वर्ग निर्माणमा जातकै भूमिका
पोखरा : जंगबहादुर राणाले पहिलो कानुन बनाए, मुलुकी ऐन। जहानियाँ तानाशाही शासनका संस्थापक भए पनि उनले विधिको शासनका लागि कानुन बनाउनुलाई कतिपयले प्रशंसा गर्छन्। तर लेखक आहुति भने त्यही कानुनले नेपालमा वर्ग निर्माण गरेको बताउँछन्। भन्छन्, ‘कसैलाई धनी त कसैलाई गरिब बनायो।’
अझ कसैलाई हुने खाने र कसैलाई हुँदा खाने बनाउने वर्ग निर्माणको काम जातले गरेको उनको विश्लेषण छ। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन उनले नेपालमा वर्ग निर्माणको विन्यास विषयमा विद्वत् मन्तव्य राखे। उनकै भनाइमा राणाकालमा सम्पत्ति भनेकै जमिन थियो तर निश्चित जातिले मात्रै जमिन बिर्ता पाउने र निश्चितले नपाउने बनाइयो। ‘निर्णायक कुरा जमिन थियो’, उनले भने, ‘जमिनमा कसको हक हुने र नहुने भन्ने कुरामा जातले भूमिका खेल्यो।’ दलितले कहिल्यै बिर्ता नपाएको पनि उनले सुनाए।
जातीय, भौगोलिक र भाषिक उत्पीडन नेपालमा वर्ग निर्माणको प्रक्रिया रहेको उनको भनाइ थियो। तर अहिलेसम्मका राजनीतिक आन्दोलनपछि दलहरूले आफ्नो कार्यदिशामा यी उत्पीडनलाई समेट्न नसकेको उनले उल्लेख गरे। ‘ठकुरी थर भएको मान्छे कहिल्यै पनि हलिया बस्नु परेन। त्यसको पुर्खा र सन्तान कोही हलिया छैन। तराईंको मुसहर हो भने उसको पुर्खा कहिल्यै सामन्त थिएन,’ उनले भने।
अबको नेतृत्व विषयमा पर्यटनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता गगन थापा र साझा पार्टी संयोजक रवीन्द्र मि श्रले बहस गरे। गगनले भने, ‘नर्सरी बनाएर, गोलमेल गरेर, पानी र मल हालेर नेता जन्मिन्न, नेता त संघर्षबाट जन्मिन्छ।’ योगेशले राजनीतिमा चमत्कार सम्भव नभए पनि कार्यशैली र कामबाट भिन्न हुने प्रयास गरेको सुनाए। रवीन्द्रले नेताहरूको आचरणमा आपत्ति जनाए। व्यक्ति विशेषलाई पोस्न पुराना पार्टीका नेताहरू लागेको उनले बताए। तीन नेतासँग पत्रकार उमेश चौहानले कुराकानी गरेका थिए।
अर्बपति विनोद चौधरीले नेपाली बजारको विश्वव्यापीकरणबारे पत्रकार प्रतीक प्रधानसँग भलाकुसारी गरे। मुर्झाएको निबन्ध शीर्षकमा अन्नपूर्ण पोस्टकर्मी विमल आचार्यले रोशन शेरचन, गीता त्रिपाठी र रमेश सायनसँग छलफल गरे। हामीले बाँच्न चाहेको नेपाल शीर्षक सेसनमा शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेलले कुराकानी गरे।
आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषामा उद्यमी नीरञ्जन श्रेष्ठ, विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धरबीच अन्तरसंवाद चल्यो। पावरिङ सस्टेनेब्ली शीर्षकमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रूपक डी शर्माले संवाद गरे। ट्रान्सलेसिङ साउथ एसिया विषयमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले छलफल गरे। उनीहरूले दक्षिण एसियामा अनुवाद साहित्यको अवस्था र यसको प्रभाव, वस्तुस्थितिबारे अन्तरसंवाद गरेका थिए।
महोत्सवको अर्काे सेसन थियो, राइटिङ इन द एज अफ पपुलिज्म। यसमा जेरेमी थम्बिङ, हरिश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो। लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे। जस्तो कि, भारतमा नरेन्द्र मोदी र बेलायतमा बे्रक्जिट आदि लोकरिझ्याइँमा लाग्दा लेखकको मनोबल कसरी खस्किएको छ भन्ने विषयमा संवाद भयो। भवसागर घिमिरेको हजुरबाको बगैंचा र हेमलता राईको पुस्तक चंगा चैट महोत्सवकै बीच आइतबार विमोचन भयो।