फुटबल मैदान निर्माण अन्तिम चरणमा

फुटबल मैदान निर्माण अन्तिम चरणमा

हेटौंडा : हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न मिल्ने फुटबल मैदानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। मैदान निर्माण सकिएलगत्तै सुविधासम्पन्न प्यारापिट निर्माण थालिने ३ नम्बर प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिनाले बताए।

महत्त्वाकांक्षी योजनासहित एक दशकअघि हेटौंडाको गौरीटारमा निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठानभित्र सुविधासम्पन्न प्यारापिट निर्माणका लागि सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्ष २०७५/७६ मा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। हाल उक्त रकमबाट मैदान निर्माणको काम भइरहेको हो। मैदान निर्माण आगामी फागुनको अन्तिमसम्म सकिने जानकारी मैदान निर्माण गरिरहेको गिरी कस्ट्रक्सनका फिल्ड इन्जिनियर एलएन चौधरीले दिए।

मैदान निर्माणको काम सकिएलगत्तै प्यारापिट निर्माणको काम सुरु गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य तिमल्सिनाले बताए। लामो समय केन्द्र सरकार मातहत रहे पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा प्रतिष्ठानको कामले गति लिन सकेको थिएन। ‘चालू आर्थिक वर्षमा छुट्ट्याएको आठ करोडबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न मिल्ने स्टेडियम निर्माण हुन्छ’, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले भने, ‘स्टेडियम निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरेर स्टेडियमको उद्घाटन गर्नेछौं।’ यही वर्षभित्र फुटबल र क्रिकेट खेलका लागि मैदान तयार हुने उनको भनाइ छ।

जिल्ला खेलकुद विकास समितिका खेलकुद प्राविधिक छत्र श्रेष्ठले निर्माण भइरहेको मैदान र प्यारापिट दशरथ रंगशाला बराबर क्षमताको हुने बताए। ‘चारैतिर प्यारापिट बनाउँदा दशरथ रंगशाला बराबरको क्षमता हुन्छ, यहाँ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि आयोजना गर्न मिल्छ’, उनले भने। उपयुक्त पार्किङ तथा वातावरणीय हिसाबमा समेत मैदान उच्च स्तरको रहेको श्रेष्ठले बताए।

जिल्लामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणपछि यहाँको खेल क्षेत्र पनि उत्साही बनेको छ। ‘अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानले यहाँको खेल क्षेत्रमा नयाँ आयम थप्ने विश्वास लिएका छौं’, विजय युथ क्लब हेटौंडाका अध्यक्ष सुदीप राजवाहक भन्छन्, ‘यो वर्षको मकवानपुर गोल्डकपसमेत यही मैदानमा गराउने तयारीमा छौं।’ २३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण भइसकेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि चालू आर्थिक वर्षमा निर्माणाधीन दुईवटा कभर्डहलको काम सम्पन्न गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिष्ठानको निर्माण कार्यमा हालसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माणको योजना छ। करिब पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।

००००

फुटबल मैदान निर्माणकार्य गरिँदै। ० अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.