भीमेश्वरको दर्शनपछि हिउँको मजा लिँदै पर्यटक
चरिकोट : दोलखाको कालिञ्चोकमा शुक्रबार बिहानैदेखि हिमपात भयो। यो यस वर्षको पहिलो हिमपात हो। शुक्रबार कालिञ्चोक हिँडेका सयौ पर्यटकहरु भारी हिमपातका कारण सवारी साधन गैरीमै रोकिएपछि घन्टौं हिड्न बाध्य भए। हिड्नु परेपनि थकाइको महशुस नै नभएको उनीहरुको भनाइ छ।
काठमाडौँ मुलपानीका अनिलमणी गजुरेल दम्पती शुक्रबार दोलखा भीमेश्वर दर्शन गरेर कालिञ्चोक यात्राको लागि हिँडे। उनलाई संयोग कस्तो पर्यो भने कालिञ्चोक क्षेत्रमा हिमपात भइरहेको थियो। दिउँसो एक बजेतिर कालिञ्चोक कुरीमा भेटिएका अनिलमणीले भने, ‘कालिञ्चोक आइपुग्दा धेरै आनन्द भएको छ, जीवनमै पहिलोपटक हिमपातमा रमाउन पाउँदा थकाइ र चिसो सबै भुलेको छु।’ उनकी श्रीमती अप्सरा दंगाल गजुरेलले पनि कालिञ्चोक आइपुग्दा चारैतिर हिउँ देखेर साहै्र आनन्द लागेको बताइन्। भक्तपुरका सहदेव लामिछानेले पनि जीवनमा पहिलोपटक हिउँसँग खेल्ने मौका पाएका छन्। यति धेरै हिउँ परेको पहिलोपटक देख्दा लडिबुडी खेलिरहुँजस्तो लागेको उनले भने।
काठमाडौँबाट चरिकोटसम्मको सडक बिग्रिएकोले केही महिनादेखि पर्यटक आगमनमा मन्दी भएको थियो शुक्रबारबाट हिमपातसँगै पर्यटकको संख्यामा समेत वृद्धि व्यसायीहरुको भनाइ छ। कालिञ्चोक भगवतीको मन्दिर प्रस्थान विन्दु कुरीमा चारहजार पर्यटक अट्न सक्ने क्षमताको करिब ५५ होटलहरु रहेका छन्। धार्मिक मान्यता अनुसार दोलखा भीमेश्वरको दर्शन गरी कालिञ्चोकको दर्शन गर्यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वास समेत रहँदै आएको छ।
३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ। कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो। कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहदै आएको छ। कालिञ्चोक क्षेत्रमा भेडा गोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ।