नेपाली प्रस्तर मूर्तिको इतिहास
काठमाडौं : नेपालको प्रस्तर मूर्तिकलाबारे ‘नेप्लिज स्टोन स्कल्पचर’ प्रकाशित भएको छ । दुई खण्डमा प्रकाशित पुस्तकका लेखक उल्रिक भान स्लोडर हुन् । पहिलो खण्डमा हिन्दू र दोस्रो खण्डमा बौद्ध गरी २९ सय प्रस्तर मूर्ति समावेश गरिएको छ, जसमध्ये ११ सय ५० वटा प्रस्तर मूर्तिका फोटा यसअघि प्रकाशित भएका थिएनन् ।
यो काम उल्रिकले सन् १९६५ मा पहिलो पटक नेपाल आउँदादेखि थालेका हुन् । त्यति बेला उनको उमेर २२ वर्ष थियो । उनले झन्डै ५० वर्षको कालमा संकलन गरेका फोटाहरूलाई पुस्तकमा समेटिएको छ । पुस्तकमा उल्रिकका फोटोका साथै पुरातत्त्व विभागका फाटोग्राफर सुनिल डंगोलका फोटोहरू पनि समावेश छन् ।
पहिलो खण्डको सात सय ९८ पृष्ठको पुस्तकमा १७ सय २० रंगीन तथा टोनमा छापिएका प्रस्तर मूर्तिका फोटा छन् । त्यस्तै दोस्रो खण्डको सात सय ५८ पृष्ठको पुस्तकमा १२ सय ४० रंगीन तथा टोनमा छापिएका प्रस्तर मूर्तिका फोटा छन् । पुस्तकलाई भिजुअल धर्मा, स्विट्जरल्यान्डले छापेको हो । पुस्तकसँगै १५ हजार वटा फोटा भएको एसडी कार्ड पनि उपलब्ध हुनेछ, जसमा भएको फोटालाई जनसाधारणले प्रयोग गर्न पाउनेछन् ।
पुस्तकमा हनुमान ढोकाको मोहन चोक हिटी, भक्तपुर दरबार क्षेत्रको कुमारीपाटी, पशुपतिनाथ मन्दिरपरिसरका प्रस्तर मूर्तिलगायतका कयौं ऐतिहासिक मूर्ति समेटिएको छ । पुस्तकमा उल्रिकले यसअघि सन् १९८१ मा प्रकाशित ‘इन्डो टिबेटियन ब्रन्ज स्कल्पचर’कै शैलीलाई पछ्याएका छन् जसमा आइकोनोग्राफी, शैली र मिति उल्लेख गरिनुका साथै मूर्तिबारे पूर्वप्रकाशित सूचना तथा जानकारी पनि समावेश छ ।
प्रस्तुत पुस्तकमा ढुंगाको मूर्तिको राम्रो अभिलेख भएको धारणा त्रिभुवन विश्वविद्यालय नेपाली संस्कृति तथा इतिहास विभाग प्रमुख प्रा. मदन रिमालको छ । उनका भनाइमा फोटोसँगै मूर्तिको राम्रो वर्णन भएको हुँदा पुस्तक महŒवपूर्ण छ । ‘हामीले विचार नगरेका केही मूर्ति पनि पुस्तकमा प्राथमिकताका साथ परेको देख्दा मलाई आश्चर्य लाग्यो’, रिमालले भने, ‘जस्तै भीमसेनस्थानको हरिहरको मूर्ति तथा हाँडीगाउँको सत्यनारायणको मूर्ति जुन सामान्य धातुका आभूषणले ढाकिएका हुन्छन्, ती पनि पुस्तकमा समावेश छन् ।’
फोटोको उच्च गुणस्तरले पनि पुस्तकको ओज बढाएको रिमालले बताए । ‘झन्डै १५ सय वर्ष कालखण्डको नेपाली प्रस्तर मूर्तिलाई पुस्तकले राम्रो अभिलेख गरेकाले मूर्ति इतिहासको अध्ययनमा उपयोगी हुनेछ’, उनले भने ।