क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व -पश्चिम राजमार्ग अवरुद्ध
महेन्द्रनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरको भाषीमा राजमार्ग अवरुद्ध गरिएको छ ।सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र सवारी चालकलाई कारबाहीको माग गर्दै बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्व-पश्चिम राजमार्गको भाषी खण्डमा अवरुद्ध गरिएको हो ।
मंगलबार भीमदत्त नगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका ४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।
सोही विषयलाई लिएर मृतका परिवार र आफन्तले भाषीमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
प्रहरीले जीप चालक भीमदत्तनगरपालिका १० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएको जनाएको छ । मृतकको शव महाकाली अस्पतालमा परीक्षण भइहेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्।