हिउँ हटाएर सडक सुचारु
बेसीसहर : भारी हिमपातपछि अवरुद्ध बनेको हिमाली जिल्ला मनाङको सडक सुचारु भएको छ। तीन दिनदेखि अवरुद्ध सडक हिउँ हटाएर नेपाल प्रहरीले सुचारु गरेको हो।
मंसिर २७ गतेदेखि भएको हिमपातले मनाङको चामे गाउँपालिका १ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका ९ खाङसारसम्मको सडक अवरुद्ध बनेको थियो। यता बेसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध बनेको थियो। जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी टिकाबहादुर कार्कीको कमाण्डमा खटिएका ३५ जना प्रहरी र स्थानीय मिलेर हिउँ पन्छाएका हुन्। हिउँ पन्छाएपछि पैदल हिँड्न र सवारी साधन गुडाउन सहज भएको डीएपसी कार्कीले बताए।
वरपरका डाँडाकाँडा हिउँले ढाकिएपछि मनाङको जनजीवन नराम्ररी प्रभावित भएको छ। बिहान बेलुकाको तापक्रम माइनस ६ डिग्री पुग्ने गरेको छ। चिसोले पानी तथा झरना जम्न थालेका छन्। स्थानीय घर बाहिर निस्कन र काम गर्न सकेका छैनन्। कार्यालयहरूमा सेवाग्राही घट्न थालेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।