अधिकांश सडक असुरक्षित
काठमाडौं : सिन्धुपाल्चोकमा मंसिर २९ गते १५ जनाको ज्यान जानेगरी बस दुर्घटना भयो। यसअघि पनि पटक-पटक सिन्धुपाल्चोकमा सवारी दुर्घटना भएका छन्। धादिङ पनि सवारी दुर्घटना उच्च रहेको जिल्ला हो। कर्णाली राजमार्ग, पृथ्वीराजमार्ग पनि समयअनुसार विस्तार नहुँदा दुर्घटनाको संख्या बढ्दो छ। उपत्यकाभित्र खाल्डाखुल्डीको समस्या छ भने बाहिरी जिल्लामा पक्कि सडक छैन। सवारी दुर्घटना बर्सेनि बढे पनि जिम्मेवार निकाय भने एकअर्कामा दोषारोपण गर्दै पन्छिने गर्छन्।
रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सडक व्यवस्थापन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिएलगत्तै भएका प्रयासको चर्चा भयो। यातायात व्यवसायी, सडक विभाग र ट्राफिक व्यवस्थापन पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरे। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकता नदिएको आरोप लगाए। ‘८४ हजार किलोमिटर सडकमा १४ हजार मात्र पिच भएको छ,’ सिटौलाले भने, ‘सडक बिनाइन्जिनियरिङ बनाउने अनि दुर्घटनाको जिम्मा यातायात व्यवसायीमाथि लगाउने? ’ सडकको मापदण्ड, गाडीको संख्या, करिडोर व्यवस्थापन, चालक अनुमतिपत्रलगायत विषयमा सरकारले तत्काल योजना बनाउनुपर्ने उनको भनाइ छ। सरकारले यातायात क्षेत्रको व्यवस्थापनमा लगानी गर्नुपर्ने सिटौलाले बताए।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरको सडक विभागको जिम्मेवारी नभएको बताए। ‘ग्रामीण सडक विभागले आफ्नै तरिकाले सडक बनाउँछ, शर्माले भने, ‘हामीले १५ हजार किलोमिटर सडक मात्र हेर्ने हो।’ सवारी दुर्घटना हुनुमा अव्यवस्थित सडक मात्र जिम्मेवार नभएको उनको भनाइ छ। सवारी चालक, यात्रु, सुरक्षा व्यवस्थापन र पूर्वाधार अभावसमेत दुर्घटनाका कारण भएको शर्माले बताए।
विश्वभर अकालमा मृत्यु हुनुमा सवारी दुर्घटना तेस्रो कारणमा पर्छ। नेपालमा पनि सडक दुर्घटना बढ्दो क्रममा छ। निरन्तर भइरहेका सवारी दुर्घटनाले ट्राफिक व्यवस्थापन, सडक विभाग र यातायात व्यवस्था विभागमाथि बारम्बार प्रश्न उठेका छन्। तर, जिम्मेवार निकायले समस्या समाधान गर्न तदारुकता नदेखाउँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन। सडक दुर्घटना न्यूनीकरण गर्न योजना कमिटी र कुइक एक्सन टिमसमेत बनेका छन्। तर, उपलब्धि शून्य बराबर छ।
सहज छैन ट्राफिक व्यवस्थापन
काठमाडौंको न्युरोडमा प्रत्येक दिन ट्राफिक चाप उच्च रहन्छ। स्मार्ट पार्किङ, सपिङमल तथा गल्लीमा चारपांग्रेदेखि दुईपांग्रे सवारी साधनको ताँती लाग्ने गर्छ। ‘पिक आवर’ मा कोटेश्वर, चाबहिलको बाटोमा अत्यधिक ट्राफिक जाम हुन्छ। सडकका खाल्डाखुल्डी, पुराना सवारीसाधन, र्याली, जुलुस त छँदै छ धान्नै नसकिने सवारी साधनको बढ्दो चापले ट्राफिक व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ।
कात्तिकमा सवारीको चाप बढ्दा वसन्तपुर दरबार परिसरमै मोटरसाइकल पार्किङ गरिएको थियो। सम्पदा क्षेत्रमा पार्किङ निषेध गर्न नगर प्रहरीलाई हम्मेहम्मे परेको थियो। महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवा, वसन्तपुरका इन्चार्ज गोविन्द रावतका अनुसार वसन्तपुरआसपास क्षेत्रमा व्यापारिक केन्द्र भएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको हो।
ट्राफिक चाप उच्च हुनु नै उपत्यकामा सवारी दुर्घटनाको मुख्य कारण बन्दै आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दुर्घटना न्यूनीकरण गर्न निरन्तर प्रयास भइरहेको बताए। उपत्यकाभित्र करिब १३ लाख सवारी दैनिक सडकमा गुड्छन्। १ किलोमिटरभित्र करिब ९ सय सवारी साधन चल्छन्। २ हजार १४ किमि सडकभित्र १३ सय ट्राफिक परिचालित छन्। १ जना ट्राफिक प्रहरीले ९ सय सवारीलाई हेर्नुपर्ने हुन्छ। एसएसपी ढकाल भन्छन्, ‘ट्राफिक व्यवस्थापनमा चुनौती छ। तर, जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौं।’
महानगरीय ट्राफिक प्रहरीको तथ्यांकले अघिल्लो वर्ष २ हजार ७ सय ८९ दुर्घटना भएको देखाउँछ भने यो वर्ष ९ सय २१ दुर्घटना भएका छन्। गत वर्ष २ सय ५९ को सवारीसाधन दुर्घटनामा निधन भएको थियो। यस वर्ष ७६ को ज्यान गएको छ। ढकाल भन्छन्, ‘गत वर्षभन्दा यो वर्ष दुर्घटना न्यूनीकरण गर्दै जाने हाम्रो लक्ष्य हो। यसका लागि १८ घण्टासम्म प्रहरी फिल्डमा खटेका छन्।’