गाँजाखेतमा प्रहरी पुग्दा भागाभाग
मलंगवा : मंगलबार बिहानै ठूलो संख्यामा प्रहरीको टोली सर्लाहीको हरिवन नगरपालिकाको बेल डाँडामा पुग्यो। प्रहरी पुगनेबित्तिकै गाउँका महिला, पुरुष र युवा सबै घरमा ताला ठोकेर भागे। घरमा साना बालबालिकामात्रै थिए। ती पनि प्रहरी देखेपछि कम्बलको सहारामा लुक्न खोजे।
प्रहरी देख्नेबित्तिकै स्थानीय यसरी भागे कि मानौं संकटकालमा विद्रोही लेखेट्न नै प्रहरी गाउँ पसेको होस्। स्थानीय भागेको देख्दा कुनै युद्ध होलाझैं लागे पनि तर गाउँमा कुनै त्यस्तो तनावको स्थिति भने थिए। कारण हो ठूलै क्षेत्रफलमा लगाएको गाँजा खेती। व्यवसायीक रूपमा गाँजाखेती भएको छ भन्ने खबर पाएपछि मंगलबार बिहानै प्रहरी बेलडाँडा पुगेको थियो।
गाउँलेले आफूहरू सबैलाई प्रहरीले समातेर लैजान्छ भन्ने सोँचले घरमा ताला लगाएर भागेका थिए। गाउँलेलाई सचेत गराएर गाँजा खेती नष्ट गर्न गएको प्रहरीले माइकिङमार्फत गाँजा खेतीका बेफाइदाबारे जानकारी दिँदै गाँजा फाँडेर फर्कियो। करिब साढे २३ बिघा क्षेत्रफलमा लगाइएको व्यवसायीक गाँजाखेती प्रहरीले नष्ट गर्यो।
पूर्व–पश्चिम राजमार्गबाट ११ किलोमिटर उत्तरी क्षेत्र सिन्धुलीको सीमासँग जोडिएको गाउाँमा गाँजा नष्ट गर्न मंगलबार बिहानै जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी खटिएको थियो। माइकिङमार्फत प्रहरीले गाँजा लागूऔषध भएको र यसको कारोबार गर्ने जो कोहीलाई कारबाही हुने भन्दै सचेत गराएको छ। काटिएको हरियो बोटलाई सोही ठाउँमा लागो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ।
बिक्री गर्ने उद्देश्यले डाँडाभरि रोपिएको करिब दस हजार बोट गा“जा फँडानी गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। ‘व्यवसायीक रूपमा नै गाँजा खेती भइरहेको छ भन्ने सूचना पाएपछि हामी गएका थियौं,’ उनले भने, ‘हामी आएको खबर पाउनेबित्तिकै स्थानीय सबै घरमा ताला लगाएर भागिसकेछन्। बालबालिकामात्रै घरमा थिए। उनीहरूलाई केही भन्ने कुरा भएन। माइकिङ गर्दै सचेत गराएर गाँजा नष्ट गर्यौं।’
प्रहरीको खासै उपस्थिति नरहने हुँदा यस क्षेत्रमा लामो समयदेखि व्यवसायीक रुपमै गाँजाखेती हुँदै आएको बताइएको छ। यसअघि जिल्लामा छिटफुट रूपमा गाँजा लगाइएको पाइए पनि बिक्री नै उद्देश्यले यति धेरै परिमाणमा लगाइएको पाइएको पहिलोपटक भएको प्रहरी उपरीक्षक पोखरेलले बताए। चुरे क्षेत्रमा प्रहरीको उपस्थिति नहुने हुँदा चरेस कारोबारीहरू स्थानीयलाई प्रयोग गरी गाँजा खेती गराइरहेको प्रहरीले जनाएको छ।