रोकिएन हात्ती आक्रमण

रोकिएन हात्ती आक्रमण

महेन्द्रनगर : कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ। जंगली हात्तीको आक्रमणबाट बर्सेनि मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ। मानव बस्ती जंगलनजिकै रहेकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ।

कञ्चनपुरको महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका महिलाको समूहमाथि हात्तीको बुधबार हात्तीले आक्रमण गर्‍यो। स्थानीय वसन्ती भट्ट र भुरी बोहराले ज्यान गुमाए भने अन्य चार जना घाइते भए। जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा बर्सेनि जनधनको क्षति हुने गरेको छ। यस वर्ष ३ महिनाको अन्तरालमै हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाइसकेका छन्।

असोजमा कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भयो। कात्तिकमा कञ्चनपुरकै बेदकोट नगरपालिका–१ की ४५ वर्षीया जानकी धामी जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भइन्।

दिउँसो वनमा घाँस काट्न गएका बेला धामीलाई हात्तीको बथानले आक्रमण गरेको थियो। बुधबार राति एक बजे हात्तीकै आक्रमणबाट बेदकोट नगरपालिका–२ मुक्त कमैया शिविरमा एक वृद्ध घाइते भए। गम्भीर घाइते ७१ वर्षीय सीताराम डगौराको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।

जंगली हात्तीले मानिसमाथि आक्रमण मात्र होइन, खेतीबाली खाइदिने, घर भत्काइदिने गरेर पनि आतंक मच्चाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने मौसमी हात्तीले क्षति पुर्‍याउँदै गएको हो।

तीन वर्षको अवधिमा कञ्चनपुरमा हात्तीको आक्रमणमा ३ जनाको मृत्यु भइसकेको छ। हात्तीको आक्रमणबाट ३ वर्षअघि पुनर्वास नगरपालिका–१ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनार र बेलौरी नगरपालिका–५ बन्दरियाकी २७ वर्षीय सुन्तली चौधरीको मृत्यु भएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले हात्तीको वासस्थान साँघुरिँदै गएपछि मानिसमाथि आक्रमण बढेको बताए। ‘हात्तीको वासस्थान साँघुरो हुनु र जंगलनजिकै मानिसको बस्ती भएकाले हात्तीको आक्रमण बढ्दै गएको हो’, उनले भने।

प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रायः हात्तीको बथान आउने गर्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ मौसमी रूपमा ५०÷६० को संख्यामा भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने गरेको उनले जानकारी दिए। ‘शुक्लाफाँटाको हात्ती बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने गर्छ’, प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘हात्तीको बथान कहिले नेपाल, कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छ।’

कञ्चनपुरमा मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ हात्तीको त्रासमा बस्न बाध्य छन्। प्रायः राति आउने हात्तीले अन्नबाली र घरमा समेत क्षति पुर्‍याउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.