सोभियत संघका ती दुर्दिन !

सोभियत संघका ती दुर्दिन !

विगतका सरकारले राष्ट्रहितका पक्षमा लिएका अडानले निरन्तरता नपाउँदा होला नेपालमा सत्तारूढ दलका दुई अध्यक्षका विचार सार्वजनिक रूपमा प्रकट हुन पुगे


‘नामले थामिने होइन, कामले थामिने हो। सोभियत संघले समयानुकूल आफूलाई अपडेट गर्न सकेन। राजनीतिक नीति गलत बाटोमा अग्रसर हुँदा पार्टीका नाममा, पूरै व्यक्तिका नाममा वा एउटा व्यक्तिको तानाशाही चल्दै जाँदा जनताबाट अलग्गिएर नेताहरू स्वभ्रष्ट हुन थालेपछि त्यस्तो प्रणाली जेसुकै नामको भए पनि रहँदैन।’ २०७६ कात्तिक ४ गते अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित प्रधानमन्त्री केपी ओलीले आफ्नो अन्तर्वार्तामा सोभियत संघ किन ढल्यो भन्ने प्रश्नको जवाफमा यो कुरा आएको छ। उहाँले थप भन्नुभयो, ‘त्यो कम्युनिस्टका नामले मात्र के गर्ने ? त्यो कलंक मात्र हो, जानुपर्ने थियो, गयो।’

सत्तारूढ दलकै अर्का अध्यक्षले ‘नेपाल कम्युनिस्ट पार्टीलाई ग्यास्ट्रिक भयो, अल्सर भयो भने जटिल हुन्छ, क्यान्सर भयो भने त खत्तमै हुन्छ’ भन्ने टिप्पणी गरेपछि प्रधानमन्त्रीका यी भनाइ आएका हुन्। यो दुवै भनाइपछि झण्डै एक साताजसो पत्रपत्रिकामा यही विषयमा बहस भए। राजनीतिक छलफल पनि भए। सत्तरी वर्ष बढी राज गरेको कम्युनिस्ट शासनको तत्कालीन सोभियत संघ किन ढल्यो ? कम्युनिस्ट शासन भन्नेबित्तिकै एउटै मात्र दल हो। त्यसमा पनि एउटै व्यक्तिको सर्वेसर्वा शासन, शक्तिशाली र ठूलो मात्र होइन, चन्द्रमामा मानिस पठाउन सक्षम मुलुक हो।

अमेरिकालाई लामो समयसम्म टक्कर दिएर सशक्त प्रतिस्पर्धी रहेको भीमकाय मुलुक हातहतियारले सुसज्जित र निर्यात गर्ने त थियो नै। पूर्वीयुरोपलगायत विभिन्न मुलुक र महादेशहरूमा आफ्नो प्रभाव र शक्ति जमाइसकेको थियो। कम्युनिस्ट विचारधाराको आभियन्ता रहेको मुलुक थियो। विश्वशान्ति, सधैंभरि विश्वमा पीडित–शोषितका पक्ष लिने र विकासका कुरा गर्ने भनी आफूलाई दाबी गथ्र्यो। साम्राज्यवादीविरोधी देशहरूलाई एक गर्ने शंखघोष गर्ने राष्ट्र सशक्त रूपमा संगठित देखिएको कम्युनिस्ट पार्टीले एकछत्र शासन गरेको थियो। मजदुर, किसान, सैनिक र समाजका सबै तह र तप्काका जनताको प्रतिनिधित्वको दाबी पनि उत्तिकै थियो। बलियो, निर्णायक नेतृत्व र स्थायित्व भएको देखिएको थियो। तर, कसैको आक्रमणबिना एउटा गोली कसैले पनि उसको विरुद्ध नचलाउँदा पनि तासको घरजस्तै गल्र्यामगुर्लुम्म किन ढल्यो सोभियत संघ ?

फलामे पर्दा ढलेपछि

सन् १९८७ मा बर्लिनको पर्खाल पूर्वी–पश्चिम युरोप विभाजनमा विश्वलाई नै दुई भेदमा विभाजनको प्रतीक कर्टेन फलामे पर्दा भत्किनु, डिसेम्बर १९९१ मा सोभियत संघकै विघटन हुनु, सन् १८४८ मा युरोपको पुरानो व्यवस्थाविरुद्धको आन्दोलन, सन् १८१७ को रूसी क्रान्ति, सन् १९४५ को हिटलरको पराजयका दूरगामी घटनासँगै सन् १९९१ को सोभियत संघको पतन विश्व इतिहास ‘वाटरसेड’ कै रूपमा रहेको छ।

सोभियत संघ विघटनमा अमेरिकाको नेतृत्वमा रहेको स्वतन्त्र÷प्रजातन्त्रवादी विश्वको विजय भएको देखियो। शीतयुद्धको अन्त्य र सोभियत संघ ढलेपछि अमेरिका विश्वको एउटै मात्र शक्तिशाली राष्ट्र हुन पुग्यो। अहिले विश्वमा अमेरिकाको एकछत्र प्रभाव र शक्ति कायम छ। संंयुक्त राष्ट्रसंघको प्रभाव र सान्दर्भिकता कम देखिन थालेको छ। सोभियत संघको पतन पश्चिमी राष्ट्रहरूको कारण हो ? विघटन त्यतिबेला भयो जतिबेला सोभियत नेता मिखाइल गोर्बाचेभसँग पश्चिमाको मित्रता बढ्दै थियो। गोर्बाचेभसँग पश्चिम मुलुकहरूले काम गर्न सक्ने र राम्रो विकल्पका रूपमा देखिरहेका थिए। जतिबेला विघटन भयो, आर्थिक संकट पनि त्यति उजागर भएको देखिएको थिएन ? किन र कसरी सोभियत संघको साम्राज्य ढल्यो ?  

कारण खोज्दै

गोर्बाचेभ सोभियत नेताका रूपमा उदाइरहँदा उनले आफ्नो व्यक्तित्वलाई आत्मविश्वासका साथ प्रस्तुत गरे। टेलिभिजन र क्यामराअगाडि उभिँदा आशाका सन्देश दिन खोजे। स्वीकार्य देशभित्र भन्दा बढी बाहिरी जगत्मा थियो। आन्तरिक रूपमा प्रान्तहरूले पनि बलियो नेतृत्व पाएकै थिए। मस्कोमा प्रभावशाली नेता बोरिस यल्सिनको उदयपछि गोर्बाचेभ निराश हुँदै थिए। किनभने पार्टी सदस्यहरूले उनको नेतृत्वलाई सहजै सबै तहमा स्वीकार्य कमजोर थियो, गोर्बाचेभका सुधारका कार्यक्रम ग्लासमोस्ट (खुलापन) पेरेस्ट्रोइका (पुनर्संरचना) ले गति लिन सकेन। आर्थिक सुधारका कार्यक्रम अघि बढेन। शासनमा संरक्षकत्वबाट वरिष्ठ पद नियन्त्रणमा हुन्छन्। गोर्बाचेभका समयमा केही विशिष्ट र प्रबुद्ध वर्गलाई स्थापित गरियो र विशेष सुविधा पनि दिइयो। नियन्त्रण विस्तारै खुकुलो हुँदै जाँदा नयाँ विचार आए, जुन सहज र स्वीकार्य हुन सकेन कम्युनिस्ट संयन्त्रलाई। गोर्बाचेभका सुधार र पुनर्संरचनाको उद्देश्य सोभियत संघको शक्ति र प्रभाव बढाउने तथा सुदृढ गर्ने थियो। उनले यो उद्देश्य प्राप्तिका लागि प्रयास गरे। अगस्ट १९९१ मा जसले विद्रोहको योजना गरे गोर्बाचेभले षड्यन्त्रकारी पनि सुधारका पक्षमा आउने आशा गरे, तर त्यसो हुन सकेन। सबै नेताका बलिया र कमजोर पक्ष हुन्छन्। नेताका कमजोरीमा प्रहार भएकै कारण सोभियत संघको विघटन हुन पुगेको विश्लेषकहरू अथ्र्याउँछन्।

सन् १९९० सम्म पुगिरहँदा सुधारकारीलाई पन्छाउन, यल्सिन र उनीसँग सम्बन्धित परिवर्तनकारी राजनीतिज्ञहरूसँग मिल्न नसक्नु र वास्ता नगर्नु उनको गल्ती थियो भने कमजोरी अस्वीकार अर्को भूल। आफ्नै परराष्ट्रमन्त्री एडवार्ड सेभरनाल्सेसँग अनन्तको बहसमा अल्झिनु, राजनीति विश्लेषकका दृष्टिमा व्यक्तिगत र पारिवारिक पीडालाई राजनीतिक घटना बनाइदिनु पनि अर्को पाटो थियो। सहकर्मीलाई अविश्वास गर्नु र जस नदिनु अर्काे कारण पनि छ।

गोर्भाचेभले आफ्नै सहकालीन साथीहरू र अधीनस्थ साथीहरूसँग कहिल्यै सजिलो महसुस गरेनन्। गोर्भाचेभले पटक–पटक भन्ने गरेका राष्ट्र र नाराबाट तात्विक रूपमा देखिने अनुभूत भएन। खोक्रा नारामा कार्यकर्ता रुमलिए। कसैका सुझावलाई उनले गम्भीरतापूर्वक लिएनन्। आफ्ना कोटरीमा रमे। आफूभन्दा अगाडि सोभियतमा कुनै नेताले आफ्ना श्रीमतीलाई अफिसको सार्वजनिकरूपमा नजोडेका तर उनले आफ्नी श्रीमतीलाई सार्वजनिक जीवनमा ल्याए। श्रीमतीका रुचि, पहिरन, शैली प्रचार गरेको सोभियत संघभित्र मन पराइएन। सोभियत बौद्धिक समूहले गोर्बाचेभलाई आफ्नो नेता मान्न सकेनन्। उनले रूसी भाषा बोल्दा पनि दक्षिण क्षेत्रको बोली झल्किन्थ्यो। खिल्ली पनि उडाइन्थ्यो पनि भनिन्छ। गोर्बाचेभको सामाजिक प्रतिष्ठा सोभियत संघभित्र जमिसकेको थिएन, कार्यकर्ता, किसान, मजदुर, बौद्धिक जगत्ले उनलाई आफूमध्येको मानेनन्।

दलीय किचलोको सिकार

खुलापन उनैले सुरु गरे, तर यसका परिणामसँग सामञ्जस्य कायम गर्न सकेनन्। प्रान्तीय गणराज्यहरूमा देखिएका समस्या सम्बोधन गर्नेतिर पनि उनले ध्यान पुर्‍याउन सकेनन्। वाल्टिक राज्यहरूमा देखिएका समस्यालाई वार्ता गरेर सुरुमै समाधान खोज्न पहल नहुँदा र अलग हुन रोक्ने प्रयास भएनन्। युक्रेन र जर्जियाका समस्यालाई समयमा ध्यान नदिँदा असन्तुष्टि बढिरहेको थियो। सञ्चार जगत्माथिको प्रतिबन्ध हटाउन पनि उनीमाथि दबाब बढिरहेको थियो।

गोर्बाचेभ आफूले असन्तुष्ट नेताहरूसँग सम्बन्ध विकास गर्ने र कसरी आफ्नो छवि बनाइराख्नेसँग बढी चिन्तित देखिए। आन्तरिक समस्या र यसका समाधानतिर समयमा ध्यान नपुर्‍याउँदा समस्या झांगिदै गए। प्रान्तीय गणराज्यहरूमा मार्च १९९१ मा जनमत संग्रह भयो, यसको परिणामबारे छलफल हुँदै जाँदा गोर्बाचेभ संकुचित दायरामा बस्न रुचाए। उनको अर्थ आफ्नै किसिमले लगाइयो। क्षेत्रीय विषयहरूले राष्ट्रिय विषयभन्दा अगाडिमहत्त्वपाए। क्षेत्रीय नेताहरूले आआफ्ना फाइदाका लागि राष्ट्रियताका कार्ड अगाडि सारे, उजागर गरे। प्रान्तीय नेताहरूसँगको सम्बन्ध धेरै हदसम्म निर्णायक बनिरह्यो। गोर्बाचेभका अनुयायीहरू भ्रष्ट थिए भने प्रान्तीय नेताहरूले ब्रेजनेभ कालदेखि नै ज्यादतीहरूको खाता खोलेका थिए।

प्रजातान्त्रिक संस्थाहरू बलियो बनाउन नलागे, विविधतामा एकता र सामञ्जस्य कायम गर्न नसके राष्ट्रिय एकता खल्बलिन जान्छ। त्यसले राष्ट्र कमजोर मात्र नभई विदेशीहरूको अवाञ्छित गतिविधिले स्थान पाउनेछ।

यस्तो परिस्थितिमा गोर्बाचेभले नेताहरूसँग राज्य संयन्त्रका विभिन्न अंग र त्यसको नेतृत्वसँग तालमेल मिलाउन सकेनन्। गोर्बाचेभको बोरिस यल्सिनसँगको सम्बन्ध नै सोभियत संघको विघटनको प्रमुख कारण हुन पुगेको निष्कर्ष तत्कालीन विश्लेषकहरूको छ। यल्सिनको दीर्घकालीन योजना सोभियत संघकै पतन थिएन होला। दुवैले आआफ्नो स्थिति मजबुत गर्न दललाई प्रयोग गरे होलान्। दुवैको अन्तिम लक्ष्य एउटै थियो होला तर सामञ्जस्य र सहनशीलता नदेखिँदा परिणाम राष्ट्रघाततिर गयो। यल्सिन बढी आकांक्षी, इच्छाशक्ति भएका र निर्भीक नेता देखिए। संसद् भवनमा भएको आक्रमणमा उनी कडा रूपमा प्रस्तुत भए। उनको उदयसँगै राष्ट्रिय समस्या उजागर भएर आए, रूसी राष्ट्रपतिको निर्वाचनले नै निर्णायक बिन्दुमा पुर्‍यायो। सहअस्तित्व कायम हुन सकेन।

केही रूसीहरूले सोभियत संघको सम्बन्ध÷अनुभवबाट खासै फाइदा हुन नसकेको र रूसले फाइदा नपाएको आदि कारण देखाउँदै रूसी कम्युनिस्ट पार्टी र केन्द्रीय समिति पंगु सावित हुन पुग्यो। यल्सिन रूसी राष्ट्रपतिमा उठ्ने कारणले निर्णायक मोडमा पुर्‍यायो। सन् १९१७ मा जस्तो द्वैध शक्ति केन्द्रले सन् १९९१ मा काम गर्न सकेन। रूसको यो निर्णय सन् १९८८ को संघ सम्झौताविपरीत मानियो। सन् १९९१ मा रूसले सोभियत संघको बजेटलाई दिइरहेको योगदान बन्द गर्‍यो। रूसी कम्युनिस्ट पार्टीबाट पनि पुनर्संरचनाको विरोध भयो। यल्सिनले सोभियत संघकै विघटन नचाहेका भए पनि व्यक्तिगत मतभिन्नताको आकार बढ्दै गयो। सन् १९९१ सम्म आइपुग्दा गोर्भाचेभ प्रशासन र सोभियत संघका केही महिना मात्र बाँकी रहेको प्रतीत हुन थालेको थियो।

गोर्बाचेभ पनि सस्ता नारामार्फत व्यक्तिगत प्रतिष्ठा बढाउन अभ्यस्त भए। सायद सन् १९८८/१९८९ मा उनले राजीनामा दिएका भए सुधारवादी नेताका रूपमा कम्युनिस्ट कट्टरवादीहरूलाई परास्त गरेको सम्झिन्थ्यो होला इतिहासले। मुख्य समस्या नेतामै थियो।

अगस्ट १९९१ को विद्रोहले गोर्बाचेभको भन्दा यल्सिनकै इज्जत बढायो। यल्सिनविद्रोहीहरूलाई दबाउने नेताका रूपमा देखा परे। प्रतिक्रिया र अधिनायकवादविरुद्ध प्रजातन्त्रका पक्षमा उभिए। उनको लोकप्रियता ह्वात्तै बढ्यो। देशभित्र गोर्बाचेभको लोकप्रियता कमजोर हुँदै जाँदा गोर्बाचेभको बिदा हुने समय आयो। युक्रेन बेल्गडस, कजाकस्तानमा देखिएका जनमतले पनि यल्सिन अगाडि देखिए। यो विद्रोहले गोर्बाचेभलाई पाखा लगायो। उनको बचेखुचेको राजनीति सकियो।

रूसको उदय र यल्सिनको विद्रोहपछि मस्कोमा रूसले सत्ता लिँदा सोभियत संघको अन्त्य भएको सन्देश गयो। संघका मन्त्रालय रूसी नियन्त्रणमा आए। संघ बचाउने गोर्बाचेभको प्रयत्न धेरै ढिला भइसकेको थियो। उनले यल्सिनका आकांक्षा र उद्देश्यलाई सुरुमै बुझ्न सकेनन्। बुझ्न सक्ने संस्था कम्तीमा रक्षा र विदेश नीति संघमा राख्ने सहमतिप्रति यल्सिन प्रतिबद्ध रहे। मानमर्दन खपेर पनि उनले आफूलाई कडा कदम लिनबाट रोके। आफ्नो इतिहास र विरासतप्रति बढी सचेत रहे।

युक्रेन बाहिरियो

२४ अगस्ट १९९१ मा युक्रेन अलग भयो। युक्रेनको संसद्मा सुधारवादी कम्युनिस्ट र राष्ट्रवादी प्रजातन्त्रवादीहरूबीच अप्रत्याशित सम्झौता भयो। युक्रेनविनाको सोभियत संघ कल्पना बाहिरको थियो। युक्रेन रणनीतिकमहत्त्वभएको, अन्नभण्डार र प्रमुख उद्योगहरू भएको प्रान्त थियो। सोभियत नेताहरू खु्रस्चेभ र ब्रेडानेभले यहींबाट राजनीतिक जीवन निर्माण गरेका थिए। युक्रेन सोभियत संघको संस्थापन सदस्य थियो। युक्रेनको संसद्ले जनमत संग्रहको घोषणा गरेर चालबाजी गरेको देखियो। सोभियत नेताहरू, अन्त्यसम्म पनि युक्रेन मस्कोबाट छुट्टिँदैन होला भन्ने आशामा रहे। यल्सिनले युक्रेनसँग सहमति सीमाका सहमति गरे, असल साथी बने र यल्सिनको यो मित्रता गोर्बाचेभका लागि अन्तिम पराजय भएको इतिहासविद्को मूल्यांकन छ।

यल्सिन शक्तिशाली बन्दै गए आफैंलाई प्रधानमन्त्री नियुक्त गरे, राष्ट्रपतिको शक्ति लिएर शासन गरे अनि अगाडि हुने चुनावमा प्रतिबन्ध लगाए। गोर्बाचेभले आफ्नो कार्यालयसम्म पनि जानै नपाई राजीनामा दिनुपर्‍यो। दुई व्यक्तित्वबीचको टकराव, शक्ति संघर्षले सोभियत संघको पतन भएको मान्न सकिन्छ। राजनीतिमा व्यक्तित्व टकरावको अवस्थाले निम्त्याउने घटनाका रूपमा यसलाई लिनुपर्छ।

सोभियत संघको पतनमा शीतयुद्धको अन्त्य, शस्त्रार्थको होडबाजी सन् १९९१ अगस्टको विद्रोह मुख्य कारण नभएको ठहर इतिहासविद्ले विश्लेषण गरे पनि दलभित्रको नेतृत्व टकराव महत्त्वपूर्ण छ। आंशिक रूपमा केन्द्रविरुद्ध राज्यहरूको असन्तोष पनि उस्तै। विविध विचार, प्रतिस्पर्धी र परस्परविरोधी विचारलाई संयोजन समन्वय गर्न चुक्नु, सामञ्जस्य र धैर्य नदेखिनु ठूलो कारक हो। प्रजातान्त्रिक संस्थाहरू नहुनु, परिवर्तनलाई आत्मसात गर्न सक्ने पार्टी संयन्त्र र नेतृत्व नहुनु मात्र होइन, पार्टी नेतृत्व र कार्यकर्ताबीच दूरी बढ्नु पनि यसका कारक थिए।

गोर्बाचेभले बल प्रयोग गर्न नमान्दा आफगानिस्तानमा पराजय, सन् १९९०÷९१ को आर्थिक संकट घटनालाई तीव्रता दिए पनि महत्त्वपूर्ण भनेको नेतृत्वको कार्यशैली नै हो। व्यवहार, बोली, शैली, कार्यकर्ता सम्हाल्न नसक्नु, राज्यसंयन्त्रलाई कमजोर पार्नु, परिस्थितिको अद्यावधिक रिपोर्टको सही विश्लेषण नहुनु पनि अरू कारण हुन्। सधैं झर्रो राष्ट्रवादमा अल्झिनु, सत्ता संघर्षमा लिप्त हुनु, क्षणिक स्वार्थका अगाडि दीर्घकालीन लक्ष्य र सोच नहुनु, आफ्ना हातमा सत्ता रहेसम्म जुनसुकै सम्झौता गर्न पनि पछि नपर्नु, विगतबाट नसिक्नु, परराष्ट्र नीतिलाई स्वकेन्द्रित बनाउनु, विदेशीसँग कुरा गर्दा÷सम्झौता हुँदा छिटो–छिटो आफ्नो अडान छाड्दै जानु जस्ता विषयले रूसको त्यो हालत भएको इतिहास साक्षी छ।

गोर्भाचेभको विदेशी सञ्चारमाध्यमसँगको मोह, विदेशी नेताहरू विशेष गरेर अमेरिकासँग कुरा हुँदा छिटोछिटो सहमति जनाउँदै जानु, उनको अडान स्वीकार गर्नु, प्राथमिकता छुट्ट्याउन नसक्नु र स्पष्टताको अभाव, क्षणिक फाइदाका लागि दीर्घकालीन लक्ष्य बिर्सनुले पनि सोभियत संघलाई त्यो संघारमा ल्याएको हो। बोलाइ र गराइबीचमा भिन्नता हुनु, जनताको जीवनस्तर सुधार गर्न सक्ने कुनै काम नगर्नु, खुला समाजको गतिशीलतालाई घचेट्नु पनि हुन्। राम्रो कामको मान्यता÷प्रशंसा नहुनु र एकल व्यक्तित्वको प्रायोजन र प्रवद्र्धनमा सञ्चालित हुनु। त्यस्ता कारणले कुनै पनि मुलुकमा दुर्दिन निम्ताउँछन्।

हामीले सिक्न जरुरी छ

चुनावी मैदानमा एकाएक सत्ताका लागि गरिएको अवसरकारी एकताले दुई वर्ष बितिसक्दा पनि नेपालका कम्युनिस्टहरू एक हुन सकिरहेका छैनन्। दुवैको फरक स्कुलिङ, फरक नारा, विचारधारा र अभिमुखीकरणले कसरी एक हुन देओस् पनि। सत्ता संघर्ष सबैको कारण बनेको देखिन्छ। सरकारले आधा अवधि पूरा गर्ने लाग्दा आधा–आधा गर्ने भद्र सहमतिका दाबी आइरहँदा एकजना सहअध्यक्ष कार्यकारी बनेको देखाइन्छ।

प्रधानमन्त्री विदेश यात्रामा रहेका बेला सत्ता संघर्षका कुरा भइरन्छन्। सत्ता र लाभका पदमा पूर्वएमाले र सत्ता स्वार्थका कुरा हुँदा छताछुल्ला हुँदा वर्षौंपछि स्थायित्व पाएको अनुभव गरेका जनता भ्रमबाहेक केही देख्दैनन्। कम्युनिस्ट नेताहरूले देशकै छवि र नेतृत्वको विश्वसनीयता गुमाइरहेका छन्। सत्ता संघर्षका कुरा, सस्तो लोकप्रियता कमाउने होडबाजीमा झर्रो राष्ट्रवादका कुरा, संवेदनशील घडीमा जिम्मेवारीपूर्वक प्रस्तुत हुन नसक्नु र सत्ताका लागि राष्ट्रको स्वाभिमानको ख्याल नगर्ने चरित्रले राष्ट्रिय शक्ति र प्रभावको आधारशिला क्षयीकरणतर्फ उन्मुख हुन्छ। राज्य संस्थाहरू कमजोर पार्ने काम भइरहेका छन्। शक्ति सन्तुलन कायम राख्ने संस्थाहरूलाई नेतृत्वले आफ्नै प्रभावमा राखेर अघि बढाएका छन्। राष्ट्र हित÷स्वार्थको सशक्त प्रायोजन र प्रवद्र्धन गर्ने परराष्ट्र नीतिलाई दलीय राजनीतिमाथि राख्न सक्नुपर्नेमा कहिल्यै कसैका अधीनमा नपरेको नेपाल आफ्नै शासनकालभित्रै देखिने र सुनिने गरेको दाबीले विगतलाई बिर्सेको मात्र होइन, विगतबाट सिक्न पनि नखोजेको देखिन्छ।

राष्ट्रहितका पक्षमा पूर्वाधिकारी सरकारले गरेका पहल र लिएका अडानले निरन्तरता नपाउनुलगायतका कारणले होला, सत्तारूढ दलका दुई अध्यक्षका विचार सार्वजनिक रूपमा प्रकट हुन पुगेका छन्। पार्टीभित्र लागेको रोगका जटिलता कुन अवस्थामा पुगेका छन् भन्ने त आउँदा दिनहरूले बताउँछन्। अहिले बसेको सत्तारूढ दलका बैठक र प्रस्तुत प्रतिवेदनले पनि यसलाई उजागर गरेको छ। प्रजातान्त्रिक संस्थाहरू बलियो बनाउन नलागे राज्य कमजोर हुने, विविधतामा एकता र सामञ्जस्य कायम गर्न नसके कमजोर हुने राष्ट्रिय एकता खलबलिन र विदेशीहरूको अवाञ्छित गतिविधिले स्थान पाउनेछन्। यसको परिणाम इतिहासमा मेटिन नसक्ने हुनाले पनि कम्युनिस्ट नेतृत्वले बढी नै सचेतना अपनाउनुपर्ने देखिन्छ। राज्य संस्थाहरूको सबलीकरण प्रजातान्त्रिक मूल्य, मान्यता र सिद्धान्तको दायराभित्र भए मात्र प्रभावकारी हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.