एक वर्षको तलबभत्ता खर्चिएर मुस्ताङ चिनाउने गीत बनाउँदै सांसद
जोमसोम : उपल्लो मुस्ताबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको पहलमा आसन्न नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी २ वटा गीत रेकर्ड भएका छन्। पर्यटन प्रर्वद्धनमा योगदान दिने उद्देश्यले रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो गत शनिबारदेखि लोमान्थाङमा छायांकन भइरहेको छ।
सांसद बिष्टले आफ्नो एक वर्षको तलबभत्ता रकम खर्चिएर गीतसँगै म्युजिक भिडियो छायांकन लगानी गरेका हुन्। सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्ने उद्देश्यले म्युजिक भिडियो निर्माणमा सांसद बिष्टले व्यक्तिगत लगानी गरेका हुन्। आसन्न नेपाल पर्यटन वर्षलाई लक्ष्य गरी उनले प्रिजीमा रेकर्डिङ स्टुडियोमा लोक गीत र अर्को आधुनिक गीत रेकर्ड गराएका हुन्। गीतको पोस्ट प्रोडक्सन साई भिजन प्रा.लि. रहेको छ।
दुवै गीतको शब्द रचना रमेश बिजीको रहेको छ। एउटा गीतमा चर्चित लोक लोक गायक रामजी खाँड र गायिका संगिता थापामगरले स्वर दिएका छन्। अर्काे गीत निशा गुरुङले स्वर दिएकी छिन्। दुवै गीतमा बिबी अनुरागी र सुरेश अधिकारीको संगीत संयोजन छ। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्। छायांकन राजेश घिमिरेले गरेका छन्।
पर्यटन वर्षको लोकगीतमा रामजी खाँड र संगिता थापामगर स्वंयमले अभिनय गर्दैछन् भने आधुनिक गीतमा नीशा गुरुङले अभिनय गर्ने सांसद बिष्टले जानकारी दिए। उनका अनुसार दुवै गीतको छायांकनद उपल्लो मुस्ताङको कोरला नाका, लोमान्थाङ बजार, चराङ, मराङ र चैलेमा हुनेछ त्यसैगरी तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतमा छायांकन हुनेछ।
हिमपातका कारण मुस्ताङका डाँडाकाँडा सेताम्मे छन्। हिउँले सेताम्मे डाँडाकाँडालाई म्युजिक भिडियोमा कैद गर्ने उद्देश्यले सांसद बिष्टसहितको छायांकन टोली उपल्लो मुस्ताङ पुगेको हो।
गीतको म्युजिक भिडियोमा मुुस्ताङको अनौठा भूगोल, यहाँ उत्पादित कृषिजन्य वस्तु, मौलिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरुको छायांकनमा समिटिने विष्टले जानकारी दिए।
पर्यटन वर्ष सुरु हुने जनवरी १ मा म्युजिक भिडियो भव्य समारोहका गरी सार्वजनिक गर्ने सांसद विष्टको योजना छ। टोलीले मुस्ताङमा एकसाता बसी दुवै गीतको म्युजिक भिडियोको छायांकन सक्ने तयारी रहेको निर्देशक प्रकाश भट्टले जानकारी दिए।
गीत र म्युजिक भिडियोले मुस्ताङलाई विश्वभर चिनाउन मद्दत गर्ने दाबी सांसद विष्टले गरे। गीतले गण्डकी प्रदेशकै पर्यटनमा सघाउ पू¥याउने र सरकारले घोषणा गरेका ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन मद्दत गर्ने विष्टको दाबी छ।