जेभिएर स्कुललाई 'एक्सलेन्स टिचिङ अवार्ड'
काठमाडौं : काठमाडौंस्थित जेभियर इन्टरनेशनल स्कुल तथा कलेजलाई एक्सलेन्स टिचिङ अवार्ड प्रदान गरिएको छ । हालै दुवईमा आयोजित एक कार्यक्रममा स्कुललाई उक्त अवार्ड वितरण गरिएको हो ।
दुवईको अमिटी विश्वविद्यालयमा आयोजित समारोहमा शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दै जेभियरलाई एक्सलेन्स टिचिङ अवार्ड प्रदान गरिएको हो ।
कुनै पनि मुलुकको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षण सेवा दिने संस्थालाई यो अवार्ड दिने गरिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अफगानिस्तानका शिक्षा मन्त्रालयका वरिष्ठ शिक्षा सल्लाहकार अताउल्लाह वाहिधारले संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरे ।
अवार्ड ग्रहण गरेपछि जेभियरका कार्यकारी निर्देशक लोक वहादुर भण्डारीले भने, 'नेपालका शैक्षिक संस्थाहरु पनि अन्तर्राष्ट्रिय अवार्डका लागि योग्य छन् । यहाँका स्कुल कलेजले पनि अन्तर्राष्ट्रिय स्तरको पढाई दिइरहेका छन् भन्ने प्रमाण यो अवार्डले दिलाएको छ ।'
शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिबाट सञ्चालित जेभिएरले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षा प्रदान गरिरहेको छ ।