सडकको हिउँ पन्छाउँदै प्रहरी र स्थानीय
बेंसीसहर : भारी हिमपातपछि अवरुद्ध बनेको हिमाली जिल्ला मनाङको सडक सुचारु भएको छ। तीन दिनदेखि अवरुद्ध सडक हिउँ हटाएर नेपाल प्रहरीले सुचारु गरेको हो। मंसिर २७ गतेदेखि भएको हिमपातले मनाङको चामे गाउँपालिका १ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका ९ खाङसारसम्मको सडक अवरुद्ध बनेको थियो। यता बेसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी टिकाबहादुर कार्कीको कमाण्डमा खटिएका ३५ जना प्रहरी र स्थानीय मिलेर हिउँ पन्छाएका हुन् । हिउँ पन्छाएपछि पैदल हिँड्न र सवारी साधान गुडाउन सहज भएको डिएपसी कार्कीले बताए ।
वरपरका डाँडाकाँडा हिउँले ढाकिएपछि मनाङको जनजीवन प्रभावित भएको छ । बिहान बेलुकाको तापक्रम माइनस ६ डिग्री पुग्ने गरेको छ । चिसोले पानी तथा झरना जम्न थालेका छन् । स्थानीय घर बाहिर निस्कन र काम गर्न सकेका छैनन् । कार्यालयमा सेवाग्राही घट्न थालेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।