संस्कृत विश्वविद्यालय : ४ वर्षमा पनि भएन पुनर्निर्माण
काठमाडौं : बसन्तपुर दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भूकम्पले चारैतिर चिरिएर जीर्ण अवस्थामा छ। चार वर्षयता पुनर्निर्माण भएको छैन। टेकोको भरमा भवन अडिएको छ। वसन्तपुर क्षेत्रमा रहेका अन्य सम्पदाको भने यतिबेला धमाधम पुनर्निर्माण चलिरहेको छ।
बाहिरबाट हेर्दा भवनको अवस्था अत्यन्त कमजोर देखिन्छ। कोठा, भित्ता, पर्खालदेखि जगसम्म सबैभाग चर्किएको छ। कतिपय ठाउँमा भत्किएर आधा भाग बाहिर निक्लिएला जस्तै देखिन्छ। भित्रि संरचना पनि पूरै मक्किएर चिराचिरा छ। यता भवनको पछाडिपट्टी थुप्रै पसलहरू छन्। अगाडिपट्टी पनि उत्तिकै पसल छन्। विश्वसम्पदा सूचीमा सूचीकृत भएको यस क्षेत्रमा दरबार क्षेत्र घुम्न आउनेको दिनहुँ घुइँचो लाग्छ।
तर यतिका वर्षसम्म पुर्नर्निर्माण गर्न सम्बन्धित निकायको चिन्ता र चासो भने देखिएको छैन। जसका कारण कुनै पनि बेला भवन भग्नावशेषमा परिणत हुने जोखिम छ। जीर्ण संरचनाका कारण ठूलो मानवीय क्षतिसमेत निम्तिने खतरा छ। पर्यटक, पैदल यात्रु, पसले एवम् स्थानीय सबै सन्त्रासमा छन्। भूकम्पले भत्केका धेरै संरचना अहिले पुर्नर्निर्माण प्राधिकरण र पुरातत्व विभागले गरिरहेको छ।
तर संस्कृत विश्वविद्यालयको उक्त भवन निर्माण गर्न कुनै निकायको ध्यान गएको छैन। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले अहिले विश्वविद्यालयको भवनको पुर्नर्निर्माण पुरातत्वको योजनामा नभएको बताए। ‘हाम्रो योजनामा यसको पुर्नर्निर्माणको परेको छैन,’ उनले भने, ‘यसका लागि प्रस्ताव आउनुपर्छ। हामीलाई प्राधिकरणले पनि बनाउन भनेको छैन। सायद हनुमानढोका दरबार संरक्षण क्षेत्रले केही गर्दै होला।’
तर प्राधिकरणले पनि यसमा खासै चासो दिएको छैन। प्राधिकरण अन्तर्गत कार्य गर्ने शिक्षा एकाइको योजनामासमेत यसको पुर्नर्निर्माण परेको छैन। भवन अत्यन्तै जीर्ण भएकाले यसलाई भत्काएर नयाँ संरचना बनाउने भन्ने छलफल चलिरहेको काठमाडौं महानगरपालिका सहरी सू–व्यवस्था विभागका निर्देशक हरिबहादुर कुँवरले बताए।
‘संस्कृत विश्वविद्यालयको उक्त भवन अत्यन्तै जीर्ण भएकाले भत्काएर नयाँ संरचना बनाउने कि भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘सायद भत्काउनुपर्छ होला।’ तर राणाकालमा बनेको उक्त भवन पुरानो मौलिक किसिमको भएकाले यसलाई पुरानै स्वरूपमा निर्माण गरिने हनुमानढोका दरबार अड्डा कार्यालय प्रमुख अरुणा नकर्मी बताउँछिन्।
यसको पुर्नर्निर्माण हनुमानढोका दरबार संरक्षण क्षेत्रको योजनामा परेको उनले जानकारी दिइन्। ‘यो बनाउने योजनामा परेको छ,’ उनले भनिन्, ‘यसलाई पुरानै मौलिक स्वरूमा बनाइन्छ।’ भूकम्पले धेरै ठाउँका सम्पदा क्षेत्र पुनर्निर्माण गर्दा केही ढिला भएको उनको भनाइ छ।