अस्पतालमा दमकलबाट खानेपानी
बेसीसहर : लमजुङ सदरमुकाम बेसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पानीको अभाव भएको छ। पानी अभाव भएपछि अस्पतालले बेसीसहर नगरपालिकाको दमकल प्रयोग गरी पानी आपूर्ति गर्ने गरेको हो।
बिरामी र कुरुवाले होटल तथा क्यान्टिनबाट पानी किनेर खानु परेको गुनासो गरेका छन्। पानी नआउँदा शौचालय जान र लुगा धुन समस्या परेको छ। वडा ११ स्थित राम चोककी विन्दुमाया परियारले सुत्केरी र बच्चाको कपडा धुने पानी नपाउँदा समस्या भएको बताइन्। ‘सुत्केरी छोरी कुर्न बस्दा पानीको धेरै समस्या भयो’, परियारले भनिन्, ‘अस्पतालको धारामा थोपा पानी आउँदैन। सुत्केरीको कपडा धुन पाएको छैन। शौचालय गयो हाल्ने पानी छैन। साह्रै समस्या भयो।’
अस्पतालका मर्मतसम्भार प्रमुख शेरमानसिंह अर्यालका अनुसार अस्पतालमा १५ हजार लिटरको ३ वटा ट्यांकी छ। दैनिक १० हजार लिटर पानी अस्पताललाई आवश्यक पर्छ। पानी नआएकै कारण ट्यांकी खाली भएको उनले बताए। ‘कुनै दिन १ घण्टा पानी आउँछ। कुनै दिन आधा घण्टा आएर सुक्छ। आवश्यक पर्ने १० हजार लिटर हो। पानी दैनिक २ हजार लिटर जति आउँछ। लौन्ड्रीमा मात्रै दैनिक ४ हजार लिटर पानी खर्च हुन्छ’, उनले भने, ‘पानी नभएका कारण बिरामी र कुरुवाले बोतलमा पानी लिएर शौचालय जान्छन्। कपडा धुन पाएका छैनन्। बाल्टी बोकेर पानी खोज्न हिँड्नु पर्छ।’
सबैभन्दा बढी अपरेसन कोठामा समस्या भएको छ। अपरेसनपछि चिकित्सकले हात धुने पानीसमेत नभएको भन्ने गरेपछि गार्डले बाहिरबाट पानी खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा पानी खुवाउने तालिका बिहान ६ बजेदेखि साँढे ९ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म छ। तर पानी भने एक घण्टामात्र आउने गरेको उनले बताए। ‘दैनिक दुई सय बिरामी आउँछन्। भर्ना भएर बस्ने ३०÷४० जना छन्। कर्मचारी ८०÷८५ कर्मचारी छन्’, उनले भने, ‘एक महिनादेखि पानी कम आउन थालेको छ। जति पानी आउँछ त्यो पर्याप्त छैन। अस्पतालको कामकाजका अप्ठ्यारो भएको छ। दमकलमा पानी लिएर काम चलाएका छौं।’
बेसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानका अनुसार पानीको स्रोत कम भएकाले बेसीसहर बजारमा पानीको अभाव भएको बताए। ‘पानीको स्रोत सुक्दै गएको छ। पानी कम भएपछि २ घण्टा मात्र वितरण गरेका छौं। स्रोत कम भएकाले बजारका सबै ठाउँमा पहिले जस्तै पानी पुग्न सकेको छैन।’
प्रजिअले लिए एक्सन
अस्पतालमा पानी अभाव भएको र दमकलबाट ल्याएर आपूर्ति गर्नु परेपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले ‘एक्सन’ लिएका छन्। अस्पतालजस्तो सम्वेदनशील क्षेत्रमा पानी अभाव हुन नहुने भन्दै उनले खानेपानी वितरण गर्दै आएको बेसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष र अस्पताल प्रमुखलाई बोलाएर पानीको समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
अस्पतालमा पानी अभाव भएको जानकारीमा आएपछि थप दुई घण्टा खानेपानीको व्यवस्थापन गरिएको प्रजिअ खड्काले बताए। खानेपानी समितिले नियमित आपूर्तिका अलावा प्रत्येक दिन बेलुका ७ देखि ९ बजेसम्म दैनिक दुई घण्टा पानी उपलब्ध गराउने भएको छ। उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले साविकभन्दा थप दुई घण्टा पानी छोड्ने निर्णय भएको बताए।