भारतमा द्वन्द्वको असर : बरिष्ठ लेखकले फिर्ता गरे पद्मश्री सम्मान
नयाँदिल्ली : भारतमा नागरिकता कानुनको विरोध भइरहँदा उर्दु लेखक तथा व्यंग्यकार मुज्तबा हुसेनले पद्मश्री सम्मान फिर्ता गरेका छन् ।
देशको वर्तमान अवस्थाबाट दुखी भएको भन्दै पद्म सम्मान फिर्ता गरेका हुन् । उनले भनेका छन्, 'पहिले नेता राजनेता हुन्थे, अचेल यस्तो छैन, म आजको अवस्थाबाट खुसी छैन, एक नागरिकको रुपमा खुसी छैन । भीडले मानिसको हत्या गरिरहेको छ । बलात्कार भइरहेको छ, आपराधिक गतिविधि हरेक समय बढिरहेको छ ।'
उर्दु साहित्यमा योगदान दिए वापत उनले २००७ मा देशको चौथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट मुज्तबा हुसेन सम्मानित भएका हुन् । उनले लोकतन्त्र पनि कमजोर भएको र कुनै व्यवस्थामा देश नचलेको बताए । १९८३ देखि हुसेनले दर्जनौँ पुस्तक लेखिसकेका छन् । उनका केही किताव उर्दु पाठ्यक्रममा समेत सामेल छन् ।