झण्डा दिवस : नागरिकले मनाए, राज्यले वास्ता गरेन
काठमाडौं : राजधानीमा मंगलबार दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो । नेपालको राष्ट्रिय झण्डा प्राचीन शैलीको भएको भन्दै यसको संरक्षणका लागि नागरिक स्तरबाट र्याली निकालिएको छ। ‘नेपालको शान, मेरो स्वाभिमान राष्ट्रिय झण्डा, हाम्रो पहिचान’भन्ने नारासहित माइतीघरमा र्याली निकालिएको हो।
कार्यक्रमको आयोजना 'राष्ट्रिय पोषाक संरक्षण महाअभियान नेपल' र 'राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल' ले गरेको थियो ।
भिडियो : सञ्जय न्यौपाने ।
संयोजक राजानन्द माण्डब्य राष्ट्रिय झण्डाको महिमा गुम्दै गएकाले यसको महत्त्व उजागर गर्न झण्डा दिवस मनाएको बताउँछन्। ‘हाम्रो देशको झण्डा अन्य देशको भन्दा भिन्न भएको सबैलाई थाहा छ,’ उनले भने, ‘तर यो किन भिन्न छ कसैलाई थाहा छैन। झण्डालाई परिवर्तन गर्नुपर्छ भन्नेहरुले यसको इतिहास बुझ्न आवश्यक छ।’ सन् १९६२ डिसेम्बर १६ अर्थात वि.सं.२०१९ पुष १ गते प्रचलनमा रहेको वर्तमान झण्डालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो।
नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने संस्कृतिविद् हरिराम जोशी बताउँछन्। जोशीका अनुसार लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ। यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ। शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ। ‘राजनीतिक व्यवस्था परिवर्तन भए तर प्राचीन नेपालको झण्डालाई प्रत्येक शासन व्यवस्थाले अपनाएको छ,’ जोशी भन्छन् ।
नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। हरिमाम जोशीको यसमा आफ्नै तर्क छ। चन्द्र शान्तिको प्रतीक हो भने सूर्य अर्थ परिवर्तनको सूचक भएको उनी मान्छन्। जोशी भन्छन्, ‘देशमा शान्ति स्थापनापछि नै सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउने भएकाले सूर्य तल्लो कोणमा राखिएको हो।’
झण्डामा रहेको ८ कोणको चन्द्रमाले १६ कला र सूर्यको १२ कोणले १२ महिना, १२ राशी बुझाउँछ। रातो रंगले उर्जा, नीलोले आकाश र सेतोले शान्तिलाई प्रतिविम्बन गर्छ।
चन्द्र सूर्य अकिंत झण्डा शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भए। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्म आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो। नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ।
वि सं. २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो । ०१९ मा संवैधानिक मास्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भन्ने गरिएको इन्जिनियर रिमाल बताउँछन्।