देशैभरि सुरु भयो‘आइडल फिभर’

देशैभरि सुरु भयो‘आइडल फिभर’

गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करण यही बिहीबारदेखि एपी वान एचडी टेलिभिजनमा प्रसारण हुँदै छ। चार हजारभन्दा बढी प्रतियोगीबाट छानिएर करिब सय जना तेस्रो नेपाल आइडल बन्ने स्पर्धामा सहभागी भएका छन्। 


हिजोआज नेपाल आइडलका निर्देशकहरूलाई चटारो छ। बिहीबारबाट आइडलको तेस्रो संस्करण ‘अन एयर’ जाने हुँदा रियालिटी सोका ‘फाइनल’ काम अहिले भइरहेका छन्। निर्देशकमध्ये एक सुरेश पौडेल भन्छन्, ‘अघिल्ला दुई सिजनलाई सफलतापूर्वक सम्पन्न गरेपछि यो सिजनलाई झन् राम्रो बनाउने जिम्मेवारी हामीमाथि छ।’

नेपालमा अन्तर्राष्ट्रिय गायन रियालिटी सो ‘आइडल’को फ्रेन्चाइजका रूपमा सुरु भएको नेपाल आइडलका दुई संस्करण पूरा भइसकेका छन्। तेस्रो संस्करणको पनि अडिसन सकिएर बिहीबारबाट एपी वान एचडी टेलिभिजनमा प्रसारण हुँदै छ। आइडल सुरु हुँदाको समय सम्झँदै सुरेश भन्छन्, ‘हामीले आइडललाई नेपालमा भिœयाउँदा अन्य रियालिटी सो थिएनन्। अहिले अरू पनि थपिएका छन्।’

नेपालमा पहिलो पटक आइडल आउँदा नेपालका टेलिभिजनमा रियालिटी सोको खडेरीजस्तै अवस्था थियो। रियालिटी सो भए पनि स्तरीय थिएनन्। त्यस्तो परिस्थितिमा भित्रिएको आइडलले भने अन्तर्राष्ट्रिय क्षेत्रमा बनाएको आफ्नो साखलाई नेपालमा पनि स्थापित गरायो। यसपटकको अडिसनमा पनि त्यसको छनक देखिएको बताउँछन् सुरेश। भन्छन्, ‘मान्छेलाई गायनको सो भनेकै आइडलजस्तो भइसकेको छ। यसपटक पनि आइडलकै लागि वर्षदिन अभ्यास गरेर प्रतिस्पर्धीहरू आएका छन्।’

झन् ‘टफ’ प्रतिस्पर्धा

अघिल्ला दुई सिजनबाट नेपाली गायन क्षेत्रले दुई आइडल पाइसकेको छ भने नेपाल आइडलमै प्रतिस्पर्धा गर्न आएका अन्यले पनि नेपाली सांगीतिक क्षेत्रमा आफूलाई  स्थापित गराइसकेका छन्। यो शृंखलाको उत्साह र उत्सुकता यसपटक पनि प्रतिस्पर्धीमा उत्तिकै भएको सुरेश बताउँछन्। भन्छन्, ‘अडिसनमा आएका हरेक  प्रतिस्पर्धीमा आइडल हुने चाहना भएको देखिन्छ। त्यहीअनुसार उनीहरू अभ्यास पनि गरिरहेका छन्।’

अघिल्ला सिजनभन्दा यसपटक प्रतिस्पर्धा झन् ‘टफ’ भएको सुरेश बताउँछन्। भन्छन्, ‘निर्माण पक्ष, निर्णायकलगायत सबैले हेर्दा यसपटकको प्रतिस्पर्धा झन् गाह्रो छ। अडिसनबाट छानिएका प्रतिस्पर्धीमा एक किसिमको गायकीको स्तर निर्माण भइसकेको देखिन्छ। जसकारण यसपाला आएका प्रतिभामा निकै टफ प्रतिस्पर्धा हुने देखिन्छ।’

आइडलको पहिलो र दोस्रो संस्करणमा भाग लिएका प्रतिस्पर्धीले पनि यसपटक उत्साहजनक उपस्थिति जनाएको निर्देशक सुरेश बताउँछन्। ‘उनीहरूले अघिल्लो सिजनमा पनि भाग लिएका थिए,’ उनी भन्छन्, ‘यस सिजनमा पनि उनीहरू आएका छन्। गायकीलाई झन् बढी निखारेर भाग लिन आएको देखिन्छ।’ पछिल्ला सिजनमा गाला राउन्डदेखि थिएटर राउन्डबाट बाहिरिएका प्रतिस्पर्धीले पनि यसपटक भाग लिएको उनी बताउँछन्। भन्छन्, ‘उनीहरूले आइडललाई अगाडि पनि बुझेका छन्। प्रतिभामा झन् निखार ल्याएर आएका छन्। जसले गर्दा यसपटक प्रतिस्पर्धीबीच धमाकेदार प्रतिस्पर्धा हुने देखिन्छ।’

अपार उत्साह 

प्रदेशस्तरीय अडिसनमा यसपटक पनि आइडल टिम देशका विभिन्न स्थान पुग्यो। त्यहाँबाट छानिएका थिए, चार हजारभन्दा धेरै प्रतिस्पर्धी। ती चार हजारमध्येबाट जज अडिसन भने ९५ हाराहारीले मात्रै पार गरेँ। यिनै पुग नपुग सय प्रतिस्पर्धीको प्रस्तुति बिहीबारदेखि एपी वान टेलिभिजनमा प्रसारण हुँदै छ। सुरेश भन्छन्, ‘जज अडिसनलाई छ वटा एपिसोडमा प्रस्तुत गर्नेछौँ। त्यसपछि अघिल्ला सिजनका फम्र्याटअनुसार गाला राउन्ड, थिएटर राउन्ड लगायतका प्रस्तुति राखिनेछन्।’

अडिसनताका जब आइडल टिम विभिन्न स्थानमा पुगेको थियो, त्यहाँको उत्साह देखेर छक्क परेको बताउँछन्, सुरेश। भन्छन्, ‘हामीले अडिसनका लागि तोकेको ठाउँमा मानिसहरूको उत्साह अपार थियो। आइडलको अडिसनकै कारण मानिसमा यस्तो उत्साह हुन्छ भन्ने सोचेकै थिएनौँ।’ सुरेश कतिपय प्रतिस्पर्धीले त आइडललाई नै कुरेर संगीत अभ्यास गरेको बताएको सम्झन्छन्। ‘उनीहरूको उपस्थिति, प्रतिभा निकै राम्रो थियो,’ उनी भन्छन्, ‘कतिसम्म भने बिर्तामोडको अडिसन एक दिन मात्र भनिएको थियो। तर, उपस्थिति धेरै भएकाले त्यसलाई दुई दिन बनाउनुपरेको थियो।’

‘ब्याकस्टोरी’मा ध्यान 

आइडलमा आउने प्रतिस्पर्धीसँग गायन प्रतिभासँगै संघर्षका कथा पनि हुन्छन्। आइडलका अघिल्ला सिजनमा पनि लामो समय वैदेशिक रोजगारीबाट फर्किएकादेखि विभिन्न सामाजिक समस्या भोगेका प्रतिस्पर्धी आएका थिए। जज अडिसनमा उनीहरूको अन्तरकथा प्रस्तुत गरिएको थियो। उनीहरूले गरेको संघर्ष, बाँचेर आएको समय र गायकीमा लाग्नुको पछाडिको कथालाई आइडलमा समावेश गरिएको थियो।

यसपटक पनि प्रतिस्पर्धीका यस्ता थुप्रै कथा भेटिएका छन्। उनीहरूको कथालाई आइडलले महŒव दिएको बताउँछन्, सुरेश। भन्छन्, ‘प्रतिस्पर्धीका रूपमा आएका प्रतिभाको ब्याकस्टोरीलाई हामीले महŒवका साथ आइडलका एपिसोडमा प्रस्तुत गर्नेछौँ। उनीहरूको संघर्षले अरूलाई पनि प्रेरणा दिनेछ भन्ने हामीलाई लागेको छ।’

शेर्पा समुदायको पहिलो उपस्थिति 

आइडलमा हरेक संस्करणमा विभिन्न समुदायका गीतसंगीतलाई समावेश गरिन्छ। प्रतिस्पर्धी पनि विभिन्न भूभागबाट आएका हुन्छन्। यसपटक अडिसनकै क्रममा नेपाल आइडलमा पहिलो पटक शेर्पा जातिको उपस्थिति पनि भएको सुरेश बताउँछन्। ‘हामीले अघिल्ला दुई सिजन गरिसक्दा पनि शेर्पा जातिको उपस्थिति भएको थिएन,’ उनी भन्छन्, ‘तर, यसपटक भने त्यो छ।

यो सिजनको एउटा विशेषता यो पनि हुन सक्छ।’ आइडलका आगामी संस्करणमा पनि नेपालभित्र विभिन्न भूभागमा रहेका विभिन्न जातजातिका प्रतिभालाई दर्शकसामु ल्याउनु आइडलको उद्देश्य भएको निर्देशक सुरेश बताउँछन्। भन्छन्, ‘हामीले यही क्रममा शेर्पा समुदायका गायकलाई पहिलो पटक समावेश गर्न पाएका छौँ।’

नयाँलाई स्थान

हरेक एपिसोडलाई ‘स्पेसल’ बनाउन कुनै विषयवस्तुमा आधारित वा कुनै ‘गेस्ट’लाई बोलाएर प्रतिस्पर्धीसँग स्टेज सेयर गर्ने चलन आइडलमा सुरुदेखि नै छ। यसपटक भने यसरी बोलाइने अतिथिमा नयाँ पुस्ताका गायकहरू पर्नेछन्। सुरेश भन्छन्, ‘’अहिले युट्युबजस्ता सामाजिक सञ्जालमा नयाँ पुस्ताका थुप्रै गायकगायिका चर्चित छन्। युवा पुस्तामाझ लोकप्रिय उनीहरूलाई हामीले आइडलमा नित्याउने प्रयत्न गरेका छौँ।’

नयाँ पुस्ताको प्रतिभालाई सम्मान गर्ने जमर्को नेपाल आइडलले गरेको बताउँछन्, निर्देशक सुरेश। भन्छन्, ‘मूलधारमा नदेखिएका थुप्रै गायकगायिका युट्युबमार्फत चर्चित छन्। उनीहरूका गीत राष्ट्रिय स्तरका टेलिभिजनमा नबजे पनि उनीहरूको गायकी निकै राम्रो छ। हामीले उनीहरूलाई स्थान दिने कोसिस गरेका छौँ।’

आइडलले यसपटक नेपालको सुुरक्षा निकायसँग पनि समन्वय गर्ने योजना रहेको सुरेश सुनाउँछन्। ‘हामीले कुनै एउटा एपिसोडमा नेपालको सुरक्षा निकायसँग समन्वय गरेर उहाँहरूको ब्यान्डसँग काम गर्ने योजना बनाएका छौँ,’ उनी भन्छन्। नेपाल आर्मी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायमा भएका सांगीतिक समूहसँग आइडलले काम गर्न लागेको उनी बताउँछन्। 

कार्यक्रमको स्वरूपमा भने कुनै परिवर्तन आएको छैन। निर्णायक पनि पुरानै छन्, न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी।  कार्यक्रम सञ्चालकमा थोरै परिवर्तन भएका छन्। अघिल्लो संस्करणका सञ्चालक आशिफ शाहलाई यसपटक साथ दिनेछिन्, माम्पी घोषले। ‘हामी अघिल्ला सिजनकै फम्र्याटलाई झन् बलियो बनाएर यसपटक प्रस्तुत गर्दै छौँ,’ नेपाल आइडलका निर्देशक सुरेश पौडेल भन्छन्, ‘केही नयाँ प्रयोग पनि गरेका छौँ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.