सागमा जलपरीको जादु
गत मंसिर २३ गते सातदोबाटोस्थित पौडी पोखरीबाट निस्कँदै गर्दा गौरिका सिंहको गलामा पदकै पदक झुन्डिएका थिए। उनले हालै सकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेकी थिइन्।
सागमा आफूले जितेका सबै पदक भिरेर बाहिर निस्किएकी गौरिकाले भनेकी थिइन्, ‘मेडल साह्रै गह्रौं छ। यति धेरै पदक आउँछ भन्ने थाहा नै थिएन।’
गौरिकाले भनेजस्तै साग पौडीमा नेपालले यति धेरै पदक जित्छ भनेर कमैले मात्र सोचेका थिए। किनभने दक्षिण एसियाली खेलकुद कुम्भमा नेपाली महिला पौडी खेलाडीले अहिलेसम्म व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेका थिएनन्।
त्यसअघि सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला खेलाडीले रिलेमा स्वर्ण पदक जितेका थिए।
तीन वर्षअघि भारतमा आयोजना भएको १२औं सागमा गौरिकाले नै रजत पदक जितेकी थिइन्। यही वर्ष प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले आठवटा राष्ट्रिय कीर्तिमानसहित १२ वटा स्वर्ण पदक जितेकी थिइन्। त्यही कारण गौरिकाबाट धेरैले स्वर्ण आशा राखेका थिए।
तर, गौरिकाले भने सबैभन्दा दुःख सागअघि भोग्नु पर्यो। सागका लागि गौरिकाको परिवारले बेलायतमै आवश्यक तालिमको व्यवस्था मिलाएको थियो। नयाँ प्रशिक्षक राखेर तालिम सञ्चालन गरेको थियो। तर, दुर्भाग्य ! गौरिकाको काँधमा चोट लाग्यो। यसले सबैलाई चिन्तित पनि बनायो। तर, गौरिकाले हिम्मत हारिनन्। उनले फिजियोथेरापी गर्दै भए पनि तालिम छुटाइनन्। उनको आत्मविश्वास र प्रशिक्षक तथा डाक्टरहरूको मेहनतले गौरिका पुरानै लयमा फर्किइन्। नियमित प्रशिक्षणले समयमा सुधार आए पनि काँधको चोट भने पूर्ण रूपमा ठीक भइसकेको थिएन। उनीसँगै परिवारका सदस्य पनि काँधको चोट नबल्झियोस् भन्नेमा थिए।
नेपाल आएपछि हजुरआमा कविता राणाले उनको बायाँ काँधमा दैनिक मालिस गरिदिइन्। त्यही मालिसका कारण पनि गौरिकालाई खेल्न सजिलो भयो र उनले आफ्नो नाम नेपाली खेलकुद इतिहासमै स्वर्ण अक्षरले लेख्न सफल भइन्। त्यही कारण उनी आफूलाई भाग्यमानी ठान्छिन्। ‘कतिपय खेलाडीलाई परिवारबाट साथ र सहयोग हुन्न। मैले त मेरा लागि खटिदिने बुवा, आमा, हजुरबुवा र हजुरआमा पाएकी छु’, उनले भनिन्।
उनले पहिलो स्वर्णभन्दा पनि दोस्रो स्वर्ण आफ्ना लागि विशेष र यादगार भएको बताइन्। ‘पहिलो स्वर्ण जित्न धेरै गाह्रो भएन तर दोस्रोमा कम्पिटिसन धेरै भयो। भारतीय खेलाडी सिभांगी शर्माले अन्तिम समयसम्म पनि टक्कर दिएकी थिइन्’, गौरिकाले भनिन्।
उनले ऐतिहासिक सफलतामा आफूलाई निकै खुसी लागेको बताइन्। ‘सागमा मैले जुन प्रदर्शन गरेँ, यसमा आफूलाई त खुसी लागि नै हाल्छ’, उनले भनिन्, ‘यसले मलाई मात्र होइन, अरू नयाँ खेलाडीका लागि प्रेरणा मिलोस् भन्ने चाहन्छु।’ उनले नयाँ खेलाडीलाई सफलता हासिल गर्न राम्रो प्रशिक्षणका साथै घरपरिवारको साथ र सहयोग चाहिने बताइन्।
गौरिकाले आफू विदेशमा बस्यो भन्दैमा नेपाली होइन भन्दा साह्रै नरमाइलो लाग्ने बताइन्। ‘विदेशमा बसे पनि म र मेरो परिवार नेपाली नै हो। म जहाँ बसे पनि, जहाँ प्रशिक्षण गरे पनि आफ्नो देशका लागि सधैं खेल्नेछु’, उनले भनिन्, ‘मेरा बुवा, आमा र मेरो पासपोर्ट नेपालकै छ। मैले जितेको पदक पनि नेपाल र नेपालीकै लागि हो।’
उनले आफू पार्टटाइम स्विमर र फुलटाइम स्टुडेन्ट भएकाले मुख्य प्राथमिकता पढाइमा रहेको बताइन्। उनले लन्डनबाट पढाइका लागि अमेरिका जान लागेको जानकारी दिइन्। यसबीचमा पनि मुख्य लक्ष्य र योजना भने अर्को वर्ष आयोजना हुने ओलम्पिकमा छनोट भएर सहभागी हुने रहेको उनले बताइन्। ‘अब मैले ओलम्पिकका लागि छनोट हुन राम्रो तयारी गर्नु छ। मसँग नौ महिनाको समय छ’, गौरिकाले भनिन्, ‘यही समयभित्र ओलम्पिकमा छनोट हुनु छ।’
सन् २०१६ को रियो ओलम्पिककी कान्छी ओलम्पियन गौरिकालाई गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अन्य खेलाडीसँगको भेट झन् अविस्मरणीय लागेको छ। मार्चपासमा धेरै खेलाडीसँग बोलचाल नभए पनि तेक्वान्दो खेलाडी आयशा शाक्यसँग भएको कुराकानीले उनमा थप ऊर्जा भरेको छ। ‘उहाँ दुईवटा बच्चाको आमा भएर पनि स्पोर्ट्समा फर्किनुभएको रहेछ। धेरैले यस्तो गर्न सक्दैनन्। उहाँसँग भेट्दा साह्रै खुसी लाग्यो’, गौरिकाले भनिन्।
गौरिका सिंहले लन्डनमा बसेर पौडीलाई अगाडि बढाइरहेकी छन्। लन्डनमै निजी प्रशिक्षकबाट पौडी सिक्दै आएकी उनी दक्षिण एसियाली खेलकुद र ओलम्पिकमा पनि सहभागी भइसकेकी थिइन्। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा गौरिका कान्छी खेलाडीका रूपमा संसारभर चर्चामा छाएकी थिइन्।
१२औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक एक रजतसहित चार पदक जितेकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन्। रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी भएर उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खुबै छाइन् पनि। १३ वर्षकै उमेरमा पौडीबाट ओलम्पिकमा सहभागी उनी ११ हजारभन्दा बढी प्रतिस्पर्धीमाझ आकर्षणको केन्द्र बनेकी थिइन्। उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष दुई सय ५५ दिनकी थिइन्।
सन् २००२, नोभेम्बर २६ मा जन्मिएकी गौरिकाले सातामा आठदेखि नौ सेसन पौडीको अभ्यास गर्दै आएकी छन्। हरेक सेसन दुईदेखि तीन घण्टासम्म चल्छ।