शितलहरले धनगढीका विद्यालय बन्द
धनगढी : धनगढी उप-महानगरपालिका सामुदायिक तथा संस्थागत विद्यालय बन्द भएका छन् । अत्याधिकरुपमा चिसो बढेपछि दुई दिन विदा गरिएको हो । बिहीबार बिहान बसेको शिक्षा सरोकारवालाको बैठकले पुस ३ र ४ गते धनगढी उप-महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
केही दिनदेखि आएको मौसम खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय संचालनमा कठिनाई भएको भन्दै बर्षे र हिउँदे विदा मिलान गर्ने गरी धनगढी उप-महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा गरिएको धनगढी उप-महानगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत बिष्णप्रसाद कोइरालाले बताए।
कंचनपुरको भिमदत्त नगरपालिकाले पनि चिसोका कारण बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय बुधबार नै गरिसकेको छ । केहि दिन पहिलेको वर्षापछि चलेको चिसो हावाका कारण पश्चिमी तराईमा शितलहरले प्रभाव पारेको छ। तराईका पूर्वी जिल्ला जस्तै कैलाली र कंचनपुरमा समेत शितलको प्रभाव परेको हो ।
सोमबारदेखि परेको शितलका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण मानिस आफ्नौ दैनिकी समेत चलाउन समस्यामा परेका छन्।