लभकान्तको ‘मासिन्या दस्तुर’

लभकान्तको ‘मासिन्या दस्तुर’

काठमाडौं : कानुनी भाषामा तमसुक भन्नासाथ लिखित रूपमा रहेको कागजी प्रमाण भन्ने बुझिन्छ। तर कलाकार लभकान्त चौधरीको भोगाइ र बुझाइमा भने तमसुक थारू समुदायलाई पुस्तौंपुस्तादेखि कमारा बनाउने सर्वमान्य प्रमाण हो। जाली तमसुकका माध्यमबाट धेरै थारू कमैया भई धनीका घरमा मरेतुल्य जीवन बाँच्न विवश भए। हजुरबुवाले लिएको ऋण नातिको पालासम्म तिरेर सकिएन। गरिबको श्रमको हिसाब राखिएन, कुनै गतिलो प्रमाण बनेन। तर, उनीहरूले लिएको सानो रकममा वर्षौंसम्म कमैया जिन्दगी बिताउन भरपर्दो कारण बन्यो।

नेपाली कागजमा लेनदेनको विवरण लेखिएको अस्पष्ट अक्षर भएको तमसुक। तमसुकको बीचमा सुतिरहेको सानो बच्चाको चित्र। कतै हलो जोतिरहेको युवक छ त कतै तमसुकभित्रै गोरु नारिएको चित्र। कुनैमा बच्चा बोकेर आन्दोलनमा हिँडिरहेकी युवती, कुनैमा बन्दुकको नालले अनुहार दबाइएको युवक, कुनैमा जलिरहेको घरमाथि सुतिरहेको पुरुष। हेर्दै अजिब लाग्ने यी चित्र बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा लभकान्तको एकल चित्रकला प्रदर्शनीमा छ। डिसेम्बर १३ देखि सुरु भएको प्रदर्शनी जनवरी ९ सम्म चल्नेछ।

तमसुकलाई रिक्रिएट गरेर चित्रद्वारा देखाउने कोसिस गरेको बताउने सर्लाही, बयलबासका चौधरी पेसाले पूर्णकालीन कलाकार हुन्। जारी प्रदर्शनीमा इन्स्टलेसन आर्ट, काठको प्रयोग गरेर बनाइएको स्कप्चर, पेन्टिङ, थारू समुदायको परम्परागत चित्र, ड्रइङलगायतका आर्टका माध्यम भेट्न सकिन्छ। आर्टका यी अनेक माध्यममा लभकान्तले थारू समुदायलाई सचित्र प्रस्तुत गरेका छन्। पहिले विभिन्न करको बहानामा थारूलाई भूमिहीन बनाइएको देखि अहिले टीकापुर घटनामा जलाइएका थारूको घरको दारुण चित्र प्रदर्शनीमा छ।

लभकान्त थारू समुदायको इतिहास खोतल्दै बाँके, बर्दिया, कैलाली, कपिलवस्तुलगायतका जिल्ला पुगेका छन्। आफ्नो समुदायका साथीले भोगेका अनेक दुःखद किस्सा सुनेका छन्। यसले पनि उनलाई थारू समुदायको इतिहास चित्रको माध्यमबाट देखाउन मन लाग्यो। राज्य सत्ताले उनीहरूमाथि गरेको थिचोमिचो र अत्याचारलाई सचित्र बनाउने ध्याउन्नमा लागे। करिब चार वर्षको मेहनतस्वरूप पहिलो सोलो आर्ट प्रदर्शनीका रूपमा उनको मेहनत आर्टका फर्ममा देख्न सकिन्छ।

ग्यालरीको भित्तामा कम्युटरमा एक भिजुअल देख्न सकिन्छ। जुन निरन्तर रिप्ले भएर चलिरहन्छ। भिडियोमा खरले छाएका एकनासे घरमा रातको समयमा कसैले आगो सल्काइदिन्छ। घरघरबाट निस्किएका मानिसको कोलाहल सुनिन्छ। टीकापुर छेउमा रहेको गाउँको प्रतिविम्बका रूपमा लभकान्तले यो भिजुअल आर्ट बनाएका हुन्। उनका अनुसार चार वर्षअघि टीकापुर घटना भएको रात थारू समुदायका ८८ वटा घर जलाइएको थियो। राज्यबाट समेत पछाडि पारिएको थारू समुदायको गाउँभरि आगो लाग्दा न सरकारी पक्ष निभाउन आयो न अन्य समुदायका छिमेकी सहानुभूति पोख्न। थारूलाई गलत तरिकाले व्याख्या गर्दै समाचार छापिए, घटनालाई नजिकबाट हेरेका लभकान्त पुस्तौंदेखि मधेसमा खेती गरिरहेको सिंगो समुदायमाथि राज्यसत्ताले गरेको यो विभेद देखेर छट्पटिए। उनले लुकेर रहेको यो घटना चित्रकै माध्यमबाट बाहिर ल्याउने कोसिस गरेका हुन्।

अर्को चित्रमा उनले बन्दुकको गोली र अन्नलाई एउटै बक्समा मिलाएर इन्स्टलेसन आर्ट बनाएका छन्; जहाँ चामल, गहुँ, कोदो, मकै, फापरलगायतका अन्न ससानो बक्समा राखिएको छ। अन्नको बीचमा बन्दुकको गोली छ। तराईमा अन्न उब्जाउने समुदायका रूपमा थारू समुदायको इतिहास छ। अन्नले मानिसलाई जीवन दिन्छ। तर बन्दुकले मानिस मार्छ। यसलाई उनले राज्यसत्ताका रूपमा प्रतिविम्बित गरेका छन्। मानिसलाई जीवन दिने र लिनेबीचको शक्तिको खेललाई उनले यो आर्टमार्फत प्रदर्शन गरेका हुन्।

मासिन्या दस्तुर शीर्षकको यो प्रदर्शनीमा हरेक आर्टले फरकफरक विचार राख्छ। बेग्लै इतिहासको खोजी गर्छ। जंगबहादुर राणाले नेपालमा पहिलोपटक मुलुकी ऐन ल्याए। यो ऐनमा जात विभाजन गरिएको थियो। मासिन्या जातमा थारू, शेर्पा, तामाङलगायतका जातलाई छुट्यायो। मासिन्याको अर्थ हुन्थ्यो ‘मास्न मिल्न, काट्न मिल्ने। चरम विभेदकारी शासन सम्हालिरहेको जंगबहादुरले मुलुकी ऐनमार्फत नै थारू जात मास्न मिल्ने जातका रूपमा छुट्याएपछि उनीहरू समाजमा पछाडि पर्न थालेको लभकान्तको बुझाइ छ। यो आर्ट प्रदर्शनी थारू समुदायको इतिहास खोतल्ने, थारूको कला संस्कृतिलाई चिनाउने प्रयत्नस्वरूप सुरु गरिएको जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.