दुर्घटनाका घाइते भन्छन्- ‘बाँचिन्छ भन्ने आसै थिएन, कुन भाग्यले बचायो !’
खाडीचौर : सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकमा आइतबार बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। १८ यात्रु घाइते भएका छन्। बा.२ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिकामा पर्ने ६ किलोमा सडकबाट ७० मिटर तल खसेको हो।
घाइते सुकमाया तामाङले बस मोडमा आएपछि एक्कासि तल खसेको बताइन्। ‘गुडिरहेको गाडी एक्कासि बल्ड्याङ खान थाल्यो’, उनले भनिन्, ‘बाँचिन्छ भन्ने आसै थिएन। कुन भाग्यले बचायो ! धर्म गर्न गएको यो हालत भयो।’
सडकको अन्य भागमा पिच भए पनि मोडमा छैन। मोडमा सडक भिरालो छ। उक्त रुटमा अनुभव नभएका चालकले बस कुनातिर कोल्टिने डरले छेउबाट मोड्न खोज्दा दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए।
‘अन्य प्राविधिक विषय त अनुसन्धानपछि थाहा होला’, प्रहरी उपरीक्षक महर्जनले भने, ‘बस कोल्टिने खतराबाट जोगाउन खोज्दा दुर्घटना भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।’ चालक फरार भने छन्।
प्रहरी नायब उपरीक्षक माधवराज काफ्लेका अनुसार मृतकमध्ये नौ महिला र ६ पुरुष छन्। आइतबार साँझसम्म १४ जनाको सनाखत भएको छ। करिब २४ वर्षीय एक युवकको सनाखत हुन सकेको छैन।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङ्लाकोटका २८ वर्षीय सुकबहादुर तामाङ, पाँच वर्षीया सविना तामाङ, १५ वर्षीया रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, बलेफी–७ की ३० वर्षीया रेश्मा तामाङ छन्। यस्तै, दोलखा भीमेश्वरकी ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, काभ्रे बेथानचोक–५ का ३६ वर्षीय रामशरण खत्री, ३५ वर्षीया मैया केसी, रामेछाप सुनापाती–६ की ४२ वर्षीया जुनुमाया तामाङ, उमाकुण्ड गाउँपालिका–४ का २४ वर्षीय महेश तामाङ, भक्तपुर सूर्यविनायक नगरपालिकाका १० वर्षीय रञ्जित बस्नेत, उनकी आमा ३२ वर्षीया तिनु बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोककै लिशंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गंगामाया तामाङ, बलेफी–७ कै फूलमाया तामाङको पनि ज्यान गएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
दोलखाको प्रख्यात तीर्थस्थल कालिञ्चोक गएका यात्रु बोकेर उक्त बस भक्तपुर फर्किंदै थियो। भक्तपुर बस्दै आएका याङ्लाकोटका बासिन्दा शनिबार बिहान भक्तपुरकै च्यामासिंह क्षेत्रमा चल्ने बस रिजर्भ गरी कालिञ्चोक दर्शनमा गएका थिए। उनीहरू दिउँसो २ बजे त्यहाँबाट फर्किएका थिए। बेलुका ८ बजे मुडे आइपुगेर बास बसेका थिए।
‘केही समयको छलफलपछि हामी मुडेको एक होटलमा बास बस्यौं’, घाइते दोर्जे तामाङले भने, ‘आइतबार बिहान पौने ७ बजे चिया पिएर मुडेबाट हिँडेका थियौं। करिब पौने घण्टापछि दुर्घटनामा परिहाल्यौं।’
दुर्घटनाका घाइतेमध्ये १४ जना राजधानीको ह्याम्स अस्पताल र चार जना धुलिखेल अस्पतालमा उपचाररत छन्। सिन्धु सदाबहार अस्पताल खाडीचौरमा प्राथमिक उपचारपछि उनीहरूलाई राजधानी रिफर गरिएको हो। सबैको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए।