको बदलामा म अल्लारे भएर हिँड्नु त भएन नि। मेरो पनि लभ परेको थियो। मलाई केटा मानिस नै मन पर्छ। फरक यत्ति हो, मेरो रोजाइ अलि भिन्न छ। 

आमाबुबा के भन्नुहुन्छ ?

हरेक आमाबुबालाई छोराछोरीको चिन्ता हन्छ नै। मलाई मेरा आमाबुबाले कुनै कुरामा कहिल्यै प्रेसर दिनुभएन। बिहेको कुरामा उहाँहरूबाट जातभातमा केही अप्ठ्यारो छैन। मलाई खुशी राख्ने र मेरो सांगीतिक यात्रालाई साथ दिने ज्वाइँ होस् भन्ने उहाँहरू चाहनुहुन्छ। ‘कहिलेकाहीँ मलाई यो–यो गुण भएको केटा भए हुन्छ’ भन्छु। उहाँहरू ‘एउटै मानिसमा यी सबै गुण हुँदैनन्, चार–पाँच जना मिलाएर बल्ल ती सबै गुण पाइन्छन्’ भन्नुहुन्छ। ‘ओहो, म द्रोपदी चाहिँ बन्न सक्दिनँ है’ भनेर उहाँहरूसँग ठट्टा गर्छु। 

महिला शरीरलाई गलत ढंगले व्याख्या गरेको गीत गाउँदिन भन्नुभएको छ, होइन ?

हो, मैले अहिलेसम्म त्यस्तो गीत गाएको पनि छैन र गाउँदा पनि गाउँदिनँ। अहिलेका हिट नम्बरका अधिकांश आइटम गीत मैले छाडेका गीत हुन्। ती गीतले मिलियन भ्युज पाएका छन्। तर, तिनका शब्दहरूले छोरीचेलीको अपमान गरेकाले मैले आपत्ति जनाएकी थिएँ र गाउन अस्वीकार गरेकी थिएँ। त्यसमाथि मेरी आमा गीतकार हुनुहुन्छ। ‘डबल मिनिङ’ वाला गीत गाउन मेरो नैतिकताले दिँदैन। यस्ता गीत मरिगए गाउँदिनँ।  

आमासँग धेरै नजिक हुनुहुन्छ क्यारे?

एकदमै नजिक छु। मलाई मेरो हरेक निर्णयमा उहाँको साथ चाहिन्छ। म आज जे छु, ममा जति पनि सकारात्मक कुरा छन्, त्यो आमाबाटै आएको हो।

बाहिरबाट हेर्दा जति कठोर देखिनुहुन्छ, भित्र उति नै कोमल हुनुहुन्छ भन्ने पनि सुनिन्छ। हो ? 

एकदमै इमोसनल छु। म काँचो नरिवलजस्तै हुँ । बाहिर कडा, भित्र नरम ! 

‘द भ्वाइस’को अनुभव कस्तो रह्यो?

सोचेभन्दा धेरै राम्रो। मैले आफूलाई चिनेँ। म कतिसम्म प्रेसर लिएर काम गर्न सक्ने रहेछु भनेर थाहा पाएँ। किनभने, म एकदमै सोखिन मान्छे हो। आफ्नो हिसाबले सुत्ने, आफ्नै हिसाबले उठ्ने मेरो बानी थियो। ‘द भ्वाइस’ले मलाई मेहनती। जस्तो अवस्थामा पनि डटेर लड्न सक्ने बनायो। त्यस्तै, छोरीचेलीलाई नजिकबाट बुझ्ने मौका पाएँ। 

महिलालाई तपाईंले त्यत्रो ‘गर्ल पावर’ भन्दाभन्दै टप फोर त सबै पुरुषले ओगटे नि ?

यहाँ आफ्ना आमा, दिदीबहिनीलाई माया गरिन्छ। तर, अर्काका आमा दिदीबहिनीप्रति सद्भाव राखिँदैन। पितृसत्ताले गाँजेको समाज छ। महिलाको लागि केही गर्नुपर्छ भने पनि भनाइ र गराइ फरक छन्। ‘द भ्वाइस’मा जित्न सक्ने लेभलका चेलीहरू थिए। तर, जनताको भोटमा छोरीचेलीलाई हेला र पक्षपात गरेको देखियो। यसले हाम्रो समाजको सोच देखाउँछ। छोरी अब्बल हुँदाहुँदै पनि अगाडि बढ्न नसक्नु दुःखको कुरा हो। 

त्यसो त कोच पनि तीन जना पुरुष, तपाईं एक जना महिला हुनुहुन्छ त ?

त्यही त विडम्बना छ। हामी ३३ प्रतिशतमा चित्त बुझाएर बसेका छाैँ। 

प्रतियोगीले गाउँदा आफ्नै गायकीलाई कत्तिको फर्केर हेर्नुभयो ? 

म आफ्नै गायकीमा भन्दा पनि प्रतियोगीले गाउँदा कहाँ गल्ती गरे, त्यो थाहा पाउने भएँ। 

‘म त यता किनारामा’ गीतमा नकारात्मक प्रतिक्रिया आएपछि ‘यो गीत मलाई सुट गर्दैन भन्दाभन्दै गाउन लगाए’ भनेर गुनासो गर्नुभएको थियो नि ? 

त्यो गीत गाउन मलाई करबल गरिएको थिएन। त्यो ‘छक्का पञ्जा’ फिल्मका लागि बनेको गीत थिएन। मसँग हरिवंश आचार्य अंकलले गाउने इच्छा गर्नुभएकाले गाएकी हुँ। हामीले सम्झनाका लागि गीत बनाएका थियौँ। हरिवंश अंकलसँग सहकार्य गर्ने सबैको सपना हुन्छ। त्यसैले उहाँसँग भोकल टोन नमिल्दानमिल्दै पनि गाएकी थिएँ। 

धेरैले त यसलाई तपाईंले आफ्नो गायकीमा भएको कमजोरी स्विकार्न गाह्रो भएको रूपमा अथ्र्याएका थिए।

सबैलाई सबै कुरा मन पर्दैन। संसारमा सबैको सोच उस्तै भयो भने संसार ‘समानसार’ भइहाल्थ्यो नि, किन संसार हुन्थ्यो होला। मैले छाडा, अश्लील, छोरीचेलीका अंगप्रत्यंगका गीत गाएर गाली खाएको भए बरु ‘यस्तो गीत गाएँ, त्यसैले गाली खाएँ’ भन्ने हुन्थ्यो। तर, सभ्य शब्द र भाषाको गीत सभ्य पाराले गाउँदा त्यस्तो कमेन्ट आउँदा रिस उठ्छ नि। ‘फ्रिडम अफ एक्सप्रेसन’ छ भन्दैमा जे पायो, त्यही कमेन्ट गर्न त पाइँदैन नि। राम्रो नियतले गाएको गीतलाई पनि गाली गर्दा कहाँ चित्त बुझ्छ र ? 

मन नपरेको गीतलाई मन परेन भन्न पाइँदैन र ? 

पाइन्छ। तर, त्यसको पनि लेभल हुन्छ, तर्क हुन्छ। हुन त मानिसहरूले भित्र गुदी जे छ, त्यही निकाल्ने त हो। चाहे त्यो कमेन्ट होस् वा कम्प्लिमेन्ट !

अर्कै प्रयोजनले गाएको भनेर त सुन्ने मानिसलाई थाहा नहुन सक्छ नि ? 

बरु मन छैन भने नसुन्ने। तर, अरूले सिर्जना गरेको कुरामा छाडा कमेन्ट गर्न त भएन नि। 

अन्नपूर्ण सम्पूर्ण (https://sampurnaweekly.com/news/2606)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.