जीर्ण घरमा कठ्याङ्ग्रिँदै बालबालिका (भिडियाे रिपोर्ट)
थकम (धादिङ) : जीर्ण घर, जहाँ बस्छ एक परिवार, छैन खाना, न त छन् ओढ्ने ओच्छ्याउने कपडा, धादिङको थाक्रे गाउँपालिका-५ थकम गाउँमा बस्ने एउटा परिवारको कथा हो यो।
यो परिवारका तीन बालबालिका अभाव र गरिबीसँग जुधेर भोकभोकै चिसो जाडोमा कठ्याङ्ग्रिरहेका छन्। गरिबीको कारण कोही मर्नुपर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई कविता खतिवडाको परिवारले दिनहुँदिन भोगिरहेको पीडाले गिज्याइरहेको छ।
घर मुलिहरु (श्रीमान श्रीमती) दुबै अपाङग छन्। न उनीहरुसँग बस्ने बास छ। न त खाने गाँस छ। पेटभरि खान पाउने त परको कुरा भूकम्पले जीर्ण बनाएको घरमा ज्यान जोखिममा राखेर बसिरहेका छन् यिनिहरु। कविताको श्रीमान द्धारिकाको एउटा हातले काम गर्दैन, कविता पनि दुबै गोडाले भर पाउने गरि टेक्न सक्दिनन्, हिँडडुल गर्नपनि हातको सहारा चाहिन्छ।
जीर्ण घरको भग्नावशेष पनि कुन बेला भत्किएर पुरिन्छ, केही थाहा छैन। तर, पनि त्यही घरमा जीवन गुजार्नुपर्ने बाध्यतामा छ खतिवडा परिवार। उनीहरुको विजोग देखेर छिमेकीले एउटा पुरानो कम्वल त दिएका छन्। त्यही कम्वल ओढेर र त्रिपाल ओच्छ्याएर त्यही भग्नावशेष घरको पिढिमा ५ जना लहरै सुत्छन्।